|

भोजपुर : टेम्केमैयुङ गाउँपालिकाले स्थानीय कृषि उपजहरुको सहज बिक्री वितरणका लागि स्थानीय हाट बजार सञ्चालनमा ल्याएको छ। कृषकहरुलाई उत्पादित वस्तु बेचबिखन गर्न सहज बनाउने उद्धेश्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा 'सप्तमी हाट' सञ्चालनमा ल्याएको हो।

करिब ५७ वर्ष अघिबाट यहाँ हाट बजार सञ्चालन हुँदै आएको थियो तर करिब सात वर्ष अघिबाट यहाँ हाट लगाउन बन्द गरिएको थियो। हाट बजार बन्द भएसँगै स्थानीयलाई कृषि उपज बेचबिखनमा असहजता भएपछि गाउँपालिकाले सप्तमी बजार पुनः सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाले व्यवस्थित रुपमा हाट सञ्चालन गर्न बजार व्यवस्थापन समितिसमेत गठन गरेको छ।

गाउँपालिका क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनको सहज बिक्री वितरणको लागि बन्द भएको सप्‍तमी हाटलाई पुनः सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

‘लामो समयबाट बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याएका छौँ', गाउँपालिका अध्यक्ष बस्नेतले भने, ‘गाउँपालिकामा उत्पादन भएका कृषि उपजहरुलाई सहजरुपमा बिक्री वितरण गराउने हाम्रो लक्ष्य हो।’

गाउँपालिकालाई कृषिमा नमूना स्थानीय तह बनाउने उद्धेश्यले योजनाबद्ध रुपमा काम गरिरहेकोले यस्ता बजारले कृषकलाई थप सहज हुने उनको भनाइ छ।

ठाउँ–ठाउँमा यस्ता हाट बजार सञ्चालन गर्न सके बजारीकरणको लागि केही सहज हुने राईले जानकारी दिए। ‘हामीले गाउँपालिकालाई कृषिमा नमूना बनाउने लक्ष्य लिएका छौँ’, अध्यक्ष राईले भने, ‘उत्पादित वस्तुलाई बजारसम्म लैजाने  सहज बनाउने माध्यमको रुपमा स्थानीय हाटलाई लिएका छौँ। आवश्यक पूर्वाधारको विकास गरेर उत्पादित कृषि उपजलाई सहजरुपमा बिक्री वितरण गर्ने वातावरण बनाउन लागि परेका छौँ।’

गाउँपालिका केन्द्रमा लाग्ने बजार भएकाले यहाँ लेक तथा बेँसीमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्री हुने गर्दछ। यसले स्थानीयलाई कृषिमा आत्मनिर्भर बन्न सहजता थप्ने गाउँपालिका उपाध्यक्ष रमा राईले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.