|

सल्यान  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता मतदान गर्न पाउने भएका हुन्। जसमा महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन्।

जिल्लामा पुरुष मतदाताको संख्या ८० हजार २ सय १२ रहेको छ भने महिला मतदाताको संख्या ७७ हजार ४ सय ८९ रहेको छ। एक मात्र प्रतिनिधिसभा रहेको सल्यानमा प्रदेश सभा (क) भन्दा प्रदेश सभा (ख) मा धेरै मतदाता रहेका छन्।

जसमा प्रदेशसभा (क) मा पुरुष ४० हजार १ सय ७४ र महिला ३८ हजार ४ सय ९४ गरेर कुल ७८ हजार ६ सय ६८ मतदाता रहेका छन्।

यस्तै, प्रदेश सभा (ख) मा ४० हजार ३८ पुरुष र ३८ हजार ९ सय ९५ महिला गरेर ७९ हजार ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा तीन मतदान स्थल र एक मतदान केन्द्र थप भएका छन्। यससँगै जिल्लामा एक सय १७ मतदान स्थल र दुई सय दुई मतदान केन्द्र कायम भएका छन्।

अहिले अस्थायी मतदाता नामावलीका लागि तथ्यांक संकलनको काम भैरहेको निर्वाचन कार्यालयले जनाएको छ। जसमा सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी अस्थायी मतदाता भित्र पर्छन्। तर जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली न्यून मात्रामा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.