|

पर्वत : मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रममा छ।

यसैक्रममा आम प्रदेशवासीलाई गण्डकीको सरकार कसरी बन्ला? भन्ने चासोको विषय छ। २०७४ को निर्वाचनमा दुईतिहाइ मत पाएर शक्तिशाली बनेको वाम सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को द्वन्द्वको पहिलो छिटो परेको ठाउँ नै गण्डकी प्रदेश हो।
 

केन्द्रमा एमाले र माओवादीको फुटपछि एमालेका पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार सबैभन्दा पहिले ढलेको थियो। केन्द्रमा पाँच दलीय गठबन्धनमा प्रदेश सरकारहरू भागवण्डा गर्दा गण्डकी कांग्रेसले पायो र मुख्यमन्त्री बने नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल।

केन्द्रीय राजनीतिले सहजै छोइहाल्ने भएकाले पनि गण्डकी प्रदेश सरकार बन्ने विषय सबैको चासोमा पर्छ।

 निर्वाचनको पूर्ण नतिजा आई नसक्दै गण्डकी प्रदेशमा कसको सरकार बन्छ र मुख्यमन्त्री को बन्छ भन्ने चर्चा र अड्कलबाजी सुरु भएका छन्। आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउन प्रमुख पार्टीहरूले कसरत अगाडि बढाइसकेका छन्।

११ जिल्ला रहेको गण्डकी प्रदेशका सबै जिल्लाको अन्तिम मत परिणाम आइसकेको भए पनि स्याङ्जाको प्रतिनिधिसभा निर्वाचन- २ को परिणाम आएको छैन। गठबन्धनले बुथ कब्जा गरेको भन्ने आरोप एमालेले लगाएको छ।

गठबन्धनले मतगणना सुरु गर्नुपर्ने भनिरहेको भए पनि एमालेले भने पुनः निर्वाचनको माग गरेको छ। यो बारेमा निर्वाचन अयोग पनि अनिर्णीत अवस्थामा छ।

गण्डकीमा प्रत्यक्षबाट ३६ जना प्रदेशसभा सदस्य चुनिन्छन्। स्याङ्जाका दुई जनाबाहेक ३४ क्षेत्रबाट सांसदहरू निर्वाचित भइसकेका छन्।

२०७४ को निर्वाचनमा गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फ ६ सिट र समानुपातिकमा नौ गरी कुल १५ सिट जितेको थियो। एमालेले प्रत्यक्षतर्फ १७ र समानुपातिकमा १० गरी २७, माओवादी केन्द्रले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा तीन १२,  राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ दुई र समानुपातिकमा एक गरी तीन सिट जितेका थिए।

तत्कालीन समयको नयाँ शक्ति पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा एक गरी दुई सिट हात पार्दा स्वतन्त्र सांसद एकजना रहेका थिए।

गण्डकी प्रदेशसभा कुल ६० सदस्यीय छ। सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ। अहिलेसम्मको मत परिणामअनुसार कांग्रेसका १६, एमालेका १२, माओवादीका पाँच र स्वतन्त्र एकजना निर्वाचित भइसकेका छन्।

२०७४ को निर्वाचनमा १७ सिट जितेको एमाले अहिलेसम्म १२ मा रहँदा २०७४ मा ६ सिट जितेको कांग्रेस अहिलेसम्म १६ मा पुगेको छ।  २०७४ मा नौजना सांसद पाएको माओवादीले अहिले छ सिटमा चित्त बुझाउनु परेको छ।

पाँचमध्येका एकजना डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीका नेता भएर पनि निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर उठेका व्यक्ति हुन्।

२०७४ को निर्वाचनमा स्वतन्त्र हुँदै संसद् प्रवेश गरेका मनाङ (ख) का राजीव गुरुङ अहिले पनि स्वतन्त्र रूपमा संसद् छिर्ने भएका छन्। राजनीतिक दलहरूले उम्मेदवार नै खडा नगरेपछि निर्विरोध रूपमा सांसद बनेका भाग्यमानी गुरुङ गण्डकी प्रदेश सरकारका बहालवाला युवा तथा खेलकुद मन्त्रीसमेत हुन्।

अहिलेसम्म प्राप्त भएको समानुपातिक तर्फको मत परिणामअनुसार ठ्याक्कै नमिले पनि अन्दाजमा एमालेले १०, कांग्रेसले नौ, माओवादीले चार र राप्रपाले एक सांसद पाउन सक्ने सम्भावना देखिन्छ।

यसअनुसार हेर्दा कांग्रेसका २५ जना, एमालेका २२ जना, माओवादीका नौजना, राप्रपाका एकजना र स्वतन्त्र एक जना हुने अनुमान छ। स्याङ्जा २ को (क) र (ख) मा कांग्रेस र एमालेकै टक्कर हुने अनुमान मतदाताको छ। यी दुईजना बाहेकको हिसाब किताबमा पहिलो कांग्रेस, दोस्रो एमाले, तेस्रो माओवादी हुने देखिन्छन्।

गण्डकी प्रदेशसभामा बहुमत पुर्‍याउन ३१ जना सांसद आवश्यक हुन्छन्। तर कांग्रेस र एमाले दुवैले एकल रूपमा बहुमत पुर्‍याउन सक्ने अवस्था छैन। कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुराको मुख्य भूमिका माओवादीको हातमा रहेको छ।

कांग्रेसका २५ जनामा माओवादीका नौजना थपिँदा ३४ जना हुन्छन्। यो भएमा कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ। वर्तमान सत्तारुढ गठबन्धन कायम नभएमा माओवादी एमालेसँग मिसिन पनि सक्नेछ। त्यो भएमा एमालेका २२ र माओवादीका नौ जना गर्दा ३१ जना सांसद हुन्छन्।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले समानुपातिकमा एक सिट पाएमा ती सांसद पनि एमालेको पक्षमा जान सक्ने सम्भावना हुन्छ।

त्यो अवस्थामा एमालेका पक्षमा ३२ जना सांसद हुन्छन्। राजीव गुरुङ कुन पक्षमा खुल्न सक्छन् भन्ने कुराको यकिन छैन। २०७४ मा एमाले नेतृत्वमा सरकार बनाउने बेलामा एमालेको पक्षमा उभिएका उनी पछि त्यही सरकार ढलाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार भए।

अहिले कांग्रेस नेतृत्वको सरकारका बहालवाला मन्त्री भएका कारण कांग्रेसको पक्षमा उभिन सक्ने धेरैको अनुमान छ।

एमाले र कांग्रेस दुवैको सरकार बनाउने बेलामा सघाएकै कारण यी दुवै दलहरूले उनका विरुद्धमा उम्मेदवार खडा गरेनन्। यसको गुन तिर्न मनाङले कसलाई सघाउँछन् भन्ने सरकार निर्माणकै बेलामा देखिनेछ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरूको अवस्था हेर्दा गठबन्धन टुटिहाल्ने गरी खटपट भएको जस्तो देखिएको छैन। यो भएमा कांग्रेस र माओवादी मिलेर स्पष्ट बहुमतको सरकार निर्माण गर्नेछन्। तर, गठबन्धनमा समस्या आएर टुटफुट भई बाम शक्ति एकातिर जाने निर्णय गरेमा एमाले र माओवादीले पनि बहुमतको सरकार बनाउनेछन्।

कतिपयले गण्डकी प्रदेशमा कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना पनि व्यक्त गरिरहेका छन्। गण्डकीमा कांग्रेस–एमाले समीकरण बन्ने सम्भावना वर्तमान सत्ता गठबन्धनबाट माओवादी बाहिरिएमा मात्र हुने हो। तर कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने अवस्था आयो भने गण्डकी सरकार दुई तिहाइकै बन्ने अवस्था आउँछ।

स्याङ्जाका दुई जनाबाहेक नै ४७ जना सांसद मिलेर सरकार बन्ने अवस्था आउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.