|

सल्यान : सल्यानमा ६ महिनामा उत्पादित १७ करोड रुपैयाँभन्दा बढीको बेमौसमी तथा मौसमी तरकारी जिल्लाबाहिर बिक्री भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार १७ करोड २३ लाख १६ हजार ५९० रूपैयाँ बराबरको ताजा तरकारी र फलफूल जिल्लाबाट बिक्री भएको छ।

जेठ २३ गतेदेखि कात्तिक ३० गतेसम्म ४२ लाख ९ हजार ९२ किलो ताजा तरकारी तथा फलफूल कपुरकोटस्थित तरकारी बजारबाट किसानले बिक्री गरेको केन्द्रले जनाएको छ।

देशकै ठूला तरकारी बजारमध्येको सल्यान कपुरकोबाट वर्षेनी करोडौँको तरकारी जिल्लाबाहिर जाने गरेको छ। ६ महिनाको अवधिमा कपुरकोटस्थित तरकारी बजारबाट ४१ लाख २३ हजार २९१ किलो ताजा तरकारी, ६७ हजार ३७० किलो अदुवा र १८ हजार ४३१ किलो फलफूल निकासी भएको कृषि उपज बजार केन्द्रका कर्मचारी चन्द्रमणी खड्काले जानकारी दिए।

उनका अनुसार किसानले विशेष गरेर टमाटर, काउली, बन्दाकोभी, भेँडेखुर्सानी, सिमी, फर्सी, आलु, कांक्रा, गाजर, हरियो धनिया, अदुवा लगायतका बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्छन्। यहाँबाट सबैभन्दा बढी टमाटर निकासी हुने गरेको छ।

जेठ २३ देखि कात्तिक ३० गतेसम्म निकासी भएको ४२ लाख ९ हजार ९२ किलो तरकारीमध्ये १३ लाख ८१ हजार ३४३ किलो टमाटर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटको विवरणमा उल्लेख छ।

कपुरकोट क्षेत्रमा किसानहरूले व्यावसायिक रुपमा बेमौसमी ताजा तरकारी उत्पादन गर्छन्। खेतीयोग्य अधिकांश जमिनमा किसानहरूले विगतका वर्षदेखि नै ताजा तरकारी, फलफूल र अदुवा खेती गर्दै आएका छन्।

गत वर्षको तरकारी सिजनमा पनि कपुरकोट तरकारी बजारबाट ४० लाख ५० हजार ७९ किलो तरकारी बिक्री गरेका थिए। जसबाट १८ करोड ७७ लाख १८ हजार ४११ रूपैयाँ आम्दानी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.