|

विराटनगर : मान्छेहरूको बाँच्ने जीवनशैली फरक हुन्छ। कोही सम्पन्नतामा बाँचेका हुन्छन् त कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन्।

त्यही समाजमा बाँचेका दुई खाले मान्छेबीच विचार बाझ्न थालेपछि त्यहाँ अशान्ति जन्मन्छ। अभावको रापले पिल्सिदै जान्छ त्यहाँ सामन्त र शोषणले विभेदको आगो थप दन्काउँदै जान्छ अनि त्यहीँबाट शुरु हुन्छ विद्रोह।

​त्यही अभाव र सम्पन्नताबीचको लडाइँलाई समानताको बाटो खोज्दै १४ वर्षको उमेरमा जनयुद्धमा होमिएकी झापाकी वन्दना झाँगड प्रदेश १ प्रदेशसभामा समानुपातिक सांसद चुनिएकी छिन्। ३६ वर्षीया वन्दना झाँगड समुदायको पहिलो महिला सांसद हुन्। ७ वर्षको उमेरमा आमा गुमाएकी उनले बुवाको हेरचाहमा बाल्यकाल बिताइन्।

साँझबिहान अर्काको खेतमा खेताला गएर होस् या गुइँठा टिपेर होस्‚ उनले कामसँगै पढाइलाई निरन्तरता दिएकी थिइन्। विद्रोही स्वभावकी वन्दनालाई विभेद र अन्यायविरुद्ध आवाज उठाउन आफूले भोगेको भोगाइ र परिस्थितिले सिकाएको बताउँछिन्।

‘सानै उमेरमा आमा गुमाएँ,  बुवाहरूको हेरचाहमा हुर्किएँ, गरिबी र अभाव झेल्दै हुर्किएकी मलाई तत्कालीन घटनाले विद्रोही बनाएको हो’, उनले सुनाइन्, ‘म बच्चैदेखि विभेदविरुद्ध आवाज उठाउने गर्थें।’

अन्यायले झन् विद्रोही बनायो

बन्दुक बोक्ने निधो गर्दा उनी कक्षा ८ मा अध्ययन गर्थिन्। आमा बितेपछि दाजुभाइ बाहिरै बस्ने र दिदीले सानै उमेरमा बिहे गरेसँगै घरको जिम्मेवारी कलिलो काँधमा बोकेर हिँडेकी उनलाई परिवारभित्रको एउटा घटनाले विद्रोही बनायो।

उनले सम्पत्तिका अगाडि न्यायले पनि बाटो बिराउँछ भन्ने त्यतिखेरै महसुस गरेकी थिइन्। फुपूकी छोरीलाई सम्पन्न परिवारको छोराले बलात्कार गरी गर्भवती बनाएका थिए। फुपूकी गर्भवती छोरीलाई त्यो परिवारले स्विकार्नुभन्दा पनि भारत पुर्‍याएको घटनाले जनयुद्धमा होमिएको उनले बताइन्।

‘त्यही घटनामा सामन्तले दिएको दबाब र अन्यायले गर्दा मैले विद्रोहको बाटो रोजेँ’, उनले विगत सुनाउँदै भनिन्, ‘हामी विपन्न परिवारको त्यो घटना भएपछि उनीहरूले कुट्नेपिट्ने र आवाज दबाउन खोज्ने गरेपछि न्यायका लागि मैले बन्दुक बोकेकी थिएँ।’

जनयुद्धताका माओवादीले उठाएका परिवर्तनका कुराले प्रभावित भएर आफ्नो जीवनको ऊर्जाशील समय माओवादी पार्टी र देशका लागि सुम्पिदिएको उनले बताइन्।

मर्छु भन्ने पनि लाग्थ्यो

सशस्त्र द्वन्द्व चर्किदै जाँदा जीवित भएर फर्किने आशा नमारेकी पनि होइनन्। देश र जनताका लागि परिवर्तनको मार्ग खोजेर हिँडेकी उनी परिवारको साथले यहाँसम्म आइपुगेको बताउँछिन्। तत्कालीन समय हिँड्दै जाँदा कतै राज्य पक्ष र आफूहरूको जम्का भेट पो हुने हो कि भन्ने भयले नसताएको पनि होइन्।

​आफ्नै सामु साथीहरूले देह त्याग गर्दै गर्दा बाँचिएला र ? भन्ने प्रश्न नउठेको पनि होइन। सानै उमेरमा आमा गुमाउनुको पीडा अनुभूति गरिसकेकी उनी बिचलित नभई युद्धको मैदानमा होमिएको उनले बताइन्।

‘कहिलेकाहीँ मरिन्छ कि भन्ने भय त हुन्थ्यो नि’, उनी भन्छिन्, ‘तर सानैमा सबै कुरा भोगाइले पनि होला मलाई हिम्मत हार्ने छुट थिएन।’

एक दिन सांसद हुन्छु भन्ने थियो

तपाईंलाई सांसद हुन्छु भन्ने लागेको थियो भन्ने हाम्रो प्रश्नमा उनले हाँस्दै जवाफ दिइन्, ‘राजनीति गर्दै जाँदा एक दिन सांसद हुन्छु भन्ने लागेको थियो।’ त्यसो पहिलो संविधानसभाको निर्वाचनदेखि २०७०, २०७४ को निर्वाचनताका समानुपातिकमा नाम सिफारिस नभएको पनि होइन। २०६४ मा उमेर नपुगेकाले भने पछि पर्नुपरेको उनी सुनाउँछिन्।

‘पहिलो संविधानसभा निर्वाचनमा मेरो नाम सिफारिस भएको थियो। त्यो वेला मेरो उमेर नपुगेकाले ब्याक हुनुपरेको थियो। पछि पनि त्यस्तै भयो‚ अवसर पाएकी थिइनँ’, उनले भनिन्, ‘तेस्रोपटकमा भने मैले अवसर पाएकी छु।’

शिक्षा स्वास्थ्य नै मूल एजेण्डा

आफूले शुरु गरेको राजनीतिक पृष्ठभूमिमा टेकेर काम गर्नेमा उनले जोड दिएकी छिन्। अल्पसंख्यक‚ आदिवासी, दलित र विपन्नको हितका लागि भनेर युद्धमा होमिएको बताउने उनी पिछडिएको वर्गको शिक्षा, स्वास्थ्य नै अबको मूल एजेण्डा रहेको बताउँछिन्।

‘मैले पिछडिएको वर्गको मुद्दामा टेकेर राजनीतिमा होमिएकी हुँ। त्यसैले जुन धरातलमा टेकेर राजनीतिक गरेकी छु‚ त्यहीअनुसार मेरो काम हुनेछ’, उनले भनिन् ‘मेरो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य नै रहन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.