|

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। 

गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पताल लैजाने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिए।

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्नसमेत निर्देशन दिएका छन्। 

प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखेर पठाउनसमेत निर्देशन दिएका छन्। घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न र स्रोतसाधन अपुग भए मन्त्रालयमा लेखी पठाउन मन्त्री खाँणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताइन्। 

प्रजिअ पाण्डेका अनुसार आज साँझ बनेपा नगरपालिका-११ बाट व्रतबन्धका लागि बेथानचोक-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना परेको थियो। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।

घाइतेको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.