आरोपित सार्वजनिकको तयारी

|

धनगढी :  नेपाल प्रहरीले बैतडी घटनाको अनुसन्धान अन्तिममा पुगेको र अभियुक्त सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ। जिल्लाको पाटनमा गत शनिबार मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको बताउँदै अभियुक्त सार्वजनिकको तयारी गरिएको हो।

सुर्नया गाउँपालिकाको ग्वानी स्थायी घर भएका बिष्ट  पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा कार्यरत थिए।

उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भोला रावलका अनुसार हत्या अभियोगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान प्रजा पक्राउ परेका छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ।

विमला छात्रबासमा बसेर अध्ययन गर्दै आएकी थिइन्।भने शिक्षक विष्ट पनि सोही छात्रबासको माथिल्लो तलामा बस्थे।

‘मृतक र युवती (आरोपित) छात्रवासमै बस्ने गरेको अनुसन्धानबाट खुलेको छ। शिक्षक माथिल्लो तलामा र तल्लो तलामा ती युवती बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन्। सोही क्रममा विवाद हुँदा उहाँको हत्या भएको खुलेको छ। घटनाको थप अनुसन्धान जारी छ।’ रावलले जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत अभियुक्तलाई आजै सार्वजनिक गर्ने बताए।

उनीहरू दुवै जनाविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएको छ। शिक्षक विष्ट पुष २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए। विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन भइरहेको थियो।

बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन्। न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ। पीडिन परिवारले विष्टको शव पनि बुझेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.