|

बुना घिमिरे
चरिकोट : दोलखाको भीमेश्वर नगरपालिका–५ का ज्येष्ठ नागरिकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। 

वडाध्यक्ष वासु श्रेष्ठले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको सम्मानका लागि पुस १७ गतेदेखि तीन दिन लामो काठमाडौँ भ्रमणको व्यवस्था गरेका थिए।

३६ जना उनीहरूलाई प्रसिद्ध तीर्थस्थल र संग्रहालय घुमाइएको थियो। भ्रमणका वेला उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटेका थिए। भेटमा उनीहरूले भीमेश्वर नपा–५ स्थित प्रसिद्ध महाँकाल माईको फूलप्रसाद, टीका राष्ट्रपतिलाई प्रदान गरेका छन्।

राष्ट्रपति भण्डारीले गाउँबस्तीका बुबाआमालाई भेट्ने इच्छा हुँदाहुँदै पनि पदीय दायित्वका कारण सहज नभएको बताइन्। ८० वर्ष नाघेका आमाबुवालाई शीतलनिवासमा स्वागत गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

उनले भनिन्, ‘ज्येष्ठ नागरिक देशका गहना हुनुहुन्छ। उहाँहरूको सम्मानका लागि सरकार गम्भीर छ।’ सरकारले ज्येष्ठ नागरिकका लागि नीति योजना र बजेट विनियोजन गरेको उनको भनाइ छ।

भेटका वेला ज्येष्ठ नागरिकका कुरा सुनेपछि राष्ट्रपति भण्डारीले वडाध्यक्षमार्फत महाँकाल मन्दिरमा भेटी पठाएकी छन्।

सबैभन्दा पाका ९३ वर्षीया विष्णुमाया खड्का र वडाध्यक्ष श्रेष्ठले फूलमाला र प्रसाद भण्डारीलाई प्रदान गरे। शीतलनिवास पुगेर राष्ट्रप्रमुखलाई भेट्न पाइएला भन्ने कहिल्यै नसोचेको उनले बताइन्। आफूले भेट्न पाउँदा असाध्यै खुसी भएको बताइन्।

मानकुमारी कार्की त झन् भाग्यले शीतलनिवास पुगेको भन्ने ठान्छिन्। तीर्थस्थल लगायतका ठाउँमा जान मन पर्ने ज्येष्ठ नागरिकले शीतलनिवास पुगेर राष्ट्रपति भेट्न पाउँदा सपना पूरा भएको कार्कीले बताइन्। 

टिभीमा देखे पनि राष्ट्रपतिसँग प्रत्यक्ष भेट गर्ने अवसर मिलाएको भन्दै उनीहरू वडाध्यक्षप्रति कृतज्ञ बनेका छन्। 

वडाध्यक्ष श्रेष्ठले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थ भ्रमणका साथै राष्ट्रप्रमुखसँग भेट गराउन पाउँदा यात्रा सफल भएको बताए। उनले वडाको विकाससँगै ज्येष्ठ नागरिक र बालबालिकाको क्षेत्रमा उपलब्धिमूलक कार्यक्रम गर्ने योजना रहेको पनि बताए।​

यसैगरी ज्येष्ठ सदस्यहरूले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेका थिए। उनले बालकोटमा ज्येष्ठ नागरिकलाई गलबन्दी र पछ्यौरी लगाएर सम्मान गरेका थिए। वृद्धभत्ता ​शुरु गरेको चर्चा गर्दै एमालेले ज्येष्ठ नागरिकको सम्मान गरेको ओलीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.