|

लमही :  पूर्वपश्चिम राजमार्गको दाङ खण्डमा सडक खुला गर्ने र झाडी सफा गर्ने नाममा रूख काटिएको छ।

यस विषयमा सडक विभाग र जिल्ला प्रशासनले सूक्ष्म ढंगले अनुसन्धान शुरु गरेको जनाएका छन्। भालुबाङ-लमही सडक खण्डमा साना बुट्यान सहित करिब १ हजार ४५० बोट काटिएको प्रारम्भिक विवरण संकलन गरिएको छ।

धेरै रूख कटान राप्ती गाउँपालिकामा भएको छ। लमही नगरपालिका २ का स्थानीय खगेन्द्र नेपालीका अनुसार राजमार्गदेखि दायाँबायाँ ३१‚ ३१ मिटरभित्रका संरचना हटाउने भन्ने सूचना जारी भएपछि रूखहरू काटिएको हो।

उनले भने, ‘हाम्रो जखेरा चोकमा तोकिएको क्षेत्रभित्रका संरचना १५ दिनभित्र हटाउने भनेर सूचना टाँगिएको थियो। त्यसैका आधारमा हामीले रूख काटेका हौँ। रूख काटेर सबैले आ-आफ्नो घरमा राखेका छौँ।’

यस्तै उनले १०-१५ दिनसम्म रूख काट्दासमेत सम्बन्धित निकायहरू नआएको र अहिले मात्रै चासो राखेको बताए।

‘यहाँ रूख काटिसकेपछि सडक तथा वन विभागबाट टोली नाप्न आउनु भएको थियो’, उनले भने, ‘रूख काट्दा यतिका दिन तपाईँहरू के हेरेर बस्नु भयो भनेर सोधेका थियौँ। सबैले रूख काट्न थालेपछि हामीले पनि काटेका हौँ। मुद्दामामिला लाग्ने हो भनेर सोध्दा उहाँहरूले कुनै जवाफ दिनु भएन।’

यस्तै उनले शुरुमा दुईचारजनाले रूख काट्ने वेला सम्बन्धित निकायले रोकेको भए यति धेरै रूख नकाटिने पनि बताए। राजमार्ग वरपरका आ-आफ्नो क्षेत्रमा पर्ने रूख सबैले काटेको उनले बताए। उनले शुरुमा राप्ती गाउँपालिकाका बासिन्दाले भकाभक रूख काट्न थालेपछि आफूहरूले पनि काटेको बताए।

उनले सूचनामा रूख हटाउनुभन्दा पनि संरचना हटाउनु भनेका कारण सबैले काटेको हुनसक्ने बताए।

अहिले यसरी काटिएका रूख कहाँ छन्? त्यसको विवरण फेला परेको छैन। स्थानीय जनप्रतिनिधि गैरजिम्मेवार बन्दै पन्छिरहेका छन्। सडकको दायाँ ३१ र बायाँ ३१ मिटर खाली गर्ने सूचना थियो। त्यही आधारमा धमाधम संरचना सहित रूख पनि हटाउन हटाइएको स्थानीय बासिन्दा बताउँछन्।

यसैगरी राप्ती गाउँपालिका-१ का स्थानीय महेश रिजालले सडक विभागको सूचनाका कारण स्थानीयले रूख काटेको बताए। उनका अनुसार डिभिजन वन कार्यालय लमहीले सडकका दायाँबायाँ भित्र रहेका रूख स्याहार्ने कुरा भए पनि त्यसमा ढिला हुँदा स्थानीय बासिन्दाले सडक विभागले सूचना जारी गरेपछि काटेको बताए।

उनले भने, ‘सबै रूखहरू स्याहार्ने जिम्मा वन कार्यालयको थियो तर त्यो निकै ढिलो भइसकेको थियो। एकातिर प्रदेशको राजधानी उद्घाटन गर्नुपर्ने अवस्था थियो भने अर्कातर्फ सडक विभागले आफ्नो क्षेत्रमा रहेका सडकको दायाँबायाँभित्र पर्ने संरचना १५ दिनभित्र हटाउनु भन्ने सूचना जारी गर्दा स्थानीयले ती रूख हटाएका हुन्।’

स्थानीय बासिन्दाले रूख काटिरहँदा सरकार बेखबर रहेको पनि उनको भनाइ छ।

सडक डिभिजन कार्यालय दाङले भने जारी सूचनामा रूख काट्ने भन्ने नभएको प्रस्ट पारेको छ। कार्यालयका सब-इन्जिनियर महेश विकका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडकखण्ड मिचेर बनाएका संरचना हटाउन १५ दिने सूचना जारी गरिएको थियो।

सडक क्षेत्रमा ढुंगागिट्टी थुपार्ने र अतिक्रमण बढेपछि त्यसलाई रोक्न सूचना निकालिएको उनले बताए। उक्त सूचनालाई रूख काट्ने विषयसँग जोड्न नमिल्ने उनको भनाइ छ।

सूचना बेवास्ता गरे सडक विभाग कार्यालयले संरचना हटाउने र हटाउँदा लागेको खर्च समेत सडक मिच्नेहरूले ब्यहोर्नुपर्ने उल्लेख थियो।

सडक डिभिजन कार्यालय दाङले मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो। यस्तै डिभिजन वन कार्यालयले काटिएका रूखको विवरण संकलन थालेको छ।

सब डिभिजन कार्यालयमार्फत लमही र राप्ती गाउँपालिकाभित्र राजमार्गको दुबै किनारमा काटिएका रूखको ठुटाको आधारमा विवरण संकलन थालेको हो।

सडक डिभिजन कार्यालयको सूचना र राजधानी कार्यान्वयन सँगसँगै हुँदा सरसफाइ अभियान चल्दा झाडी सफा गर्ने क्रममा रूख पनि काटिएको पाइएको छ। के कति कारणले रूख काटिएका हुन् ? भनेर सम्बन्धित स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले दाङले सोधेको छ।

यसैगरी यस विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकमा समिति गठन गरेर अनुसन्धान पनि गरिरहेको दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।

उनले छानबिन समितिको रिपोर्ट र प्रतिवेदनका आधारमा एउटा निष्कर्षमा पुगिने पनि बताए। उनले कानुनी प्रक्रिया पूरा नगरी रूखहरू काटेर हिनामिना भएको पनि बताए।

उनले भने, ‘अहिलेसम्मको सामान्य बुझाइमा प्रदेशको राजधानी आउन थालेको र सडक कार्यालयले पनि भौतिक संरचना घटाउनु भन्ने सूचना जारी भएपछि स्थानीय बासिन्दाले आफूले रोपेका रूख किन अरूलाई लग्न दिने भनेर काटेका हुन सक्ने देखिएको छ। यथार्थ कुरा छानबिन समितिको प्रतिवेदनमा आउनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.