|

धनकुटा : धनकुटाको ऐतिहासिक निशान भगवतीको मन्दिर परिसरमा अठारौँ शताब्दीको इतिहासलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको छ। २४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप वसन्तपञ्चमीको अवसर पारेर बिहीबार पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन्।

विशेष गरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन्। मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुंगेधारा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठालेले बताए।

धारा वि.सं. २०५२ सालमा धनकुटा–हिले लोकमार्ग निर्माण गर्ने क्रममा धनकुटाको जिरोप्वाइन्टमा रहेको ओडार भेटिएको थियो। उक्त ओडारभित्र अहिले निशान मन्दिरमा स्थापना गर्न लागिएको ढुंगेधारा भेटिएको हो।

धारा संरक्षण र सुरक्षाको कारणले तत्कालीन प्रदेश संग्रहालय धनकुटामा राखिएको थियो। धारा सर्वसाधारणका लागि निशान मन्दिरको बाहिरी भागमा खुला राखिएको छ। प्रवेशद्वार, ढुंगेधारा र २ थान तोप नेपाली सेनाको क्युआइपी कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट भीमदल गण धनकुटाले गत भदौ ३० गतेबाट पुनर्निर्माण गरेको थियो।

१५ लाख ५९ हजार १०५ रुपैयाँ लागतमा पुरातात्त्विक शैलीको प्रवेशद्वार तथा ढुंगेधारा र तोप निर्माण सम्पन्न भएको भीमदल गणका निमित्त गणपति सेनानी पूर्ण प्रजापतिले बताए।

मन्दिर परिसरमा निर्मित पुरातात्त्विक शैलीको प्रवेशद्वार तथा ढुंगेधारा र २ थान तोपले धनकुटा जिल्लाको धार्मिक महत्त्व अझ बढाई धार्मिक पर्यटनमा सहयोग पुर्‍याउने पूर्वी पृतनापति खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.