|

धनकुटा : धनकुटा बहुमुखी क्याम्पसमा बिहीबार विद्यार्थीहरूबीच झडप हुँदा २ जना घाइते भएका छन्।

क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लक्षित गरि एमालेनिकट अनेरास्ववियुले विद्यार्थी भर्ना गराउँदा नेपाली कांग्रेसनिकट नेविसंले तालाबन्दी गर्न खोजेपछि २ विद्यार्थी समूहबीच झडप भएको हो।

झडपमा नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन्। घाइते भएका भण्डारीको नोबेल मेडिकल कलेज विराटनगरमा र कार्कीको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

क्याम्पस प्रमुख प्राध्यापक होमबहादुर बस्नेतले स्नातक तह पहिलो वर्षको नयाँ भर्नाको अन्तिम दिन बिहीबार विद्यार्थी लामबद्ध रहेको बेला विवाद उत्पन्न भएको बताए। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको छ।

स्नातक तह पहिलो वर्षको भर्ना बिहीबारसम्म कायम गरिएको बस्नेतले बताए। अन्तिम दिन भएकाले भर्नाका लागि विद्यार्थी साँझ ५ बजेसम्म लामबद्ध रहेको बेला घटना भएको उनको भनाइ छ।

नेविसंघका विद्यार्थीले फर्जी विद्यार्थी भर्ना कार्य बन्द गर्न दबाब दिएका र अनेरास्ववियुले लाइनमा रहेका सबैको भर्ना हुनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको थियो। 

​फर्जी विद्यार्थी भर्ना गर्न खोजिएकाले विरोध गर्दा अनेरास्ववियुका विद्यार्थीबाट सांघातिक आक्रमण भएको नेविसंघका जिल्ला सभापति क्रान्ति पौडेल भनाइ छ।

अनेरास्वयुविका जिल्ला अध्यक्ष प्रकाश गिरीले लाइनमा रहेका विद्यार्थीको भर्ना रोक्न नहुने भन्दा नेविसंघले क्याम्पसमा ताला लगाउन खोजेपछि विवाद उत्पन्न भएको बताए।

यसैबीच, नेविसंघले विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। घटनाको विरोधमा नेविसंघले सहायक क्याम्पस प्रमुखको कक्ष र प्रशासनिक भवनमा तालाबन्दी गरेको छ।

नेविसंघ क्याम्पस इकाईका सचिव सुवास खनालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा क्याम्पस प्रशासनको लापरबाहीले युवा संघका अध्यक्ष प्रविण पोख्रेल, सचिव कमल कार्की र अनेरास्ववियु क्याम्पस इकाइ सचिव मुस्कान राईसहितले आक्रमण गरेको बताइएको छ।

खनालले पोख्रेल र कार्कीलाई पक्राउ गरि कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका छन्। पोख्रेल र कार्की क्याम्पसको विद्यार्थी नभए पनि आएर आक्रमण गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएको उनले बताए।

अनेरास्ववियु र युवा संघले सरकारले गठन गरेको जिल्ला युवा समिति धनकुटाकी अध्यक्ष रहेकी कला राईसहित केही मानिसको जवरजस्ती भर्ना गर्न खोज्दा आफूहरुले रोक्दा आक्रमण भएको नेपाल विद्यार्थी संघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.