|

विराटनगर : सशस्त्र द्वन्द्व चरम उत्सर्गमा पुगेको थियो। राज्य र विद्रोही पक्षको युद्ध चलिरहेको थियो। ​कहालीलाग्दो घटनाका समाचारले त्रासद वातावरण थियो।

देशको अवस्थाभन्दा विष्णु कटवालले भोगेको अभावको राप कम थिएन। त्यसैले उनी २०६१ सालमा नेपाल प्रहरीमा भर्ती भए।

२०४२ सालमा सप्तरीको फत्तेपुरमा जन्मिएका उनी नेपाल पुलिस क्लबका राष्ट्रिय ब्याडमिन्टन खेलाडी हुन्। सानै उमेरमा आमाको न्यानो काखबाट टाढिएका उनले बाल्यकाल सहज र सरल तरिकाले बाँच्न पाएनन्।

समाजमा गरिब र धनीको ठूलो खाडललाई नजिकैबाट नियालेका छन् उनले। त्यही असमानताले जरा गाडेको समाजले बलियो बनाएर बाँच्न सिकाएको उनी बताउँछन्।

विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ मा भेटिएका विष्णु गफिदै जाँदा उनी आफ्नो बाल्यकालको भोगाइसँगै प्रहरीमा प्रवेश गर्दाताकाको स्थिति स्मरण गर्छन्।

‘बाँचे घर फर्किउँला मरे देशका लागि’ भन्ने सोच राखेर मुसुक्क हाँस्दै सुनाउँछन्। त्यसो त देश र जनताको सुरक्षा र आफूले भोगेको अभावको खोट मेटाउन नेपाल प्रहरीलाई जीवन समर्पित गरेका विष्णुका लागि अहिले खेल क्षेत्रमा सफलता प्राप्त गर्छु भन्ने कल्पना समेत थिएन।

इच्छाशक्ति, लगनशीलता र कडा परिश्रमले मान्छेलाई एउटा गन्तव्यमा पुर्‍याउन सक्ने रहेछ भन्ने उनको बुझाइ छ।

सानैदेखि खेलाडी बन्ने रहर
त्यसो त हरेक मान्छेले भविष्यको ‘मार्ग चित्र’ कोरेका हुन्छन्। त्यही मार्ग चित्रमा कोरिएको धर्कोलाई पछ्याउँदै गन्तव्यको खोजीमा अघि बढ्नेमध्ये विष्णु पनि एक हुन्। उनले पनि अन्य अरूले झैँ बाल्यकालदेखि एउटा सफल खेलाडी बन्ने सपना बुनेका थिए।

त्यही बाल्यकालदेखि खेलाडी बन्ने सपनासहित अघि बढेका उनी नेपाल प्रहरीमा भर्ती भएसँगै खेल जगतमा प्रवेश गरेका थिए।
 
 यसरी आरम्भ भयो खेल यात्रा
जागिरे जीवनको पहिलो ड्युटी पूर्वी पहाडको हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रहरी कार्यालयबाट शुरु भएको थियो। जुन समयमा उनी १९ वर्षका थिए।

२०६३ सालको प्रहरी दिवसका दिन जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा संखुवासभाबाट आरम्भ भएको उनको खेलयात्रा शुरुवातका दिन निकै महत्त्वपूर्ण बनेको थियो।

‘त्यो वेला पहिलोपटक फस्ट राउण्डमा आउट भएको थिएँ तर शुरुवाती चरण महत्त्वपूर्ण रहेको थियो’, उनी विगत सुनाउँदै भन्छन्, ‘दोस्रो चरणको खेल २०६४ सालमा प्रथम स्थान हासिल गरेर गोल्ड मेडल प्राप्त गरेका थिए।’ गोल्ड मेडलले ब्याडमिन्टन खेल यात्रामा थप हौसला र उत्साह मिलेको उनी सुनाउँछन्।
 
सिक्री बेचेर प्रतियोगितामा भाग लिएको क्षण
उनको जीवनमा भुल्न नसक्ने भोगाइका थुप्रै कथाव्यथा छन्। तीमध्ये उनी चितवनमा भएको २३ औं राष्ट्रिय प्रतियोगिता सम्झछन्।

उक्त प्रतियोगितामा भाग लिन जाँदा उनको साथमा पैसा थिएन। जसरी पनि प्रतियोगितामा भाग लिनुपर्छ भन्ने सोचले उनले आफैँले लगाएको घाँटीको सिक्री बेचेर गएको उनी सुनाउँछन्।

‘मसँगै साथमा पैसा थिएन तर मलाई जसरी पनि त्यो प्रतियोगितामा जानु थियो’, उनी सुनाउँछन्, ‘त्यसैले आफूले लगाएको सिक्री बेचेर भए पनि म पुगेँ।’

उनी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रथम राउण्ड पार गरी दोस्रो राउन्डमा नेपाली सेनाका खेलाडी प्रज्वलजंग राणासँग पराजय भएका थिए। त्यसो त खेल मैदानमा हुने प्रतिस्पर्धालाई सफलता ठान्ने कटुवाल खेलाडीले खेल मैदान छोड्नुलाई हारको संज्ञा दिन्छन्।

विष्णुको खेलप्रतिको मोह र इच्छालाई अझै धेरै सफल बनाउँदै नेपाल प्रहरी र सिंगो राष्ट्रलाई विश्वसामु चिनाउन एसपी दीपक खरेलले दिएको हौसलाले अहिले उनलाई एउटा कुशल खेलाडी बनाइदिएको कटुवाल बताउँछन्। खेलको मैदानमा भएको हारलाई जितमा परिणत गर्दै अघि बढेका विष्णुले सन् २०१४ मा कोरियाको इनचोनमा भएको १६ औँ एसियन खेलका लागि नेपालबाट ४ जना भित्र छनौटमा परेका थिए।

उनले त्यो समय नेपाल प्रहरी र सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औं एसियन गेम खेलेका थिए। जुन खेल जीवनको एउटा इतिहास जस्तै बनेको उनी सुनाउँछन्।

‘कोरियाली भूमिमा खेलेर आफ्नो प्रतिभा प्रस्तुत गर्ने सुनौलो अवसर पाएँ, त्यो समय अमूल्य उपहार पाए जस्तै लागेको थियो’, उनले भने, ‘त्यसो त यहाँसम्म आइपुग्न थुप्रै हार बेहोरेको छु, हारले पनि जित्न सिकाउने रहेछ।’

राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका विभिन्न ब्याडमिन्टन प्रतियोगितामा भाग लिइसकेको विष्णुका लागि यो खेल नशा जस्तै बनेको उनी सुनाउँछन्। उनी हाँस्दै भन्छन्, ‘ब्याडमिन्टन र म एकअर्काको परिपूरक झैँ लाग्छ।’

यस्तै विराटनगरमा ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता–२०२३’ नेपाल पुलिस क्लबका प्रिन्स दाहालले एकलतर्फ उपाधि जितेका थिए। यसै विधामा विष्णु र आर्मीका रुकेश महर्जन संयुक्त तेस्रो भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.