‘सिकाइ कला भएका यस्ता शिक्षकलाई राज्यले सम्मान गर्नुपर्छ’

|

काठमाडौं : अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। जहाँ एक शिक्षिकाले ह्वाइट बोर्डमा तोरीको बिरूवा टाँसेकी छन्। र त्यो बिरूवाको भाग देखाउँदै जरा, डाँठ, पात, हाँगा, फल र फूल छुट्याएर विद्यार्थीहरूलाई देखाउँदै त्यसबारे बताइरहेकी छन्। यसरी प्रयोगात्मक तथा व्यावहारिक रूपले विद्यार्थीलाई पढाउने शिक्षिका हुन्- दुर्गा सिम्खडा।

शिक्षकहरूले गुणस्तरीय एवं व्यावहारिक शिक्षा नदिएको आरोप लागिरहँदा सिम्खडाले घर वरपर रहेका प्राकृतिक वस्तु नै देखाएर विद्यार्थीलाई सिकाएको यो भिडियोले निकै चर्चा पाएको छ।

उनका सिकाइ पद्धतिलाई सबैले ‘वाहवाही’ गरेका छन्। उनले कक्षा २ को सेरोफेरो विषय अध्यापनका क्रममा बिरूवा भोट नै कक्षा कोठामा ल्याएर सबै भाग देखाउँदै पढाएकी हुन्।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका-३ सिरान बजारकी सिम्खडा २०७३ सालदेखि शिक्षण पेशामा छिन्। हाल उनी नीलकण्ठ नपा-४ स्थित आधारशिला पाठशालामा कक्षा २ देखि ५ सम्म पढाउँछिन्। उनले स्नातक पूरा गरेकी छिन्। उनी यसैगरि आफूले अध्यापन गराउने सबै विषय प्रयोगात्मक रूपमै सिकाउने गरेको बताउँछिन्।

यसरी सिकाउँदा सहजै विद्यार्थीहरू बुझ्ने उनको अनुभव छ। उनी थाहाखबरसँग भन्छिन्, ‘मैले जुन विषय र पाठ पढाए पनि यसैगरि पढाउँछु, अनि सहजै एकै छिनमा विद्यार्थीहरूले बुझ्छन्।’

‘यसरी व्यावहारिक तरिकाले पढाए धेरै राम्रो’

पढाउँदा यसरी नै प्रयोगात्मक तरिकाले पढाए व्यावहारिक शिक्षा मिल्ने उनी बताउँछिन्। ‘शिक्षा भनेको घोकन्ते होइन, प्रयोगात्मक र व्यावहारिक चाहिन्छ,’ उनले भनिन्, ‘अनि पो विद्यार्थीहरू पढाएको बुझ्छन्, व्यवहारमा लागू पनि हुन्छ। त्यसैले हाम्रा वरपर भएका वस्तुहरू नै देखाएर पढाउनुपर्छ, विद्यार्थीले यस्तो सिकाइ एकैछिनमा बुझ्छन् र जिन्दगीभर भुल्दैनन्।’

उनका अनुसार कुनै विषयको पाठ पढाउनुअघि नै उनी बाटोमा देखेका बोटबिरूवा विद्यालयमा ल्याउँछिन् र देखाउँदै पढाउने गर्छिन्। प्रयोगात्मक रूपले पढाउन अरू शिक्षक शिक्षिकाहरूलाई पनि सुझाव दिन्छिन्। 

शिक्षाविद् भन्छन् : अहिले चाहिने शिक्षा नै यस्तै हो

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला प्रयोगात्मक शिक्षा नै अहिलेको आवश्यकता रहेको बताउँछन्। शिक्षिका सिम्खडाको सिकाउने कलाको प्रशंसा गर्दै उनले भने, ‘अहिले शिक्षा खोजिएकै यस्तै हो, यस्तो शिक्षा अत्यन्त आवश्यक छ।’

उनका अनुसार विद्यार्थीले तोरीको बोट पनि देख्न पाए‚ योसँगै अन्य धेरै ज्ञान पनि सिक्न पाए विद्यार्थीहरूले। ‘केटाकेटीहरूले तोरी देख्ने भए, जीवन्त देखे भने कम्प्युटरसँग तुलना गर्ने भयो, त्यही तोरी कसरी उत्पादनसँग जोडने?, फलाउने तरिका, तोरीबाट के–के बन्छ, यसको स्वदेश तथा विदेशमा कस्तो बजार छ, अझै यसलाई जोड्न पाए धेरै राम्रो हुन्थ्यो,’ उनले सुझाव दिए।

पहिलेको परम्परागत तोरीको बोट ठूला थियो तर अहिले किन सानो हुँदै गयो यसबारे पनि विद्यार्थीहरूले बुझ्न आवश्यक रहेको उनको भनाइ छ। ‘यसरी जोड दिने किसिमको कला शिक्षकलाई चाहिन्छ, उहाँलाई मेरो सलाम छ,’ उनले भने।

अहिले व्यावहारिक ज्ञान सिकाउनभन्दा पनि तलब भत्तामात्र पकाउन मात्रै शिक्षकहरू लागिपरेको उनको आरोप छ। राजनीतिक आडमा शिक्षकमा नियुक्ति पाएकै कारण देशले शिक्षामा छलाङ मार्न नसकेको र अब सिकाइ प्रणाली परिवर्तन गरिनुपर्ने उनको भनाइ छ। कोही पार्टीका पछिमात्र लाग्ने र अध्यापनको कुनै चिन्ता नलिने शिक्षकहरू यहाँ रहेको उनी बताउँछन्। 

‘व्यावहारिक तथा प्रयोगात्मक रूपले शिक्षा दिने सिम्खडा जस्तै अन्य त्यस्ता कला भएका जति शिक्षकहरू छन् पालिका-पालिकामा‚ उहाँहरूलाई सम्मान गर्नुपर्छ र उहाँहरूको पढाउने कला र सीपलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियकरण गर्नु/गराउनुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.