|

काठमाडौं : १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छन्।

नोमिनेशनमा परेका क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै भण्डारीले पिपल्स च्वाइसको अवार्ड जितेकी हुन्।

इ-सेवा र फेसबुकमा पाएको मतका आधारमा भण्डारीले ३८ दशमलव ३ प्रतिशत मत पाएकी छन्। अञ्जन बिष्टले ३१ दशमलव १४ प्रतिशत मत पाउँदा डुवाना लामाले ७ दशमलव ५० प्रतिशत मत पाएकी छन्। अभिलाषा बिष्टले ८ दशमलव ३२ प्रतिशत तथा आशिफ शेखले १४ दशमलव ९७ प्रतिशत मत पाएका छन्।

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड भने मनिष डाँगीले हात पारे। वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी थिए।

वर्षको उत्कृष्ठ महिला खेलाडी प्लेयर अफ दि इयर फिमेलको अवार्ड भलिबलकी अरुणा शाहीले हात पारिन्। मनोनयनमा परेका क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछि पार्दै शाही वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्।

अञ्जन बिष्ट वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भए। यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका थिए।

नेपाली फुटबलका पूर्व प्रशिक्षक अब्दुल्ला अल-मुताइरी ‘कोच अफ द इयर’ घोषित भए। नेपाललाई पहिलो पटक साफको फाइनलसम्म पुर्‍याउँदै उनले नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिएका थिए। 

वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए।

एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड भने कतारका मोहम्मद हिजीले पाएका छन्। पारा एथलिट अवार्ड ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठले जितेकी छन्। लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रमबाट खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न ९ विधामा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिएको हो।

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाएका छन्। अन्य विधाका विजेताले ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्पर पाएका छन्। 

अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ। सह-प्रायोजकमा सूर्य नेपाल प्रालि, इ–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल ग्रुप, सुबिसु र न्यु होराइजन कार्पेट इण्डष्ट्रिज छन्।

राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बागमती प्रदेश खेलकुद विकास परिषद् सहयोगीका रूपमा छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.