|

संखुवासभा : संखुवासभा सदरमुकाम खाँदबारीमा लघुवित्तका एक कर्मचारीमाथि कुटपिट भएको छ। एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत दिलबहादुर तिवारीलाई कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

लघुवित्तका कर्मचारी तिवारीमाथि मंगलबार दिउँसो साढे ४ बजे खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा कुटपिट भएको हो।

लघुवित्तका कर्मचारी कुटपिट गरेको आरोपमा खाँदबारी–१ पाठकधाराका रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक खनालले बताए। स्थानीय श्रेष्ठले लघुवित्तका कर्मचारी तिवारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटेको पीडितले बताए।

कुटपिटबाट गम्भीर घाइते भएका तिवारीको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ। घाइते तिवारीको टाउको र शरीरका विभिन्न भागको चोट लागेको छ।

श्रेष्ठ एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखाका ऋणी हुन्। एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखाले श्रेष्ठलाई किस्ताबापतको रकम तिर्न अनुरोध गर्दै आएको थियो। तिवारीले आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.