|

विराटनगर : संखुवसभा जिल्लाको धर्मदेवी नगरपालिका-७ अमरुवाको खेल मैदानमा फ्लड लाइट जडान गरिएको छ।

रात्रिकालीन खेलका लागि सहज बनाउन सोही स्थानका युवाहरुको प्रयासमा फ्लड लाइट जडान गरिएको हो। पूर्वी पहाडी जिल्लामा पहिलो पटक कुनै खेल मैदानमा फ्लड लाइट जडान गरिएको हो।

सदरमुकाम खाँदबारीबाट ५७ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट वैदेशिक रोजगारीका लागि देशबाहिर रहेका युवाहरुको सहयोग एवम् युवा स्वरोजगार कार्यक्रममार्फत खेल मैदानमा फ्लड लाइट जडान गरीएको न्यु युवा क्लबका अध्यक्ष फडिन्द्र देवानले जानकारी दिए।

उनका अनुसार करिब ५ लाखको लागतमा फ्लड लाइट जडान गरिएको बताउँदै उनले स्थानीय युवाहरुको अथक प्रयास र वैदेशिक रोजगारीमा गएका युवाहरुको सहयोगमा राति फुटबल खेल्न लागि मैदान तयार गरिएको बताए।

‘धर्मदेवी नगरपालिका-७ अमरुवाको युवाहरुको अथक प्रयास साथै देश बिदेशमा रहनु भएका युवाहरुको सहयोग, युवा स्वरोजगार कार्यक्रममार्फत करिब ५ लाखको  लागतमा फ्लड लाइट जडान गरिएको हो,’ उनले भने, ‘न्यु युवा क्लबको  खेल मैदानमा फ्लड लाइट जडान गरेर यही वर्षदेखि रात्रिकालीन फुटबल खेल्नको लागि मैदान तयार गरिएको हो।’

विसं २०५२ सालमा आधिकारिक रुपमा क्लब दर्ता गरी सोही खेल मैदानमा विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै आएका सोही क्लबका संस्थापक रमेशकुमार जिमी बताउँछन्।

सो स्थानका युवाहरुको मेहनत र परिश्रमले आज पहाडी क्षेत्रमा नमुना मैदान तयार गरिएको बताउँदै उनले गत वर्षदेखि स्थानीय बालबालिकाको खेल कौशलको विकासमा टेवा पुर्‍याउन १४ वर्षमुनिका ५२ जना बालबालिकालाई ग्रासरुट ट्रेनिङ सन्चालन समेत गरिएको बताए।

खेलकुद क्षेत्रलाई विकासको मार्ग तर्फ लैजान र सो क्षेत्रका युवाहरुलाई ऊर्जा थप्न वडा कार्यालय सँधै साथ रहने धर्मदेवी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नवीन जिमी बताउँछन्।  उनले युवाहरुको सहकार्य र सहयोगमा खेलकुद क्षेत्रको विकासका लागि सँधै सहयात्री रहने उनले प्रतिवद्धता समेत जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.