|

काठमाडौं : कालिकोटका ५ वटा स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। कालिकोटका पाँच स्थानीय तह पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा गाउँपालिकामा कालाजारका बिरामी फेला परेका हुन्। यो वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन्।

आर्थिक वर्ष २०७७।०७८ मा ४३ र २०७८।०७९ मा २८ कालाजारका बिरामी फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कालिकोट र बाजुरा जिल्ला अहिले पनि कालाजारको उच्च जोखिममा रहेको बताए।

कालिकझटमा अहिले पनि कालाजारका बिरामी देखिएका छन्। जसले गर्दा कालाजार देखिएका कालिकोटमा ५ वटा स्थानीय तहका ४० घरपरिवारको परीक्षण गरिसकिएको उनको भनाइ छ।

‘सामान्यताय प्रति दशहजारमा १ जनाभन्दा कम मात्रै कालाजारका बिरामी भेटिए भने जोखिम नभएको मानिन्छ तर कालिकोट र बाजुरामा अहिले पनि प्रति दशहजारमा १ जनाभन्दा धेरै बिरामी भेटिरहेका छन्। त्यसैले हामीले कालिकोट र बाजुरालाई कालाजारको उच्च जोखिम भएको जिल्लामा लिष्ट गरेका छौँ’‚ डा. दाहालले भने।

केही वर्षअघि सम्म तराईमा मात्रै देखिने कालाजार पछिल्लो समय पहाडी जिल्लामा देखिने गर्दा हाल देशभरका ५० वटा जिल्ला यसको जोखिममा रहेको डा. दाहालले बताए। उनका अनुसार जलवायु परिवर्तन, मानिसहरूको धेरै आवतजावत नै पछिल्ला वर्षमा पहाडी जिल्लामा कालाजारका बिरामी देखिन थाल्नु मुख्य कारण हो।

‘पहिला तराईमा मात्र देखिने कालाजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ’‚ जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा पनि तापक्रममा वृद्धि, धेरै मानिसको आवतजावत नै यसको मुख्य कारण हो’‚ डा. दाहालले भने‚ ‘अहिले पहाडी जिल्लामा पनि तराईको जस्तै गर्मी हुन्छ जसले गर्दा कालाजार गराउने भुसुना धेरै देखिन थाल्छ अनि बिरामी बढ्छ।’

कालाजारका बिरामीलाई सरकारले निःशुल्क उपचार गर्दै आएको छ भने संक्रमित बिरामीलाई अस्पतालसम्म आइपुग्न प्रतिबिरामी २ हजार रुपैयाँ समेत दिँदै आएको छ।  

के हो कालाजार?

अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ। प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिसमध्ये सबैभन्दा गम्भीर प्रकारको रोगका रूपमा लिने गरिन्छ।

परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरूमध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ। विश्वभर प्रत्येक वर्ष यो रोगका दुई लाखदेखि चार लाख सङ्क्रमण हुने गरेको पाइन्छ। सङ्क्रमण भएपछि यो रोगका परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्छन्।

कालाजारको सङ्क्रमण भएपछि उपचार गरिएन भने प्रायः सबै बिरामीको मृत्यु हुन्छ। यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महसुस हुनु, रक्ताल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल एचआइभी तथा कालाजारको संयुक्त सङ्क्रमण चासोको विषयको रूपमा देखापर्न थालेको छ।

कसरी बच्न सकिन्छ?

प्रायजसो साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने, बाहिर जाँदा मौसम अनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने‚ लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्ट पाइन्टभित्र घुसार्ने‚ शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुला भागमुनि कीरा भगाउने मल्हम लगाउनुपर्छ। खुला झ्यालढोकामा जाली लगाइएको वा वातानुकूलित (एयरकन्डिसन भएको) स्थानमा बस्नुपर्छ। 

सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने र झ्यालढोकामा जाली नलगाइएको अवस्थामा झुल प्रयोग गर्नुपर्छ। सम्भव भएसम्म कीरा मार्ने औषधिमा (कीटनाशक भएको पाइरिथ्रोइड) डुबाइएको वा त्यस्तो औषधि छर्किएको झुलको प्रयोग गर्नुपर्छ। यस्तो औषधि झ्याल/ढोकाका खापा, भित्ता, पर्दा, तन्ना, सिरक तथा अन्य कपडामा पनि प्रयोग गर्न सकिन्छ। धुने कपडामा पाँच पटक धोएपछि कीरा मार्ने औषधिको असर समाप्त हुने हुनाले पुनः उपचार गर्नुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.