|

बागलुङ : २०७६ सालदेखि​ व्यावसायिक अलैँची खेती गर्दै आएका ताराखोला गाउँपालिका–२ अर्गलका कृषक अहिले निराश छन्। फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्।

चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरूपमा भने गरिएको थिएन। गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरूपमा अलैँची खेती गर्न थालेका हुन्। 

असार महिनादेखि अलैँची फुल्न थालेपछि बोट सुक्न थालेको हो। अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन्। अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिनुभयो। आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको बताए। त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उनले बताए।

ताराखोला –२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैँची लगाएको जनाउँदै सबैको अलैँचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले जानकारी दिए। गाउँमा अलैँची राम्रो हुने सम्भावना देखेपछि आफूले चार लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको जनाउँदै अहिले समस्या आएपछि लाखौँको नोक्सान हुन थालेको उनको भनाइ छ। अलैँचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्ती मगरले बताए।

‘गाउँमा पहिले स्थानीय जातको अलैँची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो, त्यही देखेर उन्नत जातको बीउ पूर्वबाट लिएर लगाइयो, केही समय राम्रो भएको थियो, अहिले समस्या आयो’, उनले भने, ‘११ रोपनीमध्ये दुई रोपनीमा स्थानीय जातको र ९ रोपनीमा बाहिरबाट ल्याएर लगाए, पोहोर सालनै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो, गाउँमा अरु किसानले लगाएको अलैँचीमा पनि यही समस्या छ, के भएर मरे, अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ।’

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैँचीका बोट मर्न थालेको बताए। ताराखोला मात्रै नभएर अलैँची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको उनले बताए। सुक्खाको कारणले अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने गरेको भट्टराईको भनाइ छ। यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उनको भनाइ छ। 

‘किसानले अलैँची बगैँचा बनाउँदा सुक्खा ठाउँ चयन गर्नु हुँदैन, जहाँ चिस्यान छ, पानीको पर्याप्त उपलब्धता छ, त्यहाँ मात्रै यसको खेती गर्नुपर्ने हुन्छ, ताराखोलामा अहिले यो समस्या आयो, काठेखोला र बरेङमा पहिलेदेखि नै समस्या थियो’, प्रमुख भट्टराईले भने, ‘सुक्खाको कारण समस्या भएको हो, अब किसानले नियमित सिँचाइको व्यवस्था मिलाउनुपर्छ, सिँचाइ व्यवस्थापन भयो भने समस्या समाधान हुन्छ।’

कृषि ज्ञान केन्द्रकाअनुसार बागलुङमा १०० हेक्टर जमिनमा अलैँची खेती हुने गरेको छ। जिल्लामा हरेक वर्ष ३८ मेट्रिक टन उत्पादन हुने र किसानले राम्रो मूल्य पाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.