|

विराटनगर : इटहरीकी रीता राई दैनिक उपभोग्य सामान खरिद गर्न बिहीबार रानी नाकामा पुगेकी थिइन्।

सीमापार जोगबनीतर्फ लाग्नै लाग्दा भारतीय सुरक्षाकर्मीले परिचयपत्र मागे। अघिल्ला पटक आउँदा त्यस्तो नभए पनि एक्कासी भारतीय सुरक्षा अधिकारीले परिचयपत्र मागेपछि उनी अलमल परिन्।​

जोगबनी प्रवेश गर्नै लाग्दा सुरक्षाकर्मीले उनलाई परिचयपत्र (नागरिकता) मागेको उनले सुनाइन्। पछिल्लो समय नेपालीलाई सीमामा वारपार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले परिचय खुल्ने कागजात माग्ने गरेका हुन्। राईसँग परिपचयपत्र नहुँदा उनी जोगबनी पुग्न नसकी फर्किएको बताउँछिन्।

‘अरू वेला यत्तिकै पुगेर सामान खरिद गरेर आइन्थ्यो। नेपालमा भन्दा उता सस्तो पर्ने भएकाले चिनी लिन गएकी हुँ’‚ राईले भारतबाट सामान खरिद गरेर ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने कुराबारे अनभिज्ञ रहँदै सीमा वारपारको विषय सुनाइन्।

विराटनगर–१६ निवासी रुकसना खातुनले पनि नागरिकता देखाएर जोगबनीबाट सामान खरिद गरेर आएको सुनाइन्। नागरिकता किन खोजिएको रहेछ भन्ने प्रश्नमा उनले भनिन्, ‘खै ? किन नागरिकता मागिएको हो‚ थाहा भएन।’

गत साउन १ गतेदेखि विराटनगर बजारलाई प्रवर्धन गर्न स्थानीय प्रशासन र सरकारको आग्रहमा भन्सार कार्यालयले कडाइ गर्दै आएको छ। सोही दिनबाट घरायसी सामग्री खरिद गर्दा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने हुन्छ।

पछिल्लो समय भारतीय सुरक्षाकर्मीले भने सुरक्षाको कारण देखाउँदै सीमा वारपार गर्दा अनिवार्य परिचयपत्र माग्दै आएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस विषयमा भारतीय अधिकारीसँग बुझ्ने बताएका छन्। नेपाल–भारत सीमा जोडिएका जिल्लाका स्थानीय अधिकारीबीच सीमापार सुरक्षा बैठक हुने गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार अहिले देशैभर सीमा वारपार गर्ने नेपाली नागरिकलाई परिचयपत्र माग्दै आएको बताए। उनका अनुसार भारतीय सुरक्षालाई लक्षित गरेर परिचयपत्र मागिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.