प्राविधिक धार सञ्चालन गर्नुपर्ने माग

|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीस्थित तत्कालीन वसन्त आधारभूत विद्यालयमा बनाइएका करोडौंका भौतिक संरचना प्रयोगविहीन बनेका छन्।

विद्यालयमा झन्डै २ करोडको लागतमा निर्माण गरिएका ८ कोठे भवन र ६ कोठे छात्रावास अहिले प्रयोगविहीन बनेका हुन्।

आर्थिक वर्ष २०७७-७८ मा परशुराम–७ का तत्कालीन वडाध्यक्ष केशव बोहराको पहल र स्थानीय बुद्धिजीवीको उपस्थितिमा त्यहाँ प्राविधिक धारको पढाइ सञ्चालन गर्ने सहमतिमा वसन्त आविलाई शिव शंकर मावि साँदनीमा मर्ज गरिएको थियो।

सोही आर्थिक वर्ष संघीय सरकारको विशेष अनुदानबाट १ करोड १० लाखमा ८ कोठे भवन, घेरबार, फिल्ड निर्माण र प्रदेश सरकारको विशेष अनुदान ८० लाखमा एउटा अर्को ६ कोठे छात्रावास भवनसहित शौचालय र भान्सा घर पनि निर्माण गरिएको शिव शंकर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेव भट्टले बताए।

उनका ठेकेदारको लापरबाहीका कारण छात्रावासको रंगरोगन तथा झ्यालढोका लगाउन अधुरै रहेको छ। ‘संघीय सरकारको विशेष अनुदानबाट ८ कोठे भवन, घेरबार, फिल्ड निर्माण गरेका थियौँ। जुन अहिले हामीले प्रयोगमा ल्याउने गरेका छैनौँ’, अध्यक्ष भट्टले भने, ‘यहाँ प्राविधिक विषयमा पढाइ गर्ने भनेर स्थानीय भेलाले सहमति गरेका थियौं। तर अहिले प्राविधिक विषयको पढाइ सुरु गर्न सकिएको छैन।’

उनका अनुसार वसन्त आविलाई मर्ज गरे सञ्चालनमा रहेको शिव शंकर मावि साँदनी पाँच सय बढी विद्यार्थी अध्ययनरत रहेका छन्। उक्त विद्यालयमा पनि दक्ष शिक्षकको अभाव रहेकोले समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले बताए।

राज्यको करोडौँ रूपैयाँ खर्च गरेर बनेका भौतिक संरचनाहरू प्रयोगविहीन हुनु दुःखद भएको परशुराम नगरपालिका–६ करालीका स्थानीय युवा भूपेन्द्र धामीले बताए।

यहाँ प्राविधिक धार पढाइको सुरुवात भए वडा नम्बर ६, ७ र ८ का विद्यार्थीहरू लाभान्वित हुने उनको भनाइ छ। उनले प्राविधिक धारको पढाइ सञ्चालनका लागि स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने बताए।

करोडौंका संरचना बनेको क्षेत्रमा अहिले जताततै झाडी मात्रै देखिने र गाईवस्तुहरू बस्ने गरेको साँदनीका स्थानीय केशवराज भट्टले बताए। ‘यहाँ प्राविधिक धार सञ्चालन गर्नुपर्ने हामी सबै स्थानीयवासीको माग छ’, उनले भने, ‘स्थानीय सरकारले उक्त भवनहरूलाई प्रयोगमा ल्याउनुपर्दछ। सरकारले करोडौँ खर्चेर बनाएका संरचनाहरूलाई त्यत्तिकै प्रयोगविहीन हुन दिनु हुँदैन।’

प्राविधिक धार सञ्चालनका लागि विद्यालयसँग जमिन पनि पर्याप्त छ। तर, दक्ष जनशक्ति, आर्थिक अभावका कारण तत्कालै त्यहाँ प्राविधिक धार सञ्चालन गर्न सकिने अवस्था नरहेको वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामीले बताए। प्राविधिक विद्यालय वा क्याम्पस सञ्चालन गर्ने योजना रहेका तर, अहिले नै सञ्चालन गर्नका लागि पर्याप्त जनशक्ति नभएको उनको भनाइ छ।

‘भौतिक पूर्वाधारहरू तयार गर्दै त्यसलाई कलेजका रूपमा वा प्राविधिक धार सञ्चालन गर्ने गर्ने भन्ने सर्वपक्षीय सहमति नै भएको हो’, वडाध्यक्ष धामीले भने, ‘नगरको बजेटले भ्यायसम्म त्यहाँ संरचनाहरू थप्ने र संरक्षण गर्ने प्रयास निरन्तर भइरहेको छ। तर विद्यालयसँग दक्ष जनशक्ति र आर्थिक अभावका अहिले नै प्राविधिक धार सञ्चालन गर्न सकिँदैन।’ उनले प्राविधिक धार सञ्चालनका लागि आफूहरूले पहल भने गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.