|

आजको विश्वव्यापीकरण, विश्ववजारीकरण र विश्वभूमण्डलीकरणको युगमा विश्वका विभिन्न कुनाबाट अर्को कुनामा जानु र आउनु कुनै नौलो विषय भएन। यसको लागि सूचना, सञ्चार, यातायात र नवीनतम प्रविधिको विकास नै जिम्मेवार पक्षहरू हुन्।

विशेष गरी एक ठाउँबाट अर्को ठाउँ जाने भनेको अध्ययन, भ्रमण र रोजगारीको लागि हो। विश्वका अन्य मुलुकझैँ नेपालवाट पनि अन्यत्र जाने र अन्यत्रबाट नेपाल आउने चलन पुरानै हो। तर अहिले नेपालबाट विदेश जानेहरूको संख्या उल्लेख्य मात्रामा बढेको छ।

यसरी नागरिकहरू विदेशिने क्रमले निकट भविष्यमा देशै रित्तो हुने खतरा बढिरहेको छ। 

अहिलेको विश्वव्यापीकरणको युगमा विश्वको विभिन्न कुनामा जान रोक्न सकिने कुरा पनि होइन र रोक्नु राम्रो पनि होइन। बरु उतै पलायन हुने कुरामा भने राज्यको विभिन्न निकायहरू चनाखो बन्नुपर्ने बेला आइसकेको छ। यसरी श्रमशक्ति तथा बौद्धिक शक्ति पलायन हुँदै जाने हो भने देश निकट भविष्यमा नसोचेको परिणाम भोग्न बाध्य हुने निश्चित छ।

अध्ययनका लागि जानेहरू नयाँ प्राविधिक ज्ञान लिएर स्वदेश फर्किदैनन् भने रोजगारीका लागि जानेहरू पनि कमाएर उतै बस्न थाले।

केही वर्ष पहिले नेपालमा पुरानो अर्धसामन्ति वर्ग व्यवस्था थियो। सीमित मुट्ठी भरका मानिसहरूको छत्र छायामा सिंगो समाज चल्न बाध्य हुन्थ्यो। मानिसहरू अति कम पारिश्रमिकमा दिनहुँ काम गर्न विवश थिए। जबकि दिनहुँ गरेको कामको पारिश्रमिकले आफ्नो परिवार पाल्नसमेत सकिँदैनथ्यो।

यसको विकल्पमा मानिसहरू छिमेकी मुलुक भारतको विभिन्न स्थानमा पुगेर विभिन्न काममा सहभागी हुने गर्थे र परिवारको लागि आवश्यक खर्चको जोहो गर्थे।

पछि आएर विमान चढेर खाडी मुलुकमा जाने कार्यको थालनी भयो। यस कार्यलाई निकै साहसिक कामको रूपमा लिइन्थ्यो।

अहिले विश्वको जुनसुकै कुनामा पनि नेपालीहरू सामान्य रूपमा आउने जाने गरेको पाइन्छ। यसलाई नेपाली समाजमा आएको क्रान्तिकारी परिवर्तनको रूपमा लिन पनि सकिन्छ।

यसका सकारात्मक फाइदाहरू थुप्रै छन्। हिजोको अर्धसामन्ती समाजबाट फड्को मार्न वैदेशिक रोजगारीले ठूलो सहयोग पुर्‍यायो।

वर्तमान समयमा सामान्य रूपमा कमाउन र घरखर्चको जोहो गर्न निकै सहज भएको छ। के महिला के पुरुष जो पनि बिना संकोच सहजै विदेश जाने कुरा समाजमा पचि सक्यो। तर यसभित्र हुने सकारात्मक र नकरात्मक पक्षहरूको आफ्नै हिसाब किताब होला।

जे होस् नेपाली नागरिकहरूको जीवनस्तर उकास्न र समग्र राज्यको हितको लागि वैदेशिक रोजगार सहयोगी सिद्ध भएको छ। तर, यसको दुरगामी असर भने पक्कै छ।

अहिले विदेशी भूमिमा हुने कमाइको स्तर, सेवा सुविधाका अवस्था, जीवनको सुख तथा पारिवारिक जीवनको समेत सहजताका कारण नेपालीहरू स्वदेश फर्किने दर घटिरहेको छ।

मानिसहरू सुखभोगी हुन्छन् र त्यसको खोजीमा विभिन्न प्रयत्न गरिरहेको हुन्छन्। नेपालीका यी चाहनाहरू विदेशी भूमिमा प्राप्त हुन थालेका छन्। जसको फलस्वरूप विदेशिनेहरूको ग्राफ अचम्म लाग्दो गरी बढिरहेको छ।

यसले केही समय त नेपाललाई राहत दिने निश्चित छ। शासकहरूलाई समेत बेरोजगारीको चपेटाको मार भोग्नु नपर्ला। जबकि अहिलेकै अवस्था विश्लेषण गर्ने हो भने नेपालका सरकारी जागिरमा समेत अनिच्छा जाग्ने निश्चित प्राय देखिँदै छ। तर, यसको असर भविष्यमा कस्तो पर्ला भनेर अधिकांश जिम्मेवार निकायले समेत सोच्न भ्याएका छैनन्।

अहिलेको विश्वव्यापीकरणको युगमा विश्वको विभिन्न कुनामा जान रोक्न सकिने कुरा पनि होइन र रोक्नु राम्रो पनि होइन। बरु उतै पलायन हुने कुरामा भने राज्यको विभिन्न निकायहरू चनाखो बन्नुपर्ने बेला आइसकेको छ।

यसरी श्रमशक्ति तथा बौद्धिक शक्ति पलायन हुँदै जाने हो भने देश निकट भविष्यमा नसोचेको परिणाम भोग्न बाध्य हुने निश्चित छ।

नागरिकबिना राज्यको कल्पना गर्न पनि सकिन्न। राज्यको विकासको लागि श्रमशक्ति र बौद्धिक शक्ति दुवैको बराबरी आवश्यक पर्दछ। राज्य सफल र सम्पन्न हुने भनेको प्राप्त मानवस्रोत र भौतिक स्रोतको अधिक उपयोग गर्नु हो। नेपालको भौगोलिक अवस्था हेर्ने हो भने नेपालीहरू वैदेशिक रोजगारीमा जानु आवश्यक पर्दैन। यदि बौद्धिक र प्राविधिक शक्ति नेपालमा रहने हो भने नेपाल एक सम्पन्न राज्य बन्न सक्छ।

तर, अहिले सबै नेपालीहरूलाई नेपालमै उपयोग गर्न सकिने अवस्था छैन। यसको मुख्य कारण भनेको नेपालको राजनीतिक अस्थिरता नै हो। अर्को कारक तत्व भनेको शासकवर्गमा अपनत्वभाव नहुनु पनि हो।

नेपालको सबैखाले स्रोत साधनहरूलाई उपयोग गर्ने प्रभावकारी नीतिले अवश्य पनि रोजगारी सिर्जना गर्नसक्छ।

आफ्नै देशमा बसेर काम गर्न र परिवारमा रमाउन सारा नेपाली मञ्जुर छन् अनि आतुर पनि त्यतिकै छन्। बुझ्ने मानिसहरूले अहिलेको सुविधा हेरेर विदेशमा राम्रो हुँदैन भनेर बुझिसकेका छन्। तसर्थ राज्यले आवश्यक कदम चालेर नेपालको मानव स्रोतलाई नेपालमै व्यवस्थापन गर्नमा ध्यान दिनैपर्छ।

यसरी सधैँभरि गैरजिम्मेवारीपूर्ण रूपमा नेपालका राजनीतिक दल चलिरहने हो भने यिनीहरूलाई एक दिन समयले अवश्य पनि धिक्कार्नेछ।

नेपालीहरूलाई नेपालमै व्यवस्थापन गर्ने धेरै उपायहरू छन्। नेपाल अहिले नै औद्योगिक युगमा प्रवेश गर्ने रहर सम्भव छैन। तर, भौगोलिक विविधतामा धनी भएकोले अहिले भूमि र जलको राम्रो उपयोग गर्न सक्नुपर्छ।

चुलोदेखि सडकसम्म र कृषिदेखि ठूला उद्योग व्यवसायसम्म विद्युतीकरणमा जान विश्वासिलो सेवा प्रवाहको सुनिश्चितता गर्नु पर्दछ। यसो गरेमा यति धेरै ग्याँस र पेट्रोलियम पदार्थमा पैसा विदेश पठाउनु पर्दैन। विद्युतको उत्पादनमा आम नागरिकहरूको लगानी आह्वानदेखि व्यावसायीकरणको सुनिश्चितता गर्दैजानुपर्छ।

त्यस्तै, भूमिको चक्लाबन्दी गरी विभिन्न व्यवसायमा उपयोग गर्नुपर्छ। अचल सम्पत्तिको रूपमा जग्गालाई पुस्तौ पुस्तासम्म अनुत्पादक हुन दिनुहुँदैन। नेपाल खाद्यवाली, नगदेबाली, जडीबुटी, फलफूलखेतीदेखि पशुपालन लगायतका अथाह सम्भावना बोकेको भूमि हो।

कैँयौँ कृषियोग्य भूमि बाँझिएर गएका छन्। तराईका फाँटका सम्भावनाहरू ओझेलमा छन्। सिँचाइको सम्भावना खोजी गरिँदैनन्। अझै पनि मनसुनमा आधारित कृषि सञ्चालन गर्न नागरिकहरू बाध्य छन्। कुन ठाउँमा के सम्भावना छ भनेर खोजि हुँदैन। नागरिक रूपमा सीप, लगानी र बजारको कुनै ग्यारेण्टी छैन। यस्तो भद्रगोलका बीच गोल हान्ने सम्भावना गिर्दो अवस्थामा छ।

जंगल अनुत्पादक छन्। अनावश्यक झाडीको सट्टा जंगलबाट फलफूल तथा जडीबुटीमा आत्मनिर्भर बन्न सकिन्छ। कम्तीमा कच्चा सामग्रीको उत्पादन र बजारीकरण गर्न सके मात्र पनि   आयत प्रतिस्थापन गर्दै निर्यात उन्मुख राज्यको रूपमा तुरुन्तै विकास गर्न सकिन्छ।

उल्लिखित कुरामा ख्याल गर्दै देशको मानवस्रोत र प्राकृतिक स्रोतको उपयोग गर्नुको कुनै विकल्प छैन। आम नागरिकहरूमा स्वदेश प्रतिको विश्वास जगाउनु र राज्यले अभिभावकत्व निर्वाहको प्रत्याभूति गराउनु नै आजको आवश्यकता हो। दलहरूबीचको आपसी सहकार्यमा दुरदृष्टि निर्माण र सुशासनको सुनिश्चितता नै अन्तिम अस्त्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.