|

काठमाडौं : देशमा तीन तहको निर्वाचन सकिएको ९ महिना भयो तर राजनीतिक दलहरुको दौडधुप भने निर्वाचनको मुखमा जस्तो हुन्छ अहिले पनि त्यस्तै छ।

प्रायः नेपाली राजनीतिक दलहरु निर्वाचन नजिकिएपछि मात्र जनतामाझ आफ्ना राजनीतिक गतिविधि बढाउँछन्। वर्षौंसम्म केन्द्रीय राजधानीमा हराएउने ठूला दलका नेताहरु चुनावताका मात्र गाउँघरमा मतदाताको दैलोसम्म जाने गरेका छन्। पछिल्लो समय भने देशका पुराना भनिएका राजनीतिक दलहरुको दौडधुप निर्वाचन आउनुभन्दा ४ वर्षअघि नै सुरु भएको छ। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका दलहरु यतिबेला ‘मिसन ०८४’ अभियानमा लागेका छन्।

गत निर्वाचनमा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपत्यारिलो ढंगले जनमत प्राप्त गरेपछि झस्किएका पुराना दलहरु निर्वाचन नआउँदै विशेष अभियान चलाउन थालेका हुन्। 

गएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी ‘वैकल्पिक शक्ति’का रूपमा राजनीतिको मूलधारमा उदाए।

मूलतः यी तीन पार्टीले विगतको राजनीतिक विरासत बेगर नै छोटो समयमा संसदीय शक्तिसहितको प्रसिद्धि पनि हासिल गरे। अहिले यी शक्तिहरूले राष्ट्रिय राजनीतिलाई कुनै न कुनै रूपमा चलायमान बनाएका छन्।

दशकौदेखि नेपाली राजनीति र सत्तामा एकछत्र राज गर्दै आइरहेका पुराना दलहरु नयाँ दलप्रति जनताको बढ्दो लगाव देखेर आत्तिएर ‘मिसन ०८४’ भन्दै अभियान चलाइरहेका छन्। 

कुन पार्टीको के अभियान?

४ मङ्सिर २०७९ मा भएको निर्वाचनमा पुराना र स्थापित भनिएका पार्टीहरूलाई नयाँ र भर्खर गठन भएका दलहरूले कडा चुनौती दिएपछि सबैजसो पार्टीहरूको ध्यान २०८४ सालतर्फ सोझिएको हो। 

उनीहरुले ४ वर्षपछि हुने निर्वाचनलाई मध्यनजर गर्दै पार्टी सुदृढीकरणका नाममा धमाधम आफ्ना योजना र कार्यक्रम सार्वजनिक गरिरहेका छन्। कतिपय पार्टीहरूले उक्त योजनाअनुसार एक चरणका कार्यक्रम नै सम्पन्न गरिसकेका छन्।  

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपादेखि जनमत र लोसपासम्म मिसन २०८४ को प्रतिस्पर्धा र होडबाजीमा जुटेका देखिन्छन्। त्यसका लागि पार्टी कमिटी गठन र विस्तारदेखि पार्टी सदस्य बढाउने अभियान नै चलाएका दलहरूले ‘सङ्गठन सुदृढीकरण’ को नाम दिएका छन्।

झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादीले शनिबार जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ। जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन्। 

माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ। त्यसबाट स्थानीय स्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढंगले संगठनको विस्तार हुने केन्द्रको विश्वास छ। माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन्। 

एमालेले पनि निर्वाचन सकिएलगत्तै गत फागुनमा नै दुईमहिने ‘मिसन ग्रासरूट’ सम्पन्न गरिसकेको छ। गएको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार जित हात पार्न नसकेकोले एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि अभियान चलाएको थियो। 

अहिले पनि एमाले विभिन्न प्रदेशमा पार्टी कमिटीको अविधेशन गर्ने, विद्यार्थी संगठनहरुको अधिवेशन गर्ने र विस्तारै जिल्ला र संघको अधिवेशन गरेर पार्टी सुदृढ बनाउने अभियानमा छ। त्यसैगरि एमालेले वडास्तरदेखि नै सदस्यता वितरण गर्नेदेखि पार्टी सुदृढ बनाउनेसम्मका योजना बनाएको छ। 

देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसले साउनमा संगठन सुदृढीकरण अभियान गरिसकेको छ। केन्द्रीय नेताहरु जिल्ला–जिल्ला पुगेर अभियान चलाएका थिए।

कांग्रेस, एमाले र माओवादीले केन्द्रीय नेतालाई जिल्लामा खटाउने, विभिन्न कार्यक्रम गर्ने, वडास्तरबाटै क्रियाशील सदस्यता बढाउने लगायतका योजना बनाइरहेका छन्। 

पार्टी सुदृढ गर्ने र जनताको नजरमा आफूलाई अलग देखाउने होडबाजीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ।

नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुला आवेदन माग गरिएको छ। त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्नेछ।

सदस्य संख्या बढाउने होडबाजी

सबै राजनीतिक दलहरुमा पार्टीका सक्रिय सदस्य संख्या बढाउने होडबाजी नै चलिरहेको छ। 

नयाँदेखि पुरानासम्मका राजनीतिक दलहरु वडास्तरदेखि अभियान सञ्चालन गरेर पार्टीका क्रियाशील सदस्य संख्या बढाउने होडबाजीमा लागेका छन्।

अहिले क्रियाशील सदस्य ८ लाख ६० हजारभन्दा बढी रहेको दावी गर्ने कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्दैछ। त्यसपछि सदस्यता प्राप्त गर्ने प्रक्रिया र वितरण गर्ने प्रणाली सहज बनाउँदै सदस्य बढाउने कांग्रेसको लक्ष्य छ।

दसौँ अधिवेशनबाट ११ औँ अधिवेशनमा पुग्दा १० लाख संगठित सदस्य बनाउने अभियानमा एमाले लागेको छ। पार्टी सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता थपेर पार्टी सुदृढीकरण गर्ने एमालेको तयारी छ। 

माओवादीले पनि पार्टी सदस्य नवीकरणको प्रक्रिया सुरु गरिसकेको छ। हरेक प्रदेश र जिल्लाले पार्टी सदस्यता नवीकरणको काम जारी राखेको माओवादीले जनाएको छ। पुराना सदस्यको नवीकरण गरेपछि नयाँ सदस्यता दिने माओवादीले जनाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी एक वर्षभित्र २ लाख पार्टी सदस्यता थप्ने तयारीमा छ। राप्रपाले अनलाइनबाट पार्टी सदस्यता, पार्टीमा युवा जिम्मेवारीदेखि प्राइमरी इलेक्सनबाट उम्मेदवार चयनसम्म कार्य योजना बनाएको छ।

राप्रपा बुढाहरूको पार्टी होइन युवाहरूको पार्टी हो भन्ने सन्देश दिन छोराछोरी पुस्तालाई तयार गर्ने योजना राप्रपाको छ। 

सुध्रिने प्रयास कि राजनीतिक फण्डा?

नयाँ दलको आगमनबाट झस्किएर चुनावदेखि नै आगामी चुनावको यात्रामा होमिएका पुराना दलहरुले पुराना गल्ति सुधार्छन् कि यसलाई पनि राजनीतिक खेलको फण्डा मात्रै बनाउलान् भन्ने प्रश्न उठेको छ। 

यद्यपि दलहरु भने पार्टी चुनावकेन्द्रित भएर अभियान नचलाएको बरु पार्टीको निरन्तर गतिविधि सञ्चालन गरेको दावी गर्छन्। ०७९ को चुनाव सकिएलगत्तै ०८४ को चुनावका लागि तयारीमा होमिएका उनीहरुबीच भने सुध्रिनुपर्ने बहस भइरहेको छ। 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विगतको कमी कमजोरी र गल्तीको कारण एमालेले गएको निर्वाचनमा गणितीय हिसाबमा कमजोर हुनु परेकोले गल्ति सुधार्नुको विकल्प नभएको बताइन्। 

‘अब सुध्रिनैपर्छ, नसुध्रिए आफैँ कमजोर हुँदै जान्छ र कमजोर भयो भने सकिन्छ। एमाले कमजोर हुने पार्टी होइन, त्यसैले सुध्रिनुपर्छ’,उनले भनिन्। 

कांग्रेस नेता गुरु घिमिरे कांग्रेसका केन्द्रीय समिति, आन्तरिक विशेष अभियान कर्मकाण्डी जस्तो भएको बताउँछन्। त्यसैले युवाहरु मिलेर नयाँ रुपान्तरण अभियान चलाइरहेको घिमिरेले बताए। आगामी निर्वाचनलाई मध्यनजर गर्दै १६५ वटा निर्वाचन क्षेत्रमा पुग्ने अभियानमा लागेको उनले बताए। 

माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल विगतमा माओवादीले राम्रो काम गरे पनि प्रचार गर्न नसक्दा र जनताको नजिक जान नसक्दा कमजोर भएको बताउँछन्।

त्यसैले माओवादीले आफूले गरेको कामको प्रचार गर्ने, जनताको घरदैलोमा जाने, पार्टीभित्र र बाहिरको फोहोर सफा गर्नेजस्ता काम गरेर सुध्रिनुपर्ने उनको भनाई छ। 

राप्रपाका महामन्त्री धवल शमशेर राणा राप्रपाले पुराना कमी कमजोरी सुधारेर नयाँ ढंगले पार्टी अगाडि बढाउने संकल्प गरेको बताए।

उनले पार्टीलाई युवामैत्री बनाउन लागेको राप्रपा असोजबाट आन्दोलनमा उत्रिनेसमेत बताए। पार्टी जुन सिद्धान्त बोकेर बनेको हो सोहीअनुसार हिन्दु राष्ट्र र राजसंस्थाको लागि राप्रपाले आन्दोलन गर्ने उनले बताए। 

चुनावदेखि–चुनावको कुरा असान्दर्भिक : राजनीतिक विश्लेषक

राजनीतिक विश्लेषक डम्बर खतिवडा एउटा चुनाव नसकिँदै अर्को चुनावको कुरा गर्नु सान्दर्भिक नहुने बताउँछन्। 

उनले भने‚ ‘चुनावदेखि नै चुनावको कुरा गर्नु असान्दर्भिक कुरा हो। यो जनतालाई छारो हाल्ने काम हो।’

चुनाव आउनु एक वर्षअघिदेखि अभियान चलाउनु सामान्य भए पनि अहिलेदेखि नै गर्नु भनेको राजनीतिक दलका लागि जनताका अरु मुद्दा प्राथमिकतामा नरहेको सन्देश भएको बताए। 

राष्ट्रको मुद्दा, आर्थिक, सामाजिकलगायत मुद्दाका विषयमा बहस गर्नुपर्ने बेलामा चुनावको कुरा गर्नु लोकतान्त्रिक नभएको समेत उनको भनाई छ।

‘पुराना दलहरुले गएको निर्वाचनमा आफू संकटमा परेको देखे। आफू सकिँदै छौँ भन्ने भएपछि जनतालाई हामी सुध्रिन्छौं भन्ने भ्रम छर्न खोजिएको फन्डा मात्रै हो यो’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.