|

काठमाडौं : गत माघमा संसद् भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे। समयमै प्रहरीले उद्धार गरेर अस्पताल पठाए पनि उनको निधन भयो।

यस्तै अघिल्लो हप्ता सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका मदन भण्डारी ट्रमा सेन्टर कार्यरत डा. प्रज्वल कोइरालाको शव केही दिनपछि सप्तकोशीमा भेटियो। जुनसुकै कारणले भए पनि यी दुई पात्रले आफू खुसी मृत्युको बाटो रोजेको देखिन्छ।

यी प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय मानिस विभिन्न कारणले आत्महत्याको बाटो रोज्ने गरेका तथ्याङ्क बढ्दै गएका पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजारभन्दा बढीले आत्महत्या गरिसकेका छन्। यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए। विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकोमा १० वर्षपछि आव २०७९।०८० मा उक्त सङ्ख्या बढेर सात हजार पुगेको देखिन्छ।

पछिल्लो पुस्तामा बढ्दो सामाजिक महत्त्वाकांक्षा,आर्थिक समस्या जस्ता विभिन्न कारणले आत्महत्याको बाटो रोज्नेको संख्या बढेको बताउँछन्‚ त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा। उनका अनुसार बढ्दो पछिल्लो पुस्तामा सामाजिक महत्त्वाकांक्षा, कुनै पनि कुरामा छिटो सफलता खोज्ने तथा अलि उमेर पुगेकाहरूमा आर्थिक अवस्था तथा अन्य सामाजिक कारणले गर्दा धेरैमा सामान्य तथा कडा खालका एन्जाइटी तथा डिप्रेशनको समस्या देखिने गरेको र यस्ता समस्यालाई समयमै पहिचान गरी न्यूनीकरण नगर्दा आत्महत्याको संख्या झनझन् बढ्दै गएको हो।‘

आत्महत्याको मुख्य कारण डिप्रेशन नै हो, आजभोलि मानिस करियर, आर्थिक अवस्था तथा अन्य सामाजिक कारणले धेरै दबावमा बाँचिरहेका छन्। लामो समयसम्म दबाव महसुस गरेर जीवनयापन गर्नेहरूमा विस्तारै डिप्रेशन देखिने र यस्ता मानिसले अन्त्यमा आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ। यसैले गर्दा हाम्रोमा आत्महत्याको बाटो रोज्नेहरूको संख्या बढेको हो’‚ डा. ओझाले भने।

कुनै पनि मानिसले आत्महत्याको बाटो रोज्नुअघि विभिन्न प्रकारका संकेत देखाउने हुँदा त्यस्तो वेला आफ्नो परिवार तथा निकटस्थ साथीभाइले विशेष ख्याल गरेर समयमै चिकित्सकलाई देखाउने तथा परामर्श मात्रै लिन सकियो भने पनि उक्त मानिसलाई बचाउन सकिने समेत डा. ओझाको भनाइ छ।

उनले भने‚ ‘मानिसले आत्महत्याको बाटो रोज्नुअघि एक्लै बस्ने, धेरै रुने, कुनै पनि कुरामा दबाव महसुस गर्ने, धेरै रिसाउने तथा एक्लै बसेर सामान्यभन्दा धेरै रक्सी सेवन गर्ने जस्ता लक्षण देखाउँछन्। यस्तो समयमा आफ्नो परिवार तथा नजिकका साथीभाइले राम्रो हेरचाह गर्ने चिकित्सक तथा अन्य मनोपरामर्श गराउन सकियो भने बचाउन सकिन्छ‚ नभए कोही व्यक्ति लामो समयदेखि  केही कुरामा दबाव महसुस गरेको छ र यस्ता लक्षण देखाइरहेको छ भने धेरैले आत्महत्याको बाटो रोज्ने गर्छ।’

आशा जगाऔँ, जीवन बचाऔं

पारिवारिक कारण, प्रेममा असफल, पढाइमा असफल तथा आर्थिक कारणले मानिसले दबाव र तनाव महसुस गर्छ‚ एन्जाइटी तथा डिप्रेशनमा पुग्छ तर हाम्रो समाज तथा परिवारमा अझै पनि आफ्ना परिवारका सदस्यमा यस्ता समस्या देखिए सामाजिक प्रतिष्ठा गुम्ने डरले खुलेर बाहिर नआउने समस्याले गर्दा पनि आत्महत्याको घटना बढ्नुको प्रमुख कारण हो। मानसिक स्वास्थ्य स्वास्थ्य समस्या पनि शारीरिक स्वास्थ्य समस्या जस्तै हो खुलेर चिकित्सकलाई देखाउने तथा परामर्श देखाउने गर्नुपर्छ भनेर भन्न नसक्दा सामान्य खालको मानसिक समस्या पनि जटिल बन्ने र मानिसले आत्महत्याको बाटो रोज्ने गरेको उनको भनाइ छ।

‘अझै पनि एन्जाइटी तथा डिप्रेशन जस्ता समस्या खुलेर भनिदैन। यस्ता समस्या परिवारका सदस्यमा देखिए पनि अन्य शारीरिक रोगहरूलाई जस्तो सहज लिएको पाइँदैन। मेरो ओपीडीमा आउने कतिपय यस्ता विरामीले आफ्नो समस्या आफ्ना परिवारका सदस्यलाई जानकारी नदिएको देखिन्छ तर यस्ता मानसिक समस्या पनि अन्य शारीरिक समस्या जस्तै हो। त्यसैले यस्ता समस्या भएका आफ्ना साथीभाइ तथा परिवारका सदस्यमा आशा जगाउने खुलेर समस्या बताउन सक्ने बनाएर उनीहरूको जीवन बनाउनुपर्छ’‚ डा. ओझाले भने।

यदि कोही व्यक्तिमा आत्महत्याको सोच आएमा वा संकेत देखिएमा चौबीसै घण्टा चल्ने नि:शुल्क हेल्पलाइन ११६६ मा तुरुन्त सम्पर्क गरेर सामान्य परामर्श लिन सकियो भने मात्रै पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ।​

व्यापार‚ व्यवसायमा घाटाका कारण आर्थिक अवस्था कमजोर, सोचेअनुरूपको करियर नहुनु जस्ता कारणले मानिस विस्तारै मानसिक रूपमा तनावमा रहने र लामो समयसम्म तनावग्रस्त अवस्थामा रहेपछि मानिस डिप्रेशनमा पुगेर केही विकल्प नदेखेपछि आत्महत्याको बाटो रोज्न पुग्छ। अझै पछिल्लो समय समाजमा राम्रो सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूले नै आत्महत्याको बाटो रोजेको देखिन्छ।

यस्ता व्यक्तिहरू लामो समयको तनाव विस्तारै एन्जाइटीको शिकार बन्छन्। एन्जाइटी हुँदा मानिस डराउने र आत्तिने अवस्था हो। यही अवस्थामा मानिसलाई राम्रो परामर्श मात्रै गर्न सकियो भने पनि हुन्छ। ‘यस्तो वेला नि:शुल्क हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श मात्रै लिँदा पनि हुन्छ’‚ डा ओझाले भने।

तर अलि कडा खालकै एन्जाइटी र डिप्रेशनमा पुगेपछि भने उदास अवस्थामा हुने र जीवनदेखि नैराश्य अनुभव गरिरहेको हुने हुँदा यही वेला मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन्। यस्तो वेला परिवारका सदस्यले छिटोभन्दा छिटो चिकित्सकको सम्पर्कमा लैजानुपर्ने उनको भनाइ छ।

कुनै पनि व्यक्ति आत्महत्या गर्नुपूर्व २५ वटासम्म उपाय सोच्ने र यस्तो वेला विभिन्न खालका संकेत देखाउने हुँदा कुनै पनि अस्वाभाविक संकेत देखाएमा परिवारका सदस्यले हेलचेक्राइँ गर्न हुँदैन।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बढ्दो आत्महत्याका घटना रोकथाम गर्न नसकी दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको न्यूनीकरणममा सबै सरोकारवालाहरूले उत्तिकै सहयोग गर्नुपर्ने बताएका छन। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि उतिकै महत्त्वपूर्ण हुँदा मानसिक स्वास्थ्यमा समस्या आउँदा खुलेर कुरा गर्नुपर्ने वातावरण आफ्नो घरपरिवार तथा कार्यस्थलमा हुनु पर्ने उनको भनाइ छ।

‘शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले मानसिक स्वास्थ्यमा समस्या आउँदा खुलेर कुरा गर्नुपर्ने वातावरण घरपरिवार र कार्यस्थलमा हुनुपर्छ,यदि आत्महत्याको सोच आएमा नजिकको स्वास्थ्य संस्था तथा राष्ट्रिय हेल्थ लाइन हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ’‚  स्वास्थ्यमन्त्री बस्नेतले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.