|

संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ। हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतबार बिहान ११ बजेबाट बयान सुरु भएको थियो।

हत्यामा संलग्न भएको अभियोगमा ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।

जिल्ला न्यायाधीश टेकनाथ गौतको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए।

घटनामा संलग्न भएको अभियोग लागेका १५ जनालाई अभियुक्तसँग बयान थालिएको स्रेस्तेदार केसीले बताए। बयान सकिन ३–४ दिन लाग्न सक्ने स्रेस्तेदार केसीले बताए।

घटनामा संलग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोष भण्डारीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन्। सबै अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा कारागारको सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्ज असई लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानहरू सुमन गुरुङ, दमनसिंह राई, पवनकुमार महतो, नसुन राई र मनीष राईलाई प्रतिवादी बनाइएको छ।

भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गर्दै यातना दिएको अनुसन्धानबाट पत्ता लागेको छ। कुटपिट गरेको सीसी क्यामेरा फुटेजसमेत छ।

कारागारका चौकीदारसहित ८ जना कैदीलाई समेत मुद्दामा प्रतिवादी बनाइएको छ। चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल तथा सहनाइकेहरू सचिन राई, सुमन सारु मगर, टीकाराज चौहान, नवीनकुमार राई र कैदीहरू इन्द्रध्वज घिमिरे एवं मीनबहादुर तामाङलाई मुद्दाका प्रतिवादी बनाइएको छ।

गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।

कारागारका तीन कर्मचारी सहित ६ जनाविरुद्ध मुद्दा नचल्ने 
जिल्ला कारागारका तीनजना कर्मचारी र तीनजना प्रहरीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ। निमित्त जेलर राजेन्द्र घिमिरे भदौ ६ गते पक्राउ परेका थिए।

उनलाई त्यही दिन हाजिर जमानीमा छाडिएको थियो। कारागारका सहायक कम्प्युटर अप्रेटर यादव र कार्यालय सहयोगी कार्कीलाई भदौ १३ गते पक्राउ गरिएको थियो। प्रहरी जवानहरू कार्की, विक र सोङमीलाई अनुसन्धानका क्रममा भदौ १४ गते पक्राउ गरिएको थियो।

निमित्त जेलर घिमिरेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए। जिल्ला अदालत संखुवासभाले कारागारका तीन कर्मचारी र तीनजना प्रहरीलाई शुक्रबार छाडिसकेको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.