|

विराटनगर : इलाम जिल्लाको सुन्तलाबारीमा २००९ सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङ ७१ वर्षको उमेरमा हृदयघातका कारण सधैँका लागि अस्ताए। उनको निधनसँगै देशले कुशल राजनीतिज्ञ गुमाएको छ, इलामले अभिभावक गुमाएको छ, लिम्बू समुदायले बौद्धिक नेता गुमाएको छ।

विद्यार्थीकालदेखि राजनीतिमा होमिएका नेम्वाङ २०६४ मा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भई संविधानसभाको अध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरेका थिए। नेपालको नयाँ संविधान बनाउन दुईपटक नेतृत्व गरेका नेम्वाङ आफ्नै समुदायको पक्षमा आवाज नउठाएको भन्दै विवादित बनेका थिए।

उनी जीवित हुँदा होस् या उनको मृत्युपछि पनि आफ्नै समुदायका केही व्यक्तिले पहिचानविरोधीको संज्ञा दिँदै अपमानजनक अभिव्यक्तिसहित सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिएका छन्।​

नेम्वाङ याक्थुङ समुदायको छाता संगठन किरात याक्थुङ चुम्लुङका संस्थापक रहेका संघीय लिम्बुवान पार्टी नेपालका नेता वीर नेम्वाङ बताउँछन्। किरात याक्थुङ चुम्लुङ अमेरिकाका उपाध्यक्ष विवश बनेमले याक्थुङ (लिम्बू) समुदायमा सुवास नेम्वाङहरू सय वर्षमा एकपटक मात्रै जन्मने प्रतिक्रिया दिन्छन्।

नेम्वाङ लिम्बू समुदायमा बौद्धिक साथै राष्ट्रिय राजनीतिमा उच्च स्थानमा रहन सफल नेताको रूपमा चिनिन्छन्। सुवास नेम्वाङ पहिचानविरोधी नै हुन्? भन्ने प्रश्नमा सञ्चारकर्मी एवम् साहित्यकार देवेन्द्र खापुङले नेम्वाङ पहिचानविरोधी नभएको बताउँछन्।

‘उनी पहिचानविरोधी होइनन्, उनले लिम्बूविरोधी कुरा कहाँ गरे?’, उनले प्रश्न गरे, ‘झन् उनले फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाए, धर्मनिरपेक्षताको वकालत गरेका हुन्।’

पञ्चायतकालमा किराँत याक्थुङ चुम्लुङ जन्माउनेमा सुवास नेम्वाङ पनि एकजना रहेका बताउँदै वीर नेम्वाङले नेपालको संविधान लेख्दा धर्म निरपेक्षता लिपिबद्ध बनाउने उनको प्रमुख भूमिका रहेको स्मरण गरे।

लिम्बुवान स्वायत्तताको पक्षमा नेम्वाङ उभिएका थिए तर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय राज्यपरिषद्ले घरिघरि अपमानित गर्ने गरेको र ढुंगामुढा गर्ने गरेकाले पनि लिम्बुवान स्वयत्तताविरोधी देखिएको उनले बताए।

‘सुवास लिम्बुवान स्वायत्तताको पक्षमा थिए तर घरिघरि आक्रमण गर्ने गरेको र त्यसपछि पछिल्लो समयमा लिम्बुवान स्वायत्तताविरोधी नै देखिएको हो’, उनले भने, ‘यसको कारक तत्त्व यही हो, पहिले लिम्बुवान पक्षमा थिए। अपमान गरेर लखेट्न थालेपछि उनी विपक्षमा देखिए।’

लिम्बू समाजमा सुवास नेम्वाङ राष्ट्रिय राजनीतिमा अहं भूमिका खेल्न सक्ने व्यक्तित्व रहेको बताउँदै उनले अहिलेको नेपालको आन्तरिक परिवेशमा रक्षकको रूपमा उभिएको समेत उनले बताए।

‘मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ‚ स्वतन्त्र विचारमा राजनीति गरेका छन्। बितेपछि सत्तोसराप गरेर फाइदा छैन’, उनले भने, ‘त्यस्तो गर्नु उचित होइन, मानवीय संवेदना हुन्छ। पहिचानवादीमा मानवीय संवेदना देखिएन।’ 

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा  लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको बुझाइमा नेम्वाङ शालिन, भद्र र मृदुभाषी थिए।

‘म उहाँको प्रशंसक हुँ, यो मानेमा सम्मान गर्छु व्यक्तिगत रूपमा नराम्रो छैन’, उनले भने, ‘पहिचानका मुद्दाको सन्दर्भमा उहाँलाई पार्टीले बाध्य बनाएको होला तर पहिचानका मुद्दामा उहाँ नकारात्मक होइन।’

पहिचानको आन्दोलनलाई नेम्वाङले विरोध नगरेको बताउँदै उनले आन्दोलन संयमपूर्वक गरौँ, हिँसात्मक नगरौँ भन्ने सुझाव दिएको स्मरण गरे।

‘उहाँ लिम्बुवानको विपक्षमा हुनुहुन्न। पार्टी भएपछि पार्टीको धारणाअनुसार बढ्ने भयो तर व्यक्तिगत रूपमा पहिचानको पक्षमा सकारात्मक नै हुनुहुन्थ्यो’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.