|

विराटनगर :

‘'गाऔँ स्वर खोलेर दिदी र बहिनी।

नाचौँ न मिलेर  दाँवली  सैली

यो गीत घन्किँदा महिला दिदिबहीनीहरू धक फुकाएर नाच्छन्। जीवन बाँच्दै गर्दा भोगेका विविध भोगाइहरू र गुम्सिएका भावनाहरू यस्तै तीजका गीतहरूमा नाच्दै  एकअर्कामा बाँडे झैँ भान हुन्छ।  त्यसो त विगतमा झैँ महिलाहरू घरको चारकुने आँगन, चुलाचौका र मेलापातमा मात्रै सीमित छैनन्। जीवन जिउने शैलीहरू फेरिएका छन्। घरपरिवार  र घरगृहस्थमा सीमित महिलाहरूको परिधि  पछिल्लो समय फराकिलो बन्दै गएको छ।

यो सँगै विगतमा बज्ने  वेदनाले भरिएका गीतहरू तीज विशेष कार्यक्रमहरूमा हराउँदै गइरहेका छन्।  समयसँगै आर्थिक एवं सामाजिक रूपमा नारीहरू  सशक्तीकरण हुँदै गएको पाइन्छ। घर गृहस्थको जिम्मेवारीसँगै बाहिरी काम (कार्यालय, व्यापार बिजनेस)मा आफूलाई अगाडि बढाउँदै गर्दा धेरैजसो महिला आत्मनिर्भर बन्दै गएको छ।  घरका पुरुषसँगै आर्थिक समानताको बाटोमा महिलाहरू हिँडिरहेका छन्।

त्यसो त  घरबाहिरका काममा जसरी महिलाहरू जोडिदैँ गएका छन् त्यसैगरी बीचैमा काम छोडिनेको संख्या पनि उत्तिकै पाइन्छ।  विवाहपछिको जीवनमा घर भित्र र बाहिरको कामलाई समय निकाल्न गाह्रो हुँदा कतिपय महिला आफ्नो पेसाबाट पलायन भएको पनि पाइन्छ।  यस्तै सामाजिक, आर्थिक लगायतका विविध चुनौतीपूर्ण यात्राहरू सामना गर्दै नेतृत्वदायी भूमिकामा पुगेका महिलाहरू तीज महिलाईहरू बीच खुशी साट्ने एउटा पर्व रहेको बताउँछन्। तर, पछिल्लो समय तीज पर्व संस्कृति जोगाउन भन्दा पनि विकृतिको रुपमा पनि मौलाउँदै गएको उनीहरूको तर्क छ।

सविना बजगाई (सांसद)

 तीज महिलाहरूलाई खुशी साट्ने र एकताबद्ध बनाउने पर्व रहेको कोशी प्रदेश १ की सांसद सविना बजगाई बताउँछिन्। तर, विगतका दिनहरूभन्दा पछिल्लो समय तीजको मौलिकता अलिक फेरिएको उनी बताउँछिन्।

आफूले बाल्यकालमा अनुभव गरेको तीज परिवार, इष्टमित्र र घरभित्र नै मनाउने गरेको भए पनि पछिल्लो समय विविध संघसंस्थाहरूले आयोजना गर्ने तीज कार्यक्रमले पनि तीज पर्वको अलिक फराकिलो बन्दै गएको उनको तर्क छ। आफू राजनीतिककर्मी भएकाले पनि समान्य रुपमा महिला दिदिबहिनीहरूलाई सकारात्मक भाव पैदा हुनेगरी विविध कार्यक्रममो आयोजनामा सहभागी भएर तीज पर्व मनाउँदै आएको उनले बताइन्।

व्रत बसेको दिन गीतको माध्यमबाट चेलीले अधिकारका कुरा उठाउने, महिलाहरूले स्वतन्त्र कुरा राख्ने भएकाले तीजका दिन महिलाहरूलाई शक्तिको रूपमा लिने र महिलाहरूलाई संगठित गरिने दिनका रूपमा मानिने तीज पछिल्लो समय मनाउने प्रचलन धेरै परिवर्तन भएको उनी बताउँछिन्।   तर देखासिकी गरेर पैसा उठाएर पाँचतारे होटल, पार्टी प्यालेसमा खर्चालु तरिकाले पार्टी गरेर मनाइने प्रचलन चाहिँ अलिक विकृति रहेको बताउँदै उनले तीज घरपरिवारसँग नै परम्परागत ढंगले मनाउने उनले बताइन्।

सपना राई (सुरक्षाकर्मी)

तीजलाई महिलाहरूका लागि एउटा उत्सव र खुशी साट्ने माध्यम रहेको  जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी सहायक निरीक्षक सपना राई बताउँछिन्।   आफू व्रत बस्ने नभए पनि यो पर्वलाई विशेष दिनका रूपमा लिने गरेको उनले बताइन्। उनले बाल्यकालमा देखेको, सुनेको र भोगेको तीज र पछिल्लो समयको तीज मनाउने शैलीमा व्यापक परिवर्तन आएको बताउँछिन्।

आफू आदिवासी भए पनि तीजलाई सम्पूर्ण महिलाहरूले खुशीका भाव साट्ने र रमाउने पर्वका रुपमा पनि लिने गरेको उनी बताउँछिन्।

विगतका दिनहरूमा वेदनाले भरिएका गीतसँगै तीजको सुरुवात हुन्थ्यो भने अहिले  समयसँगै फेरिएको शैली राम्रै लाग्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्,‘कम्तीमा महिलाहरू सचेत छन्, आत्मनिर्भर छन्। हिजोको जस्तो परिवारको हिंसा सहेर आफ्ना भनाइ राख्न तीज कुर्न पर्दैन।’

भड्किलो देखासिकी र तामझाम गरेर कुनै पनि पर्व मनाउनु चाहिँ विकृति रहेको उनको तर्क छ।  सुरक्षाकर्मी भएकाले पनि आफ्नो डिउटीसँगै  तीजको दिन  व्रत नबसी समय मिलाएर पूजा गर्ने योजना रहेको बताउँछिन्।

चिना थापा (पत्रकार)

पछिल्लो समय  तीज भड्किलो भयो भन्ने कुरा  आफूलाई  भड्किलो भए जस्तो नलागेको पत्रकार चिना थापा बताउँछिन्। उनी प्रेस चौतारी मोरङका उपाध्यक्ष समेत हुन्।  महिला आत्मनिर्भर बन्दै गर्दा आफूले कमाएको केही पैसा छुटाएर मनोरञ्जन गर्नुलाई भड्किलो  ठान्न नहुने तर्क राख्छिन्।

‘पहिला हाम्रा हजुरआमा आमाहरूको पालामा महिलालाई घरको काममा मात्र सीमित राखिन्थ्यो। आफ्नो  श्रीमानको कमाइमा भर पर्नुपर्थ्यो।  घाँस दाउरा गर्नदेखी बाहेक उहाँहरू  घरको चौघेराबाट निस्कन पाउनु हुँदैन थियो। अर्को कुरा पहिला सासुले जे भन्यो त्यही गर्नुपर्थ्यो। त्यो अवस्थामा कसरी बाहिर गएर दर खाने ?   उनी भन्छिन्,’अहिले महिलाहरू पनि आत्मनिर्भर बन्दै गएका छ्न्। श्रीमानको कमाइमा  भर पर्नुपर्ने अवस्था छैन। आफ्नो कमाइको थोरै पैसा मनोरञ्जनको लागि छुट्याउन महिलाले नपाउने हो र ? महिलाले आफ्नो कमाइ हुँदा पनि रमाउन नपाउनु ?  सधैं एउटै व्यक्तिले निरन्तर खर्च त गरिरहेको छैन।‘  विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैगर्दा साथीहरू मिलेर आयोजना  गर्ने, विभिन्न समूहले आयोजना गर्ने गरेको उनी बताउँछिन्।

‘एउटा संस्थाले एक पटक दर कार्यक्रम आयोजना गर्ने हो, अनि अर्को संस्था, समूह वा व्यक्तिले आयोजना गरेको दर कार्यक्रमलाई एकै ठाउँमा राखेर तीज भड्किलो भयो भन्न त भएन नि ’, उनले भनिन्।

 घरधन्दा, छोराछोरी र जागिर भ्याएर थोरै समय निकालेर  साथीसङ्गीसग भेटघाट गरेर रमाइलो गर्दा तीज भड्किलो नभएको बताउँदै उनले  तीज भड्किलो भयो भन्नेहरू महिलाको प्रगति देख्न नसक्ने रहेको बताउँछिन्।  तीजका दिन आफू  व्रत बसे पनि  निराहार  नबस्ने बताउँदै  उनी  पानी फलफूल खाएर व्रत बस्ने तयारी रहेको उनले बताइन्।

‘म धर्मप्रति आस्था राख्ने मन्छे हो। तर, मन्दिर गएर पूजा गर्दैमा सबै कुरा पूरा हुन्छ पाइन्छ भन्ने कुरामा विश्वास गर्दिन’, उनी भन्छिन्,‘ म कर्ममा विश्वास गर्ने मान्छे हो। व्रत बसेर अरु कसैको आयु  बढ्छ भन्ने कुरामा पनि  विश्वास गर्दिन। ’

बिनु तिम्सिना (पत्रकार)

समयसँगै तीज मनाउने शीलीमा परिवर्तन आएको पत्रकार बिनु तिम्सिना बताउँछिन्। तिम्सिना नेपाल टेलिभिजन इटहरीमा कार्यरत छिन्। ‘पहिला चेलीलाई विवाह गरेर टाढा दिइन्थ्यो,  यातायातका साधन हुँदैन थिए, दिनदिनै  भेट्न सकिँदैन थियो,  अहिलेजस्तो प्रविधि थिएन भेट्नका लागि बहाना चाडपर्व चाहिन्थ्यो ’, उनले भनिन्,‘तीजमा चाहिँ एउटा बहाना पनि भयो छोरीचेली बोलाउने मिठोमसिनो खान दिने   दुखसुखका कुरा गर्ने त्यो बेलाको तीजको महत्व बेग्लै थियो।’ समय परिवर्तन भएसँगै तीजको एउटा महत्व फरक भएको बताउँदै उनले समयसँग सबैखालको परिवर्तन हुने र तीज मनाउने  तरिका पनि परिवर्तन भएको  उनी बताउँछिन्। तर पनि यसको मौलिकतालाई मर्न दिन नहुने उनको भनाइ छ।

 पछिल्लो समय विकृति आयो भन्ने कुरा उठेको बताउँदै उनले  विकृति आयो भनेर आलोचना गर्नुभन्दा पनि  मौलिकतालाई मर्न नदिन आफ्नो आफ्नो  ठाँउबाट ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।

‘विकृति आयो भनेर सबै महिलाहरूलाई गाली नै गर्नुपर्छ भन्ने हुँदैन। विकृति के कारणले आयो ? के खराब हो ?  त्यो बुझ्न पनि महत्वपूर्ण पाटो हो’, उनले भनिन्,‘हामी सबै कामकाजी महिला हुन्छौ कामकाजी नभए पनि घरपरिवारमा व्यस्त हुन्छौ। सबै भुलेर एकदिन साथी मिलेर रमाइलो गर्दा विकृति नै भन्नुपर्छ भन्ने लाग्दैन।’

मीरा आचार्य ( चिकित्सक)

तीज विभिन्न वर्षहरूमा भन्दा फरक र पुरानो ढंगबाट मनाउने तयारी रहेको दन्त चिकित्सक डा. मीरा आचार्य बताउँछिन्।

पेशागत जिम्मेवारीले व्यस्त हुने भएकाले तीज साथै विभिन्न पर्व महत्वपूर्ण लाग्ने बताउँदै उनले यो पारिवारिक मेलमिलापको माध्यम समेत  रहेको  बताउँछिन्।

 तीज महिलाहरूको विशेष पर्व भएकाले पनि  महिलाहरूले विशेष  महसुस गर्ने हिसाबले नेपाल डेन्टल एसोसिएसनबाट महिला डेन्टिसहरूबाट तीज मनाउने सुरुवात गरेको बताइन्।

‘समाजमा पनि योगदान दिउँ भन्ने हिसाबले  दिदिबहिनीहरूलाई विशेष महसुस गराउ भन्ने हिसाबले एक हप्तासम्मका लागि ओपिडी निःशुल्क  कुनै पनि उपचारमा ५० प्रतिशत छुट दिने निर्णय गरेकी छु’, उनले भनिन्,‘२ गते देखि महिलाहरूका लागि यो सेवा उपलब्ध हुन्छ, आइतबार चिकित्सकको आन्दोलन र आज तीज भएकाले यो अलिक पछि भएको हो।’

कोही नाचगान गरेर तीज मनाउने गर्छन् कोही  कुनै किसिमको योगदान गरेर तीज मनाउने गरे पनि  सबैले आ–आफ्नो क्षेत्रबाट महिलाहरूलाई प्रोत्साहन गरेर पर्व मनाउँदा राम्रो हुने उनको भनाइ छ।

भली सुब्बा  (सौन्दर्यकर्मी )

अन्य समय कुनै पार्टी प्यालेसमा नाचेर रमाइलो गरेर तीज मनाउँदै आएको सौन्दर्यकर्मीहरूले यो पटक महिलाहरूको पाठेघरको शिविर सन्चालन गरेर तीज विशेष कार्यक्रम मनाइएको  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर नगर कमिटीको  अध्यक्ष भलि सुब्बाले बताइन्।

‘हाम्रो व्यवसायलाई कसरी टिकाउन सकिन्छ र समाजमा स्थापित हुनुका साथै सबैको नजर हाम्रो पेसा प्रति जान्छ भन्ने सोचसहित हामीले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ’, उनले भनिन्,‘तीजको अवसरमा महिलाहरूलाई  पाठेघर सम्बन्धी नै शिविरको आयोजना गरौ न त भनेर टमिमा सल्लाह भएपछि हामीले तीजलाई स्वास्थ्यसँग जोडेर मनाएका हौँ।’

 एउटा घरको महिला स्वास्थ्य भए सम्पूर्ण परिवार नै स्वास्थ्य पनि हुन्छ भन्ने उद्देश्यले पनि यो पटकको तीज फरक ढंगले मनाउने निधो गरेको उनको भनाइ छ।

 ग्रामीण क्षेत्रमा सामान्य स्वास्थ्य जाँच गर्नु पनि चुनौतीका विषय भएकाले  विराटनगर बजार क्षेत्रभन्दा दुरदराजको ठाँउमा गएर आफूहरूले स्वास्थ्य सेवा प्रदान गरेको बताउँदै उनले यस्ता पर्व विशेषमा यस्ता खालको स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताइन्।

 मौलिकता  संस्कार र संकृतिलाई जगेर्ना गर्दै पर्व मनाउनुपर्नेमा जोड दिँदै उनले महिलाहरूलाई सकारात्मक उर्जा दिने हिसाबले पनि पर्व मनाउन सकिने उनी बताउँछिन्।

मोरङको कटहरी गाउँपालिका ३ मा पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य  परीक्षण ७५ जनाको गरेको र जसमध्ये दुई जना महिलाको पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमा देखिएको  उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.