|

काठमाडौं :  केही दिनयता कडा ज्वरो आउने, टाउको र जोर्नी दुख्ने लक्षण लक्षण लिएर अस्पताल पुग्ने बिरामी बढेका छन्। यसरी अस्पताल पुग्नेमा केहीमा डेंगु संक्रमण पुष्टि भए पनि केहीमा भाइरल ज्वरो भएको पाइएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो एक हप्ता यता काठमाडौंमा डेंगुका बिरामी समेत अस्पतालमा बढेको अस्पताले जनाएको छ। अस्पतालका अनुसार  अस्पतालको आकस्मिक कक्षमा दैनिक पाँचदेखि सातजनासम्म डेंगुका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। ओपीडीमा सेवा लिन पुग्ने  बिरामी पनि बढेका छन्।अस्पतालका अनुसार दैनिक २०० सम्म बिरामी ओपिडीमा डेंगुजस्तै लक्षण लिएर पुग्ने गरेका छन्।

 टेकु अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेका अनुसार भाइरलका बिरामीका साथै दैनिक डेंगुका बिरामी पुष्टि हुने संख्या बढ्दै गएको बताए। ‘एक हप्ता यता जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण  लिएर ओपीडीमा आउने बिरामी बढ्दै गएका छन्। यसरी उपचारमा आउनेलाई केहीमा डेंगु पुष्टि भएको छ भने केहीमा भाइरल संक्रमण जस्तो देखिने गरेको छ’ इन्चार्ज पाण्डेले भने।

टेकु अस्पतालमा मात्रै होइन ललितपुरस्थित पाटन अस्पतालमा पनि यो हप्ता यस्तै लक्षण लिएर जाने बिरामीको संख्या क्रमश बढ्दै गएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यही मौसममा गत वर्ष जस्तो बिरामी धेरै नभए पनि एक हप्ता यता अलि बिरामी बढेको छन्। 'सामान्यतया यो मौसममा भाइरलका बिरामी बढ्छन्’, उनले भने, ‘गत वर्ष जस्तै त छैन तर अन्य बेला भन्दा अलि बिरामी बढेका छन्, जसमा डेंगुका बिरामी पनि छन्।’

गत वर्ष काठमाडौं उपत्यकामा यही मौसममा डेंगु संक्रमणका बिरामी धेरै देखिएको भए पनि यो पटक डेंगु र भाइरल ज्वरोका बिरामी सँगै देखिँदा अस्पतालमा बिरामी बढ्दै गएको बताउँछन् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

‘एक हप्ता एता मेरो ओपीडीमा आउने बिरामी धेरैमा डेंगुसँग मिल्ने लक्षण भएका बिरामी बढेका छन यसरी आएका बिरामी केहीमा डेंगु पुष्टि भएको छ भने केहीमा डेंगु देखिएको छैन जसले गर्दा केहीमा भाइरल संक्रमण भएको अनुमान गर्न सकिन्छ’ डा पुनले भने ‘यस्ता समस्या लिएर आउनेमा प्राय दिर्घरोगी, बालबालिका तथा जेष्ठ नागरिक उमेर समूहका हुनुहुन्छ।‘

यो पटक काठमाडौंमा डेंगु पुष्टि भएका अधिकांश बिरामीमा दोहोरिएर डेंगु देखिएको हुँदा संक्रमित भएका प्रायमा कडा खालको लक्षण देखिएको समेत डा. पुनले बताए। ‘गत वर्ष पनि डेंगु संक्रमण भएकालाई यो वर्ष पनि दोहोरिएर भएको पाइएको छ’, उनले भने।

एकै खालका लक्षण देखिएर आएका बिरामीमा डेंगु पुष्टि नभएकालाई भाइरल संक्रमण मात्रै हो भनेर बस्न नहुने समेत उनले बताए। ‘अस्पतालमा आएका आधा भन्दा बढीमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको छैन तर उनीहरूमा डेंगु जस्तै लक्षण देखिएको छ। डेंगु र चिकनगुनियाको एकै खालको लक्षण हुने भएकाले त्यसको पनि शंका गर्न सकिन्छ’, डा. पुनले भने।

यसअघि सन् २०१३ मा यस्तै भाइरल संक्रमणका बिरामी बढ्दा परीक्षण गर्दा नेपालमा चिकनगुनियाका संक्रमण भएको पुष्टि भएको थियो।

काठमाडौं डेंगुको रेड जोनमा पुग्यो

 यता अस्पतालमा डेंगुका केस रिपोर्ट हुने दर बढ्दा उपत्यकामा संक्रमितको संख्या पनि बढेको  छ। 

पछिल्लो हप्ता काठमाडौं उपत्यकामा डेगु संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङकले देखाएको छ। एक हप्ताअघि सम्म ५०० भन्दा कम रहेको डेंगु संक्रमण हाल काठमाडौंमा ५८० जना पुगि सकेको छ। जसले गर्दा काठमाडौं डेंगु संक्रमणको 'रेड जोन'मा परेको छ। ५०० भन्दा धेरै संक्रमित भेटिएमा त्यो जिल्ला संक्रमणको 'रेड जोन' मा रहेको मान्ने गरिन्छ।

यस्तै हाल ललितपुर र भक्रपुरमा क्रमश २०५ र २०४ जना संक्रमित रहेका छन। भने देशभर डेंगु संक्रमितको संख्या २९ हजार ४६८ जना पुगेको छ। यस्तै यो वर्ष १५ जना संक्रमितको डेंगुकै कारण मृत्यु भइसकेको छ।

अघिल्लो वर्ष काठमाडौं उपत्यकामा डेंगुले महामारीकै रुप लिएको थियो। साउनदेखि फैलिएको डेंगु असोज र कात्तिको दोस्रो हप्तामा तीव्ररूपमा डेंगुको केस रिपोर्ट भएको थियो। थियो। त्यो वेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए, जसमा अधिकांश उपत्यकाका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.