|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्। 

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो। उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिट्टै समाधान हुने बताए।

उनले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने बताए । मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताए।

‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरूलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ। हिजो पनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ–सयौं कर्मचारीहरूलाई मैले त ९५ करोड भनेको थिएँ । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैंया फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो।’ उनले भने‚‘सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन । देशको आर्थिक अवस्था यस्तै छ । त्यसकारणले गर्दा त्यहाँ पहिले भर्ना गरेको नर्सभन्दा बढी नर्सहरू नियुक्ति गरेर पठाइसकिएको अवस्था हो। त्यही पनि त्यहाँका एचओडीहरु,  त्यहाँको न्याम्सको टिम र म बसेर साँच्ची नै एकदमै नचल्ने अवस्थामा केही छ भने दिनुहोस् । तत्कालै सरकारको नेतृत्वसँग कुरा गरेर अनुमति लिएर हामी आन्तरीक र वाहिरी व्यवस्थापन गरेर चलाउँछौं। चाँडोभन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौ भनेर भनेका छौं।’

मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशीघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए। उनले संविधानको मौलिक हकमा आधारभुत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भए पनि कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लागिरहेको बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.