न्याम्समा तीनजना सिनेट सदस्य थपिए

|

काठमाडौं : आफ्नै कार्यशैलीले पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत आलोचित बन्दै गएका छन्। जसले गर्दा आफू निकट पार्टीका स्वास्थ्यकर्मीहरूले समेत उनको कार्यशैलीको आलोचना गर्न थालेका छन्।

हालै वीर अस्पतालमा स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ। जसले गर्दा वीर अस्पतालको सेवा अस्तव्यस्त भएको छ। यसले गर्दा वीरमा रहेको आफ्नै पार्टी निकट ट्रेड युनियन समेत हैरान भएको छ।

 ७०० शय्या नि:शुल्क गराएको मात्र होइन बिहान ८ बजेदेखि ओपीडी सेवा, विस्तारित इमरजेन्सी सेवा, नियमित शल्यक्रिया र आईसीयू सेवा विस्तार गरेका थिए। तर एक हप्ताअघि आफैले २२१ जना नर्स र अन्य स्वास्थ्यकर्मी गरी २७६ कर्मचारी हटाएका थिए।

यसै विषयलाई लिएर वीरमा रहेको आफू निकट पार्टीको कर्मचारी ट्रेड युनियनका कर्मचारीले समेत मन्त्री बस्नेतको कार्यशैलीको आलोचना गरेका थिए। वीर अस्पतालमा रहेको काँग्रेस निकट स्वास्थ्यकर्मी युनियन आबद्ध एक स्वास्थ्यकर्मीले भने‚ ‘मन्त्रीको कार्यशैलीले अस्पतालको सेवा अस्तव्यस्त हुन थाल्यो। हाम्रो सल्लाह पनि सुन्नुहुन्न। आफ्नै पार्टी निकटको मन्त्री भनेर सल्लाह दिन गयो‚  हप्की दप्की मात्रै  गर्नुहुन्छ। आफै मात्रै जान्ने बन्नुहुन्छ।‘

यसरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारीबाटै तीव्र आलोचित हुन थालेपछि मन्त्री बस्नेतले आइतबार आकस्मिक रूपमा न्याम्सको सिनेट बैठक राखेका थिए। दशैंको मुखमा वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हचुवामा हटाएर आलोचित बनेका न्याम्सका सहकुलपति समेत हुन्।

बैठकले वीर अस्पतालका स्वास्थ्यकर्मी पदपूर्तिका लागि नयाँ दरबन्दी खोलेको छ भने सिनेट सदस्यको नियुक्ति गरेको छ। न्याम्सको सिनेट सहभागी एक सदस्यका अनुसार आकस्मिक रुपमा बोलाइएको आइतबारको सिनेटले सातौँ तहको ल्याब टेक्निसियनका लागि एउटा दरबन्दी सिर्जना गरेको छ भने ३० जना स्टाफ नर्स, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मी सहित गरेर ६३ वटा स्वास्थ्यकर्मीको पद सिर्जना गरेको छ।

स्वास्थ्यमन्त्री बस्नेतको अध्यक्षतामा बसेको आइतबारको न्याम्सको सिनेट बैठकले  तीनजना नयाँ सिनेट सदस्य थपिनुका साथै तीनजनालाई प्राज्ञिक परिषद्‌मा नियुक्त गरेको छ। थपिएका नयाँ सिनेट सदस्यमा पूर्व राजदूत प्रा.डा.चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दीपक सिग्देल छन्। त्यसैगरी प्राज्ञिक परिषद्‌मा प्रा.डा. अजित रायामाझी, प्रा.डा. दीपेन्द्र श्रेष्ठ र प्रा.डा. सरोज शर्मालाई नियुक्त गरिएको छ।

बैठकमा सहभागी ती सदस्यले भने‚ ‘एकैपटक धेरै स्वास्थ्यकर्मी निकालेर आलोचित बनेका वेला आकस्मिक रूपमा सिनेट बैठक राखेर नयाँ दरबन्दी सिर्जना गर्नु भएको छ। यो आलोचनाबाट बच्ने उपाय मात्रै हो।’

वीर अस्पतालमा मुलत नेपाल सरकार र प्रतिष्ठान गरी तरिकाले स्वास्थ्यकर्मी राख्ने गरिन्छ। विशेषगरी प्रतिष्ठान तर्फबाट स्वास्थ्यकर्मी तथा कर्मचारी राख्दा आफ्नो मान्छे घुसाउदै आइएको छ।

वीरमा प्रतिष्ठानतर्फकf स्थायी तथा अस्थायी गरी ५३५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। उनीहरूको तलबभत्ता वीरको आन्तरिक कमाइले दिनुपर्छ। नेपाल सरकार र प्रतिष्ठान दुबै थरिका गरी झण्डै १६ सयदेखि १७ सय छन्। उनीहरूको सेवा विस्तार भत्ता ५० प्रतिशत पनि वीरको आन्तरिक स्रोतबाटै दिने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.