|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले कार्यभार सम्हालेपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन भएको दाबी गर्दै आएका छन्। गत वैशाख २१ गते स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेकै दिन उनले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेर मात्रै मन्त्रालयबाट बाहिरिने बताएका थिए।

गत मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब ६ महिना मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाए स्वास्थ्य सेवामा ठूलै क्रान्ति गर्ने कुरा सार्वजनिक गरे।

पदभार ग्रहणलगत्तैस्वास्थ्यमन्त्री बस्नेतले ४ वटा निर्णय गरे। जसमा अस्पताल अनुगमन समिति गठन, स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारणको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृनिकाय समेतको सहभागिता जुटाई प्रभावकारी र विश्वसनीय बनाउने भन्ने लगायत थिए तर पछिल्लो समय मन्त्री बस्नेतले आफैंले गरेको निर्णयको खिल्ली उडाइरहेका छन्। 

मन्त्री बस्नेतले मन्त्रालय सम्हालेको दुई महिना बित्न नपाउँदै सरकारी अस्पतालका शय्या निःशुल्क बनाउने घोषणा गरे। नेपालको पुरानो र ठूलो अस्पताल वीर अस्पतालमा मात्रै उनले ७०० शय्या नि:शुल्क गराएको घोषणा गरे। साथै बिहान ८ बजेदेखि बहिरंग सेवा, विस्तारित इमरजेन्सी सेवा, नियमित शल्यक्रिया र आईसीयू सेवा विस्तार गरेको घोषणा गरे। 

यिनै मन्त्रीको निर्देशनले गर्दा अहिले वीर अस्पतालको सेवा अस्तव्यस्त भएको छ। यसकारण अस्पतालमा जाने बिरामीले दु:ख पाएका छन्। कोभिडको समयदेखि वीर अस्पतालले नियमित रूपमै २३ वटा आईसीयू सञ्चालन गरिरहेको थियो। अस्पतालले सेवा विस्तार गरेर ५९ शय्याको आईसीयू सञ्चालन गरिरहेको थियो। यसमा लागि करारमा नर्स लगायतका २०० भन्दा बढी स्वास्थ्यकर्मी थपिएका थिए। यी जनशक्तिले गर्दा नै वीरको सेवा विस्तार भएको थियो तर हाल आएर उनको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ।

मन्त्री बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्। 

मन्त्री बस्नेतले भनेका थिए‚ ‘वीर अस्पतालमा कोभिड–१९ को वेला राखिएका २ सय कर्मचारीलाई तलब दिन नसकेपछि निकालिएको छ। हिजो पनि म आउने वेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ–सयौं कर्मचारीलाई मैले त ९५ करोड भनेको थिएँ। अर्थ मन्त्रालयको १ अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ। प्रधानमन्त्रीको निर्देशनमा यो बाँड्ने काम भएको हो।’

मन्त्री बस्नेतले देशभरका सरकारी अस्पतालमा  ३ हजार ५२३  शय्या निःशुल्क गरेको हल्ला गर्ने गरेका छन्।  सरकारी अस्पतालमा अधिकांश शय्या पहिलेदेखि नै निःशुल्क थिए। शुल्क लिने शय्माया पनि एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म मात्रै तिर्नुपर्थ्यो। अधिक शुल्क रहेका विषयमा मन्त्रीको ध्यान जान सकेको छैन। वीर तथा अन्य सरकारी अस्पतालमा पुग्ने विरामीले शय्याको शुल्कभन्दा पनि प्रयोगशाला परीक्षण र एमआरआई सिटिस्क्यान जस्ता ठूला परीक्षणमा चर्को शुल्क तिर्नुपर्ने हुन्छ।

मन्त्री बस्नेले  २०८० वैशाख १२ गतेको मन्त्रिपरिषद्को बैठकले पास गरेको ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना’ पनि आफूले पास गरेको बताउँदै आएका छन्। स्मरण रहोस्‚ मन्त्रालयले लामो समय लगाएर तयार पारेको यो रणनीति मन्त्री बस्नेतले मन्त्रालयको जिम्मेवारी समाल्नुभन्दा एक सातापूर्व मन्त्रिपरिषद्को बैठकले पास गरेको हो।

मन्त्री बस्नेत २०८० वैशाख २० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन्। स्वास्थ्य वित्त रणनीतिमा पनि उनले आफ्नो विशेष पहल उल्लेख गरेका छन्। उक्त रणनीति ६ महिनाअघि नै तयार भएर क्याबिनेट पुगेको थियो। मन्त्री बस्नेत आउनुअघि नै मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएर सामाजिक समितिमा छलफलमा थियो। उनी आएको एक हप्तामा नै उक्त रणनीति क्याबिनेटबाट पास भएको थियो। 

बिमालाई गिजोल्दै

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रम यतिखेर कोमामा छ। विज्ञहरूले स्वास्थ्य बिमा सञ्चालनलाई नीतिगत रूपमै संशोधन गर्नुपर्ने बताइरहेका छन्। अन्यथा स्वास्थ्य बिमा असफल हुने बताएका छन्। यस्तो अवस्थामा बिमा बोर्ड सात महिनादेखि अध्यक्षविहीन छ। बोर्डका तत्कालीन अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले गत माघ २४ गते पदबाट राजीनामा दिएका थिए। ८ महिनादेखि उक्त पद खाली छ।

मन्त्री बस्नेतले भइरहेका  बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई ११ बुँदे स्पष्टीकरण सोधेका छन्।​ स्वास्थ्य बिमा बोर्ड स्वायत्त संस्था भए पनि यसले स्वास्थ्य मन्त्रालयको सहकार्यमा सेवा दिँदै आएको छ। पछिल्लो समय स्वास्थ्य बिमा बोर्डप्रति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अनुदार हुँदा बिमामार्फतको सेवा प्रभावित हुने अवस्थामा पुगेको हो। मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री बस्नेत हालका कार्यकारी निर्देशक डा. बसौलालाई हटाएर आफू अनुकूल व्यक्तिलाई बोर्डको निर्देशकमा नियुक्ति गर्न चाहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.