|

काठमाडौं : चारदिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्‌मा सम्बोधन गर्दै छन्।

महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको हो। 

प्रतिनिधिसभा नियमावलीअनुसार कुनै विदेशी राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाअनुसार सरकारको अनुरोधमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महासचिव गुटेरेसले आज नेपालको संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न लागेका हुन्। 

राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि अहिले संसद् भवन झकिझकाउ बनाइएको छ। महासचिव गुटेरेसले सम्बोधन गर्ने भएकाले सभामुख देवराज घिमिरेले सोमबार३ :४५ सम्म औपचारिक पोशाकमा संसद्‌मा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन दिएका छन्। गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तो स्विकार्दै आइतबार नेपालको ४ दिने भ्रमणमा आएका थिए। 

यसअघि सन् २००८ मा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए। संयोगले त्यसबेला पनि महासभामा भाग लिन जाँदा तत्कालीन प्रधानमन्त्री दाहालले नै मुनलाई निम्तो दिएका थिए। १५ वर्षपछि तेस्रोपटक प्रधानमन्त्री भएका दाहालले फेरि राष्ट्रसंघको महासभामै दिएको भ्रमणको निम्तोमा महासचिव गुटेरेस नेपाल आएका हुन्।

राष्ट्रसंघको महासचिवको नेपाल भ्रमण दोस्रोपटक भए पनि नेपालको संसद्‌मा सम्बोधन भने पहिलोपटक हुन लागेको हो। यसअघि नेपाल भ्रमणमा आएका तत्कालीन महासचिव मुनले संसद्लाई सम्बोधन गरेका थिएनन्। 

गुटेरेसको सम्बोधनलाई महत्त्वका साथ हेरिएको छ। उनको सम्बोधनमा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने, जलवायु परिवर्तनका असर लगायतका विषय प्राथमिकतामा रहेको बताइएको छ। विशेषगरी महासचिव गुटेरेसको सम्बोधनमा नेपालको शान्ति प्रक्रिया टुंग्याउने विषयमा अन्तरराष्ट्रिय समुदायका तर्फबाट महत्त्वपूर्ण प्रतिबद्धता आउने सरकारको अपेक्षा छ। 

नेपालको संसद्‌मा सम्बोधन गर्ने विदेशी भिआइपीहरू

संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संघीय संसद्लाई सम्बोधन गरेका थिए। 

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमणमा आएका मोदीले नेपालको सदनलाई सम्बोधन गरेका थिए। मोदीले राष्ट्र प्रमुखको रूपमा १९ साउन २०७१ मा सदनलाई सम्बोधन गरेका थिए। 

सहप्रवक्ता धमलाका अनुसार भारतीय लोकसभा अध्यक्ष डा. बलराम जाखरले पञ्चायतकालमा नेपालको संसद्लाई सम्बोधन गरेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायतको अवलोकन गर्न नेपाल आएका जाखर २०४५ साल भदौ २१ गते राष्ट्रिय पञ्चायत पुग्दा नारावाजी भएको थियो। राष्ट्रिय पञ्चायत सदस्य उमेशजंग थापाले ‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै थापाले नारा लगाएका थिए। नाराबाजीबीच जाखरले १२ मिनेट राष्ट्रिय पञ्चायतमा सम्बोधन गरेका थिए। 

धमलाले तत्कालीन जर्मन चान्सलर हेल्मुट कोलले पनि नेपालको सदनमा सम्बोधन गरेको जानकारी दिए। कोलले २०४४ असार ४ गते राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। उनका अनुसार त्यस वेला राष्ट्रिय पञ्चायतलाई सदन भन्ने गरिन्थ्यो। 

म्यान्माकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल पुरस्कार विजेता आङ सान सुकीले पनि नेपाल भ्रमणका क्रममा ल्होत्से हलमा सम्बोधन गरेकी थिइन्। उनले २०७१ जेठ ३० गते नेपाल भ्रमण गरेकी थिइन्।  

नोबल पुरस्कार विजेता कैलाश सत्यार्थीले पनि संसद्को ल्होत्से हलमा सम्बोधन गरेको धमलाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.