|

काठमाडौँ : सोमवार कर्णाली प्रदेश सरकारका कानूनमन्त्री कृष्णबहादुर जिसी जाजरकाेटका भूकम्पपीडितलाई भेट्न भेरी नगरपालिका-१ पुगे। ​भूकम्पपीडितलाई सान्त्वना दिन पुगेका मन्त्री जिसी पीडितहरूकै आक्रोशको घेराबन्दीमा परे। 

भूकम्पमा आफन्त र गासवास गुमाएका पीडितहरूले उनलाई सरकारले राहत नदिएको र दिए पनि पार्टीगत आधारमा बाँडेकाे भन्दै आक्राेशित बनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयाे।

भिडियाेमा मन्त्री जिसीलाई घेरेका महिलाहरूले पार्टीगतरूपमा विभेद गरेर राहत बाँडेको आरोप लगाएको देखिन्छ। उनीहरूले मन्त्रीसामु आधा किलो दाल र चामल बाँडेको भन्दै खान र बस्न गाह्रो भएको दुखेसो पाेखे।

मन्त्री केसीले ‘जे हुनु भइहाल्यो, सामान आउँदै छ। अब त्यस्तो हुँदैन’ भनेको सुनिन्छ तर पीडित महिलाहरूले निरन्तर उनीमाथि आक्रोश पोखेको देखिन्छ। एक महिला पछ्यौराले आँसु पुछ्दै उनीमाथि उर्लिएकी प्रष्ट देखिन्छ।

‘आर्थिक मामिला मन्त्री यहीँ छन्, पहिलाका गृहमन्त्री यहीँ छन्। यस्तो बेलामा पनि पार्टी छुट्याउने? कोहीलाई दोहोर्‍याएर राहत, कोहीलाई नदिने?’, उनकाे याे भनाइमा हाे,हाे मिसाउँदै अरू महिलाहरू पनि आक्राेशित बने।

मन्त्री जिसी प्रदेश सरकारले प्रत्यक्षरूपमा आफैँले राहत वितरण नगरेको भन्दै वडास्तरबाट राहत वितरण गर्दा भेदभाव भएको हुन सक्ने बताउँछन्। ‘प्रदेश सरकार आफैँले राहत बाँडेको छैन। स्थानीय तहको वडास्तरबाट वितरणको काम भइरहेको छ। त्यसक्रममा केही विभेद भएको हुनसक्छ, त्यसैले उहाँहरू आक्रोशित बन्नुभयो’, उनले भने। 

उनले सुरुमा करिब १० हजार घरपरिवार मात्रै भूकम्पबाट पीडित भएको आँकलन गरेर राहत मगाएको तर ४७ हजार परिवार प्रभावित बनेकाले राहत पर्याप्त नभएको बताए। स्थानीय तहसँग उपलब्ध राहत र पीडितहरूको संख्यामा ठूलो भिन्नता रहेकाले सबैलाई वितरण गर्न नसकेको उनले स्वीकारे। 

भूकम्पबाट प्रभावित विकट स्थानमा अझै पुग्न नसकेकाले पीडितहरूको संख्या बढ्न सक्ने उनको भनाइ छ। ‘गाडी नजाने विकट ठाउँहरूमा अझै पुग्न सकिएको छैन। त्यसैले पीडितहरूको संख्या बढ्न सक्छ’, उनले भने। मन्त्री जिसीले संघीय सरकारले हालसम्म १/२ हजार परिवारलाई मात्रै पुग्ने राहत पठाएको गुनासोसमेत गरे। उनले संघीय सरकारले राहत वितरणमा प्रदेश सरकार र स्थानीय सरकारसँग राम्रो समन्वय गरेको बताए। 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल पनि भूकम्प पीडितलाई भेट्न जाजरकोट पुगेका थिए। उनले जाजरकोटको जिल्ला अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि भेटे। राष्ट्रपति पौडेलसँग पनि पीडितहरूले एउटा त्रिपालबाहेक कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन्। 

सरकार र जाजरकोटको जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प प्रभावित क्षेत्रमा सोमवार राहत पुर्‍याएको दावी गरे पनि अधिकांश पीडितसम्म पुग्न सकेको छैन। शुक्रबार रातिको भूकम्पबाट जनधनको क्षति भएर विस्थापित भएकाहरू चिसाेमा खुला आकाशमुनि रात बिताइरहेका छन्। 

जाजरकोटको सदरमुकाम खलंगाबाट १ घण्टा दूरीको नलगाड नगरपालिकाकै अधिकांश वडामा राहत पुगेको छैन। नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत सोमबारबाट राहत बाँड्न सुरु गरेको बताउँछन्। 

नलगाड नगरपालिकाको करिब ४ हजार घरधुरी अहिले खुला आकाशलाई छानो बनाएर चिसो भुईंमा सुतिरहेका छन्। भूकम्पले घरबारविहीन बनाएको ४ दिनसम्म उनीहरूले राहतको महसुस गर्न पाएका छैनन्। 

मेयर रावतले हालसम्म नगरपालिकामा करिब ३ हजार ५०० हाराहारीमा मात्रै त्रिपाल,केही सय कम्बल र चामलका बोरा आएको बताए। ‘अहिले हामीले एक परिवारलाई एउटा त्रिपाल वितरण गरिरहेका छौँ। एक परिवारलाई कम्तिमा ४ वटा त्रिपाल चाहिने अवस्था छ तर पर्याप्त त्रिपाल उपलब्ध नहुँदा अहिले एउटा मात्रै वितरण गरिरहेका छौँ’, उनले भने। 

उनका अनुसार नगरपालिकाको १ नम्बर वडामा भूकम्पले बढी क्षति गरेको छ। सो वडा सबैभन्दा विकट वडा भएकाले सबैतिर राहत लिएर पुग्न नसकिएको उनले बताए। ‘१ नम्बर वडाको सबै क्षेत्रमा गाडी जाने बाटो छैन। कतिपय ठाउँमा घण्टौँ पैदल हिँडेर जानुपर्ने बाध्यता छ। त्यस्ता ठाउँमा अझै राहत पुग्न सकेको छैन’, उनले थपे ।  

सोही वडाका वडाध्यक्ष धनबहादुर महर भने राहत बाँडेर भ्याइनभ्याइ भइरहेको बताउँछन्। ‘सबैलाई पुग्ने गरी पर्याप्त राहत सामग्री आइनसके पनि हिजोदेखि हामीलाई राहत बाँडेर भ्याइनभ्याइ छ’,महरले भने। 

बारेकोट र कुशे गाउँपालिकामा पनि राहत नपाएको पीडितहरूले गुनासो गरेका छन्। जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले भने सोमवार दिउँसोसम्म झन्डै ७ हजार बढी त्रिपाल र ब्ल्याङ्केट पालिकातर्फ वितरण भइसकेको बताए। ‘हामी हिजोदेखि राहत वितरण गरिरहेका छौँ। अहिले पनि वितरणको काममा नै छौँ, उपलब्ध राहत सबै पीडितसम्म छिट्टै पुग्छ’, उनले भने। 

उनले सोमबार भेरी नगरपालिकामा १ हजार ९८४ ब्ल्याङ्केट, १ हजार ७७७ त्रिपाल, ९४२ बोरा चामल, ३५ थान डस्ना वितरण भएको जानकारी दिए। त्यस्तै नलगाड नगरपालिकामा ६४७ ब्ल्याङ्केट, ८०० त्रिपाल र ५०० बोरा चामल पुगेको बताए। जाजरकोटलाई केन्द्रबिन्दु पारेर शुक्रवार गएकाे भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने थप क्षतिको विवरण आउन बाँकी छ। 

गृह मन्त्रालयले हालसम्म जाजरकोट जिल्लामा ब्ल्याङ्केट तीन हजार ६५५ थान, कपडा एक हजार ५०० थान, डस्ना ३५ थान, सिरक ५४ थान, तन्ना ४२० थान, बेबी प्याक ७००, होम टेण्ट ४७ थान, त्रिपाल तीन हजार ४०९ थान, म्याट्रेस ५३६ थान, स्लिपिङ ब्याग ६२ थान, बाल्टिन ६६७ थान, सोलार एकसय ५३ थान, पानी शुद्धीकरणका लागि पीयुष २७४ वटा, घुम्ती शौचालय ५० वटा, हाइजिन किट २८४ थान र चामल ३० हजार ५५० के.जी., दाल ७९९ के.जी., खाने तेल २६२ कार्टुन, चिउरा १०२ बोरालगायतका विभिन्न प्रकारका सामग्री वितरण भइसकेको बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.