|

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सोमबार पार्टीको नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राजतन्त्र पुनःस्थापना गर्न नसकिने तर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिए। 

‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन। संघीयता र गणतन्त्रविरुद्धको कुनै गतिविधि स्वीकार्य हुँदैन। धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाले भनेका थिए। 

देउवाको यो अभिव्यक्तिले यति वेला राजनीतिकवृत्त तरंगित बनेको छ। कम बोल्ने र आफ्नै सुरमा काम गर्न रुचाउने नेताको चरित्र बनाएका देउवाले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता हटाएर हिन्दु राज्य पुनःस्थापना गर्ने अभिव्यक्ति दिएपछि नेपालको राजनीति रंगित बनेको हो। 

कांग्रेस अहिले नेपालको सबैभन्दा ठूलो पार्टी हो। सरकारको नेतृत्व नगरे पनि सत्तामा उसकै हालिमुहाली छ। कांग्रेसको एउटा समूह नयाँ संविधान जारी भएदेखि नै धर्मनिरपेक्षको पक्षमा नरहे पनि देउवा यस विषयमा मौन थिए। 

गत कात्तिक २१ गतेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको १२ बुँदे पक्षधरको बैठकमा भने उनले धर्मनिरपेक्षताको विषयमा फरक भनाइ राखे। ‘हामीले राजतन्त्र त्यागिसकेकाले अब त्यता फर्किंदैनौँ। हामी हिन्दु राज्यकै पक्षमा थियौं तर पछाडि धर्म निरपेक्षता स्विकार्‍यौं’, देउवाले भने। 

उनले आसन्न पार्टीको महासमिति बैठकमै हिन्दु धर्मलाई एजेन्डा बनाउन खोजिरहेको समेत बुझिएको छ। कांग्रेसभित्र संघीयता र धर्मनिरपेक्षताका मुद्दामा नेताहरूका विचारमा समानता छैन। त्यसैले केन्द्रीय समितिको बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीसम्मको मुद्दा उठ्दै आएको छ। महासमिति बैठकमा देउवाबाहेक अन्य केन्द्रीय सदस्यहरूले समेत उक्त मुद्दा उठाउने तयारी गरिरहेका छन्। 

अघिल्लो महासमितिको बैठकमा कांग्रेसका झण्डै आधा महासमिति सदस्यहरूले हिन्दु राष्ट्रलाई पार्टीको एजेण्डा बनाउन हस्ताक्षरसहित बैठकमा बुझाएका थिए। त्यसबारे देउवाले त्यति वेला छलफलै चलाएनन्।

यसअघि कांग्रेसभित्र सबैभन्दा पहिला खुमबहादुर खड्काले हिन्दु धर्मको मुद्दाको नेतृत्व गरेका थिए। खड्काको निधनपछि पार्टी बैठकहरूमा शशांक कोइराला र केन्द्रीय सदस्य शंकर भण्डारीसहितको एउटा समूहले निरन्तर हिन्दु धर्मको पक्षमा वकालत गर्दै आएको छ। 

संविधान निर्माणका वेला नेता शेखर कोइरालासमेत हिन्दु धर्मको पक्षपाती भएर खडा भएका थिए। राजनीतिक तहमा सहमति नजुटेपछि उनले संविधानसभामा हिन्दु राज्य राख्नुपर्ने भनेर संशोधन प्रस्तावसमेत दर्ता गराएका थिए। 

नेपालमा धर्मनिरपेक्षता लागु भएपछि यहाँ धर्मसम्बन्धी गतिविधि बढेका छन्। नेपाललाई हिन्दु राष्ट्र बनाउने विभिन्न प्रयास भइरहेको छ। अहिले देउवाले भारतीय जनता पार्टी (बीजेपी)को दबावमा हिन्दुराज्यको विषय उठाएको चर्चा छ। भारतलाई रिझाउन देउवाले हिन्दु राज्यको कार्ड फालेको केहीको भनाइ छ। 

हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेपाललाई हिन्दु राज्य बनाउन आवश्यक रहेको बताउँछन्। 

अमेरिका जस्तो विकसित मुलुकको समेत धार्मिक पहिचान रहेको भन्दै भण्डारीले नेपाललाई पनि हिन्दु राष्ट्रको पहिचान दिनुपर्ने बताए। ‘नेपाललाई हिन्दु राज्य बनाउने कुरा राजनीतिभन्दा माथिको कुरा हो। यो कसैको दबावमा होइन, नेपालको सुन्दर भविष्यको कल्पना गरेर गर्नुपर्ने काम हो’, भण्डारीले भने। 

नेपालमा हिन्दुराज्य पुनःस्थापना गराउने विषयमा देउवाले दिएको अभिव्यक्ति कसैको दबावमा नभएको उनको भनाइ छ। सभापति देउवाले नेपालको पहिचानसहितको भविष्यको कल्पना गरेर उक्त अभिव्यक्ति दिएको भण्डारीले बताए। 

उनले नेपालको संविधान निर्माणको क्रममा ८० प्रतिशत जनताले हिन्दु धर्मको पक्षमा मत जाहेर गरे पनि राजनीतिक सहमतिको दस्तावेजका लागि धर्मनिरपेक्ष राष्ट्र बनाउन कांग्रेस तयार भएको बताए। 

‘पहिला अरूको लहलहैमा लागेर नेपाललाई धर्म निरपेक्ष बनाएर ठूलो धोका खाइयो। अब सबै दलसँग बहस गरेर यसलाई पुनःस्थापना गराउनुपर्छ’, भण्डारीले भने।

देउवाले देशको भविष्यलाई आत्मसात गरेरै त्यो अभिव्यक्ति दिएको भण्डारीको दाबी छ। हिन्दु राष्ट्रलाई एजेण्डाको रूपमा प्रस्तुत नगरे अप्ठ्यारो पर्ने चेतावनीे केन्द्रीय समिति बैठकमा दिइसकेका भण्डारीले सभापति देउवाले यस मुद्दालाई महासमिति बैठकमा पेस गरे पारित हुने बताए। 

प्रचण्ड र ओलीको मन्दिरमोह

कांग्रेसमा मात्रै नभएर हिन्दु राष्ट्रको एजेण्डा अहिले एमाले र माओवादी केन्द्रमा पनि केही नेताहरूले उठाउन थालेका छन्। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला गतिविधि र भ्रमण समेत  मठमन्दिरतिर बढी केन्द्रित देखिन्छन्। 

कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका यी दुई नेतामा मन्दिरमोह बढ्दो छ। गत जेठमा प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री एनपी साउदलगायत अन्य मन्त्रीले भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले त्यहाँ पूजा गर्नुका साथै नेपालबाट लगिएको १०८ किलो रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ पनि चढाएका थिए। कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री त्यसरी पूजापाठमा सरिक हुँदा आलोचना भएको थियो। प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा मात्र होइन, चीन भ्रमणका क्रममा पनि मानसरोवर दर्शन गर्न पुगेका थिए।

ईश्वरका नाममा शपथ समेत नलिने कम्युनिष्ट प्रधानमन्त्री एमाले अध्यक्ष ओलीमा हिन्दु रुझान बढेको उनको पछिल्लो गतिविधिले देखाउँछ। 
ओली पशुपतिनाथको पूजा गर्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री समेत बनेका थिए। बहुदल स्थापनापछि कोही गैरकम्युनिष्ट कार्यकारी प्रमुख समेत पूजाकै लागि पशुपति गएका थिएनन् तर ओलीले भने पशुपति पुगेर पञ्चामृत पूजा, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ती बालेका थिए। 

राजनीतिक उद्देश्यका साथ जिल्लाहरूमा पुग्दा उनी सम्बन्धित जिल्लाका मन्दिर भ्रमण गर्न पुग्छन्। केही समयअघि एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा ओली पत्नी राधिकासहित देशका विभिन्न मठमन्दिर पुगेका थिए। 

त्यति वेला काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी पुगेका ओलीले अर्घाखाँचीको सुपादेउराली, अर्घा भगवती मन्दिर, गुल्मीको रेसुङ्गा मन्दिर र पाल्पाको सिद्धबाबा मन्दिर भ्रमण गरेका थिए। 

बुधबार मात्रै पनि ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीको दर्शन गरेका छन्। पार्टीले सुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’को उद्घाटनका लागि बुधबार बैतडी पुगेका अध्यक्ष ओलीले साँझ देहीमाडौंस्थित निङ्गलाशैनी भगवतीको दर्शन गरे।

वेला बखतमा रामको जन्म नेपालमै भएको लगायतका विभिन्न हिन्दु धर्मसँग सम्बन्धित अभिव्यक्ति दिने गरेका ओलीको पछिल्लो समयको भ्रमण मठमन्दिरतिरै केन्द्रित देखिन्छ। यसले ओली पनि धर्म निरपेक्षको मुद्दाबाट परिवर्तन हुन लागेका हुन् कि भन्ने आशंका बढ्दै गएको छ। 

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव देव गुरुङ नेपालको धर्मनिरपेक्षता हटाई हिन्दु राष्ट्र कायम गर्न सम्भव नरहेको बताउँछन्।

‘नेपालको संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेको छ। अब यो व्यवस्था हटाएर फेरि हिन्दु राज्य कायम गर्न सम्भव छैन। कांग्रेसको आफ्नो धारणा मात्रै होला’, गुरुङले भने।

उनले दलहरूबीचको सहमतिमा बनेको संविधानले गरेको व्यवस्था परिवर्तन गरेर पुरानै अवस्थामा फर्किनु उचित नहुने बताए। 

‘हालसम्म हिन्दु राज्यको विषयमा कुनै पनि दलले बोलेको छैन। सदनमा प्रस्ताव आएको छैन र यो संशोधनको सम्भावना पनि छैन। संविधान संशोधन गरेर यो व्यवस्था परिवर्तन गर्न दुई तिहाइ चाहिन्छ। यो कुनै पनि दलसँग छैन’, उनले थपे। 

गुरुङले अहिले हिन्दु राज्यको विषय उठाएर नेपाललाई धार्मिक द्वन्द्वमा फसाउन नहुने तर्क गरे। 

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भारतमा भाजपा शक्तिशाली हुँदासम्म नेपालको कम्युनिष्ट पार्टीहरू पनि हिन्दु धर्मप्रति कटिबद्ध रहने बताउँछन्। पछिल्लो समय कांग्रेसले बाटो बिराएको र कम्युनिष्टहरू विचलित बनेको उनको भनाइ छ। 

कांग्रेसले जनताको भावनात्मक समर्थन प्राप्त गर्न लागि हिन्दु राज्यको विषय उठाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.