|

काठमाडौं : अज्ञात संक्रमणका कारण निमोनिया संक्रमण बढ्न थालेपछि चीनमा सतर्कता अपनाउन थालिएको छ। यसबाट धेरै बालबालिका प्रभावित भएका छन्। 

चीनमा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । विरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोजेन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।

चीनको साङहाइ‚ पेकिङ जस्ता ठूला शहरमा एकैपटक बालबालिकामा निमोनिया फैलिई अस्पतालमा विरामीको चाप बढिरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

अज्ञात निमोनिया भाइरस संक्रमणले हो कि ब्याक्टेरियाको संक्रमणले हो भन्ने पत्ता लागेको छैन।

योसँगै छिमेकी भारतले समेत स्वास्थ्य संस्थालाई तयारी रहन र नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। यसअघि कोभिड १९ संक्रमण पनि यसैगरी फैलिएको भन्दै उक्त संक्रमणलाई चासो दिइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि यसमा चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट बूढाबूढी र बालबालिका बढी प्रभावित भएको भन्दै सचेत हुन आग्रह गरेको छ।

नेपाल सरकारले अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन। मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइको शुक्रबारको बैठकमा भने यो विषयमा छलफल भएको छ। एकाइका उपेन्द्र ढुङ्गानाले मन्त्रालयले हाल चीनमा फैलिएको उक्त संक्रमणको जोखिम कत्तिको छ भनेर आज छलफल गरेको बताए।

‘हामीले यो विषयमा औपचारिक सूचना नगरे पनि मन्त्रालयमा यो विषयमा छलफल भएको छ। अब एकदुई दिनमा चीनमा फैलदो संक्रमणको अवस्था हेरी सूचना निकाल्ने तयारीमा छौँ’‚ ढुङ्गानाले भने।

विज्ञ के भन्छन्?

चीनमा फैलिएको निमोनियाको कारक भाइरस हो कि ब्याक्टेरियाको संक्रमण भन्ने पुष्टि भइनसकेकाले डराइ हाल्नुपर्ने अवस्था नरहेको बताउँछन्‚ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला।  सतर्क भने रहनुपर्ने उनको भनाइ छ।

डा बाँस्तोलाले भने‚ ‘ब्याक्टेरियाका कारण संक्रमण फैलिएको रहेछ भने डराउनु पर्दैन तर संक्रमणको कारण र दर कति छ भनेर सतर्क रहनुपर्छ।’

यस्तै सामान्य अवस्थामा पनि चिसो मौसम सुरु भएको अहिलेको अवस्थामा भाइरल संक्रमण (रुघाखोकी, कोल्ड एलर्जी ) फैलने समय भएकाले सतर्क रहनुपर्ने उनको भनाइ छ। त्यसैले अहिलेको अवस्थामा रैथाने मौसमी फ्लुहरूबाट बच्न सकभर हात धुने, खोकी लाग्दा तथा हाच्छ्यूँ लाग्दा हातले छोपेर गर्ने, विरामी भएमा घरमै बस्नुपर्छ।

यस्तै दीर्घरोगी तथा ज्येष्ठ नागरिकले चिकित्सकको परामर्शमा मौसमी फ्लू तथा निमोनियाविरुद्धको खोप लगाउन सकिने डा. बाँस्तोलाले बताए। सकेसम्म तातो तथा झोलिलो खानेकुरा खानुपर्ने‚ न्यानो कपडा लगाउने र मास्क प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

चीनमा फैलिएको संक्रमणसँग अपडेट रहनुपर्ने बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन। ‘चीनमा फैलिएको अज्ञात निमोनिया हुनुको कारण पुष्टि भएको देखिदैन। त्यसमाथि बालबालिका उमेर समूहमा धेरै संक्रमण फैलिएको देखिन्छ’‚ डा. पुनले भने।

आक्रामक रूपले अज्ञात रोग फैलिइरहँदा भविष्यमा भयावह अवस्था आउन सक्ने भन्दै डा. पुनले सामान्य रूपमा देखिएका रूघाखोकी, ज्वरो जस्ता लक्षणलाई पनि बेवास्ता नगर्न आग्रह गरेका छन्।

‘अहिले मैले अध्ययन गरेअनुसार चीनका ठूला–ठूला अस्पतालमा दैनिक १२ देखि १५ सय विरामी भएको भन्ने कुरा आइरहेका छन्’‚ उनले भने‚ ‘यो रोगलाई नजरअन्दाज गर्न हुँदैन। कोभिड १९ संक्रमणको सुरुवाती समयमा पनि सामान्य मानिएको थियो तर पछि विश्वभर आतङ्क मचायो।’

चीनमा एकैपटक ठूलो संख्यामा आक्रामक रूपले यो रोग बढ्दा अन्य मुलुक पनि अछुतो नरहने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.