|

काठमाडौं : राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० जना सांसद फागुन २१ गते बाहिरिँदै छन्। रिक्त पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ।

यसरी कार्यकाल सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका एक,  स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक सदस्य छन्।

निर्वाचनबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट ३, दलित २, महिला ७ र अन्य ७ जना निर्वाचित हुनेछन्। यीमध्ये कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २–२ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ जना र बागमतीबाट ४ जना निर्वाचित हुनेछन्। 

गठबन्धनको पल्लाभारी, शून्य हुनसक्छ एमाले

यो निर्वाचनमा ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी १ हजार ५०६ जना मतदाताले मतदान गर्नेछन्। योपटक प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।

केन्द्रमा जस्तै सातवटै प्रदेशमा अहिले कांग्रेस–माओवादी गठबन्धनको सरकार छ, स्थानीय तहमा पनि सत्ता गठबन्धनकै दलहरू हाबी भएकाले उनीहरू मिलेर चुनाव लडे राष्ट्रियसभा निर्वाचन एमालेका लागि अनुकूल नहुने देखिएको छ।

अहिलेकै गठबन्धनबमोजिम दलहरू चुनावमा गए एमालेले सबै सिट गुमाउने देखिएको हो। सत्ता गठबन्धन दलहरू एक ढिक्का भएर चुनावमा गए भने २० सिट मध्ये एमालेलाई एक सिट जित्न पनि मुश्किल पर्ने देखिन्छ।

कोशी प्रदेश

१३७ स्थानीय तहका २७४ र प्रदेशसभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन्। कोशी प्रदेशसभामा एमाले सबभन्दा ठूलो दल छ। प्रदेशमा एमालेका ४० कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेश सांसद छन्।

पालिका प्रमुख र उपप्रमुखमा एमालेका क्रमशः ४७ र ६३ गरेर ११० जना छन्। कांग्रेसका प्रमुख ६९ र उपप्रमुख ४६ गरेर ११५ तथा माओवादी केन्द्रको प्रमुख १२ र उपप्रमुख १९ गरेर ३१ जना छन्। जसको कुल मतभार ९ हजार ६२२ हुन्छ।

त्यसमध्ये एमालेसँग चार हजार २१० मतभार छ भने गठबन्धन दलहरू (कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपा)सँग पाँच हजार ४७४ मतभार छ। मतदानमा मतहरू यताउता नभएको अवस्थामा गठबन्धनले सबै सिट जित्नेछ।

मधेश प्रदेश

१३६ स्थानीय तहका २७२ र प्रदेशसभा सदस्य १०७ गरी ३७९ मतदाता हुनेछन्। प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १५, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादीका ८, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १-१ प्रदेश सांसद छन्। ६ जना स्वतन्त्र प्रदेशसभा सदस्य पनि छन्। हालकै अवस्थामा एमालेसँग दुई हजार ३०२ र सत्ता गठबन्धनसँग ७ हजार ९४६ मतभार छ।

बागमती प्रदेश

११९ स्थानीय तहका २३८ र प्रदेशसभा सदस्य ११० गरी ३४८ मतदाता रहेका छन्। प्रदेशसभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ। एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७, राप्रपा १३, नेमकिपाका ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन्।

स्थानीय तहतर्फ कांग्रेसका १०८, एमालेका ६०, माओवादीका ५७ प्रमुख‚ उपप्रमुख छन्। कांग्रेससहितको गठबन्धनसँग ६ हजार ७५१ र एमालेसँग २ हजार ५७२ मतभार छ। यसरी एमालेको तुलनामा गठबन्धन चार हजार १८० मतभारले अगाडि छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र प्रदेशसभा सदस्य ६० गरी २३० मतदाता छन्। जसमा कांग्रेस २७, एमालेका २२, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी र राप्रपाका १‚१ प्रदेश सांसद छन्।

स्थानीय तहतर्फ कांग्रेसका ६७‚ एमालेका ६८ जना छन्। माओवादी केन्द्रका ३० जना छन्।

लुम्बिनी प्रदेश

१०९ स्थानीय तहका २१८ र प्रदेशसभा सदस्य ८७ गरी कुल ३०५ मतदाता छन्। प्रदेश सभामा २९ सांसदसहित एमाले सबैभन्दा ठूलो दल छ। नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४‚४ जना, जनमत पार्टी, जसपा र लोकतान्त्रिक समाजवादी पार्टीका ३‚३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र तीनजना स्वतन्त्र सांसद छन्।

यसैगरी स्थानीय तहतर्फ कांग्रेसले ४८ पालिका प्रमुख र ४४ उपप्रमुख जितेको छ भने एमालेले क्रमशः २७ र ४० तथा माओवादीले २५ र १५ जितेको छ। यो प्रदेशमा एमालेभन्दा गठबन्धनसँग दुई हजार ६६७ मतभार बढी छ।

कर्णाली प्रदेश

यहाँ एमालेसँग एक हजार ५३७ र गठबन्धनसँग तीन हजार ७०७ मतभार छ।

सुदूरपश्चिम प्रदेश

यो  प्रदेशमा गठबन्धनसँग चार हजार ५१० र एमालेसँग एक हजार ४८० मतभार छ।

यसरी गठबन्धन कायमै रहे एमाले शून्य हुने स्थिति देखिन्छ।


बिदा हुन थालेका सांसदहरू

कांग्रेस- अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी

एमाले- इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई

माओवादी केन्द्र - विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी

एकीकृत समाजवादी- नन्दा चपाईं र सिङ्गबहादुर विश्वकर्मा

जसपा- प्रमिला कुमारी

-डा. खिमलाल देवकोटा र डा. विमला पौड्याल

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.