|

काठमाडौँ : नेपाली कांग्रेसलाई लामो समयदेखि गुट–उपगुटको विवादले गिजोलिरहेको छ। 

नेतृत्वको अकर्मण्यता र अन्य नेता कार्यकर्ताको मनपर्दी विभिन्न विवादले गिजोलिँदै आएको कांग्रेसमा पछिल्लो समय नेताहरूबीच गुटगतदेखि व्यक्तिगतसम्मको विवाद सतहमा आउन थालेको छ। 

कांग्रेसमा विवाद कतिसम्म उत्कर्षमा पुगेको छ भन्ने कुरा कांग्रेस नवलपरासीको कार्यक्रम र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रमले पुष्टि गर्छ। पार्टी नेतृत्वको काम र गुटगत विवादमा रुमलिरहेको कांग्रेसमा पछिल्लो समय व्यक्तिगत विवादले पनि स्थान पाउँदै गएको छ। 

उत्कर्षमा खड्का–महत विवाद

कांग्रेस उपसभापति समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतबीच पुरानै विवाद छ। 

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने कि प्रचण्डलाई प्रधानमन्त्री दिने विषयबाट सुरु भएको खड्का–महतको विवाद यति वेला उत्कर्षमा पुगेको छ। 

यी दुईबीचको विवाद कतिसम्म चुलिएको छ भन्ने कुरा गत शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिकोत्सव कार्यक्रममा छताछुल्ल भएको छ। सो कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री खड्का उपस्थित भएकै कारण अर्थमन्त्री महत अनुपस्थित भए। 

सेजनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेको थियो तर प्रधानमन्त्री देशबाहिर भएकाले सेजनले कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री महतलाई बनाउने पक्का गरेको थियो। 

महतको सचिवालयले सोही कार्यक्रमका कारण बिहानका अरू बैठक तथा भेटघाट राखेको थिएन तर कार्यवाहक प्रधानमन्त्री खड्काले एक्कासी सेजन अध्यक्ष सुजन ओलीलाई फोन गरी कार्यक्रममा आफू आउन लागेको जानकारी गराए। 

खड्का कार्यक्रममा उपस्थित हुने जानकारी पाएपछि अर्थमन्त्री महतले आफू कार्यक्रममा उपस्थित नहुने बताए। कार्यक्रमको प्रमुख अतिथि आफूलाई बनाए मात्रै आउने शर्त राखेका उनी खड्कासँग मञ्च शेयर गर्न नसकेको कारण कार्यक्रममा अनुपस्थित भए। 

खड्का र महतबीच मनमुटावको शृंखला देउवाको नेतृत्वमा सरकार बनाउने कि प्रचण्डलाई प्रधानमन्त्री दिने भन्ने वेलादेखिको मात्रै पनि होइन। कांग्रेसमा देउवाको गुटमा पनि खड्का, बालकृष्ण खाँण लगायतको एउटा उपगुट छ भने डा. आरजु देउवा नेतृत्वको अर्को उपगुटमा महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायत छन्। पार्टीभित्र पनि छुट्टाछुट्टै गुट–उपगुटमा रहेका उनीहरूबीचको विवाद वर्तमान सरकारमा मन्त्रीको भागबण्डाका वेला पनि देखिएको थियो। 

उनीहरूको व्यक्तिगत विवाद अर्थ र रक्षा मन्त्रालयमा समेत देखिने गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार रक्षा मन्त्रालयबाट माग भएका कार्यक्रम तथा बजेटमा अर्थमन्त्री महतले रुचि नै देखाउने गरेका छैनन्। 

खड्कासँगको आफ्नो व्यक्तिगत विवादकै कारण महतले रक्षा मन्त्रालयको फाइल नै रोक्दिनेसम्म गरेको स्रोतको दावी छ। यसरी दुईजनाबीचको व्यक्तिगत विवाद उत्कर्षमा पुग्दा त्यसको असर मन्त्रालयको काम र सरकारमै पर्न गएको छ। 

महतले रक्षा मन्त्रालयको फाइल अड्काएपछि गत महिना खड्काले महतलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा दुईबीच भनाभन भएको स्रोत बताउँछ। जसकारण महतले खड्कासँग मञ्च शेयर गर्न नमानेको हुनसक्ने आँकलन गरिएको छ। 

कार्यक्रम नै बहिष्कार

गत शुक्रबार भएको कांग्रेसको नवलपरासी जिल्ला सम्मेलन उद्घाटन गर्न नेता शेखर कोइराला पुगेका थिए तर सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य लगायतले सम्मेलन नै बहिष्कार गरे। 

पार्टी विधानअनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भए पनि ती सम्मेलन नगरी जिल्ला सम्मेलन गरिएको भन्दै विवाद भएको थियो। विवाद भएपछि कोइरालाले सम्मेलनअघि विवाद मिलाउने प्रयास पनि गरेका थिए। 

‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ। यी कुरा म केन्द्रमा राख्छु। कांग्रेस एउटै पार्टी हो। केन्द्रले केन्द्रीय सदस्यलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो। यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारीलाई पठाउला। कोही नआए म आफैं आएर पनि यहाँको समस्या सल्टाउँछु’, कोइरालाले सम्मेलन सुरु हुनुअघि भनेका थिए। 

कोइरालाले असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का रहेको सन्देश दिन आग्रह गरेका थिए। उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए तर असन्तुष्ट पक्षले विधानविपरीत आयोजना गरिएको सम्मेलन भन्दै सहभागी हुन नसकिने बताएका थियो।

कांग्रेसका १६ जना नेता, कार्यकर्ताले ३ बुँदे जानकारीसहित केन्द्रीय कार्यालयमा पत्रसमेत पठाएका थिए। उक्त पत्रमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र विनोद चौधरीसँग सम्मेलनबारे कुनै सल्लाह तथा समन्वय नगरेको र निम्तोसमेत नगरिएको उल्लेख छ। कँडेल र चौधरी सभापति देउवानिकट छन्।​

जिल्लास्थित भ्रातृ संघसंस्थाका प्रमुखहरूलाई पनि सम्मेलनमा नबोलाइएको र जिल्ला सम्मेलनअघि मातहत पार्टीका विभिन्न तहको सम्मेलन नगरिएको केन्द्रलाई पठाइएको पत्रमा उल्लेख छ।

यसअघि कोइराला उपस्थित कांग्रेस धादिङ सम्मेलन पनि सभापति देउवा र महामन्त्री गगन थापा पक्षका नेताहरूले बहिष्कार गरेका थिए। कात्तिक १८ गते भएको सम्मेलनमा केन्द्रीय सदस्य दिलमान पाख्रिन, भीम ढुंगाना‚ रमेश धमलालगायत अनुपस्थित थिए।

शेखर–गगनबीच बढ्दै दूरी

​कुनै समय शेखर कोइराला र गगन थापा कांग्रेसभित्रै सशक्त प्रतिपक्षीको रूपमा चिनिन्थे। पार्टी नेतृत्वको मनमौजीविरुद्ध एकैसाथ सशक्त रुपमा उभिने गरेका यी दुईबीचको दूरी पछिल्लो समय बढ्दो अवस्थामा छ। 

शेखर–गगनबीच बढ्दो दूरीले कांग्रेसभित्रको प्रतिपक्ष धार कमजोर बन्दै गएको छ। नेतृत्वलाई खबरदारी गर्नुपर्ने संस्थापन इतरपक्ष दुई नेताबीच दूरी बढ्दा सभापति शेरबहादुर देउवाको ‘मनमौजी’ बढेको मात्रै छैन, पार्टीभित्र विकृति पनि बढिरहेको छ। 

जनतामा पुराना दलप्रति असन्तुष्टि चुलिदै गइरहेका वेला पार्टीलाई एकढिक्का बनाएर सरकारमा प्रभावकारी भूमिका खेल्ने र पार्टीलाई सशक्त बनाउनेतिर लाग्नुको साटो पार्टीभित्रै एक–अर्काबीच विवाद र दूरी बढाउँदै लैजाँदा पार्टीलाई नै घाटा भइरहेको छ। 

आशा गरिएका युवा नेताको छवि बनाएका थापाले शेखरसँग दूरी बढाएसँगै उनको आवाज पनि पार्टीभित्रै दबिन थालेको छ। 

पार्टीको आन्तरिक मामला र राष्ट्रिय राजनीतिमा समेत एकै एजेन्डा बोकेका यी दुई नेताबीच पछिल्लो समय कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएदेखि नै संवादहीनको स्थिति छ। केन्द्रीय सत्ता गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए। 

पार्टीबाटै विद्रोह गरेर उनी मुख्यमन्त्री भएपछि थापा कोइरालासँग चिढिएका थिए। थापासँग छलफल नगरी एकल रूपमा कोइरालाले एमालेको समर्थन जुटाएर कार्कीलाई मुख्यमन्त्री बनाएदेखि उनको थापासँगको दूरी बढेको स्रोत बताउँछ। 

यी दुईबीच संसदीय दलको निर्वाचनको परिणामदेखि नै अविश्वास शुरु भएको थियो। दलको नेताको निर्वाचनमा कोइराला निकट रहेकै सांसदले आफूलाई मत नदिएको, संघ र प्रदेशमा मन्त्री नियुक्तिमा परामर्श नगरिएको, पार्टी सभापतिसँगको आन्तरिक संघर्षमा साथ नपाएको जस्ता गुनासो थापाले गर्दै आएका छन् भने थापाका गतिविधिप्रति कोइराला सशंकित रहँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.