|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि महासमिति बैठक सार्ने तयारी गरेका छन्। ​

देउवाले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका हुन्। स्रोतका अनुसार देउवाले जाडो र राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कारण देखाएर महासमिति बैठक सार्न खोजिरहेका छन्। 

नीति महाधिवेशनको समेत काम गर्नेगरी कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने पहिलो मिति तोकेको थियो। त्यसपछि बैठकको मिति सारेर मंसिर २९ देखि पुस २ लाई तोकिएको बैठक पनि पुस १६ देखि १९ गतेलाई सारिएको थियो। 

तर पुसमा तय भएको महासमिति बैठक पनि सार्न देउवाले जोडबल गरिरहेको कांग्रेसका एक पदाधिकारी बताउँछन्। देउवाले फागुनसम्म महासमिति बैठक सार्ने तयारी गरिरहेका छन्। 

गत साता धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौँ आउन गाह्रो हुने भन्दै देउवाले बैठक सार्न प्रस्ताव गरेका थिए। बैठकमा सहभागी अधिकांश नेताहरूले त्यही बेला उनको प्रस्तावमा सहमति जनाए पनि महामन्त्री गगन थापाले सार्न नहुने अडान राखेका थिए।

यसअघि दुई पटक बैठक सारिसकेको कांग्रेसले अहिले बैठकको लागि गोदावरीमा हल बुक गरिसकेको अवस्थामा फेरि बैठक सार्न सभापति देउवाले नै जोडबल गरिरहेका छन्। महासमिति बैठकबारे छलफलका लागि देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकसमेत बोलाएका छन्। 

स्रोतका अनुसार आगामी शुक्रवार बस्ने बैठकमा देउवाले १६ देखि १९ पुससम्मका लागि तय भएको महासमिति बैठकको मिति सार्ने प्रस्ताव लैजाने तयारी गरेका छन्।

मध्य पुसमा ठण्डी बढ्ने र माघमा राष्ट्रियसभाको निर्वाचनमा ध्यानकेन्द्रित गर्नुपर्ने भएकाले फागुनका लागि महासमिति बैठकको मिति प्रस्ताव गर्नसक्ने नेताहरूको भनाइ छ।

महाधिवेशन भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने गरी कांग्रेसले २ वर्षअघि केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गरेको थियो। तर ०७८ मंसिरमा दोस्रो कार्यकालका लागि पार्टी सभापति चुनिएका देउवाले हालसम्म न नीति महाधिवेशन डाकेका छन्, न त महासमिति बैठक नै राख्न तत्परता देखाएका छन्। 

तेस्रो पटक सारिएको मितिमा पनि महासमिति बैठक राख्नुको सट्टा जाडो र राष्ट्रियसभा सदस्य निर्वाचनलाई कारण देखाएर बैठक सार्ने रणनीतिमा देउवा लागेका छन्।

देउवाले जाडो र राष्ट्रियसभाको निर्वाचनलाई देखाएर बैठक सार्ने तयारी गरे पनि बैठकमा वर्तमान सत्ताविरुद्ध उठ्न सक्ने आवाजसँग त्रसित भएर बैठक सार्न खोजेको उनीनिकट स्रोत बताउँछ। 

यसअघि पार्टीको पदाधिकारी बैठकदेखि केन्द्रीय समिति बैठकमा समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनुपर्ने र ०८४ सालमा गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जान सक्नेगरी अगाडि बढ्नुपर्ने आवाज उठिसकेको छ। 

ती कुराहरु महासमिति बैठकमा पनि उठ्ने र पारित नै गर्नुपर्ने स्थिति आउनसक्ने भयले बैठक नै सार्ने तयारीमा देउवा लागेको स्रोतको दावी छ।

‘पुसमा महासमिति बैठक हुँदा बैठकले अबदेखि चुनावी गठबन्धन नहुने भनेर नीतिगत विचार पारित गरेमा त्यसले कम्युनिस्ट एकतालाई बल पुर्‍याउन सक्छ। प्रचण्डलाई चिढाउने खालका कुरा आए सत्ता पनि हातबाट फुस्किन्छ र माघ ११ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा नै प्रभाव पर्न सक्छ भन्ने भयमा सभापति हुनुहुन्छ’, देउवानिकट स्रोतले भन्यो। 

रणनीतिक योजना बनाउँदै इतर पक्ष

​देउवाले फेरि पार्टी पुरानै ढंगबाट अघि बढाउन खोजेपछि इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले आफूनिकट नेताहरूको बैठक राखेका छन्। सभापति देउवाले तेस्रो पटक पनि बैठक सार्न खोजेपछि रणनीतिक योजना बनाउने तयारीसहित कोइरालाले बैठक बोलाएका हुन्। 

कोइरालाले मंगलवार दिउँसो १ बजेका लागि आफ्नो पक्षको बैठक बोलाएका थिए। आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल गर्न बोलाएको बैठकमा महामन्त्री गगन थापा आउन नभ्याउने भएपछि कोइरालाले बैठक नै सारेका छन्। 

थापाले मंगलवारका लागि बारामा आफ्नो निर्धारित कार्यक्रम रहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने बताएपछि कोइरालाले इतर पक्षको बैठक बुधवारलाई सारेका हुन्। इतर पक्षको बैठक एकदिन सारेसँगै केही समयदेखि चिसिएको कोइराला–थापाको सम्बन्ध सुध्रिने प्रयासमा रहेको देखिन्छ। 

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा रहेका नेता कोइराला र महामन्त्री थापाको सम्बन्ध यति बेला सुमधर छैन। केन्द्र र प्रदेशको मन्त्री छनोटमा पनि नेता कोइराला र महामन्त्री थापाबीच विवाद देखिएको थियो।

नेता कोइरालाले सभापति शेरबहादुर देउवासँग समूहगतभन्दा पनि व्यत्तिगत डिल गरिरहेको आरोप थापाको थियो। कोइरालाले कोशी प्रदेशमा पार्टीमा विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि यी दुईबीचको दूरी अझ बढेको थियो। 

शेखर–गगनबीच दूरी बढ्नुले कांग्रेसभित्रको प्रतिपक्षी धार कमजोर बन्दै गएको टिप्पणी भइरहेको छ। नेतृत्वलाई खबरदारी गर्नुपर्ने इतर पक्षका दुई नेताबीच दूरी बढ्दा सभापति देउवाको ‘मनमौजी’ बढेको मात्रै छैन, पार्टीभित्र विकृति पनि बढिरहेको छ। 

जनतामा पुराना दलप्रति असन्तुष्टि चुलिँदै गइरहेका बेला पार्टीलाई एकढिक्का बनाएर सरकारमा प्रभावकारी भूमिका खेल्ने र पार्टीलाई सशक्त बनाउनेतिर लाग्नुको साटो पार्टीभित्रै एक–अर्काबीच विवाद र दूरी बढाउँदै लैजाँदा पार्टीलाई नै घाटा भइरहेको छ। 

आशा गरिएका युवा नेताको छवि बनाएका थापाले शेखरसँग दूरी बढाएसँगै उनको आवाज पनि पार्टीभित्रै दबिन थालेको थियो। थापा र कोइरालाले छुट्टाछुट्टै उभिएर कुरा राख्दा पार्टीमा सुनुवाइ नभएको गुनासोसमेत थियो। 

तर थापाकै लागि कोइरालाले इतर पक्षको बैठक एकदिन पर धकेलेसँगै उनीहरुबीच सम्बन्ध सुधारको संकेत देखिएको छ। कार्यशैलीगत विषयमा कटुता भए पनि कोइराला, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहित इतरपक्षीय नेताको एजेन्डामा भने फरक मत छैन।

कोइराला, थापा र शर्माले सार्वजनिक तहबाटै चुनावी गठबन्धन र सरकारको प्रभावकारितामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्। 

महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत इतर समूहमा जोड्न कोइरालामाथि दबाब दिँदै आएका थिए। तर कोइरालाले भने बुधवारको बैठकमा उनीहरुलाई डाकेका छैनन्।   

कोइरालाले असोज २ गतेको बैठकमा शर्मा र पौडेललाई समेत डाकेका थिए। आफूसँग आन्तरिक परामर्श नगरी एकैचोटी बैठकमा बोलाएको भन्दै शर्मा गएनन् भने पौडेल पनि अनुपस्थित रहे। 

महामन्त्री शर्मा १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर विजयी भएका थिए। तर पछिल्लो समय भने उनको निटकता अर्का महामन्त्री थापासँग बढी छ। शर्माले पार्टीको संसदीय दलको निर्वाचनमा थापालाई सघाएका थिए।

१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाटै महामन्त्रीको उम्मेदवार बनेका पौडेल महाधिवशेनमा पराजित भएपछि भने देउवा र सिटौला दुवैको साथमा छैनन्।  संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको समर्थक बनेका पौडेल त्यसयता थापानिकट रहँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.