|

काठमाडौं : ​

घटना- १ 

परिवर्तित नाम बबरमहल १८९ लाई चिनजानकै चिनियाँ नागरिकले थाइल्याण्डमा कम्प्युटर टाइप गर्ने काममा १ लाख ५० हजार रूपैयाँ तलब हुने प्रलोभन देखाए। उनले आफ्नी बहिनी (परिवर्तित नाम १९० )सहित आफू पनि विदेश जाने निधो गरिन्। उनले चिनियाँ नागरिकलाई फोटो र राहदानी बुझाएको ३ महिनापछि बहिनीको मात्रै भिसा आयो। 

एक लाख रूपैयाँ बुझाएर बहिनीलाई विदेश उडाएकी उनको पनि केही समयमा भिसा आयो। अन्ततः चिनियाँ नागरिकले २०७९ साउन ९ गते उनीसहित ११ जनालाई थाइल्याण्ड उडाए। थाइल्याण्ड पुगेपछि करिब २८ वर्षका चिनियाँ युवक आए र उनले सबैको मोबाइल फर्म्याट गरिदिए।

गाडीमा १३ घण्टा र करिब १५ मिनेट डुंगाको यात्रापछि उनीहरूलाई एक चिनियाँ कम्पनीमा पुर्‍याइयो। त्यहाँ पुगेपछि अर्का चिनियाँ युवकले सक्कल राहदानी, मोबाइलसमेत जफत गरी म्यानमा आइपुगेको जानकारी दिए।

त्यसपछि उनी म्यानमाको कम्पनीमा अनलाइनमार्फत अरूलाई ठगी गर्न बाध्य बनिन्। कम्पनीले भने अनुसारको काम नगरे ज्यानै मार्नेसम्मको धम्की दिन्थ्यो। उनले आफ्नी बहिनीलाई बोलाइदिन पटक पटक आग्रह गर्दासमेत वेबास्ता गरेपछि स्वदेश फर्काईदिन आग्रह गरिन् तर कम्पनीले उनीसँग ७५ हजार रूपैयाँ फिरौती माग्यो। 

उनी फिरौती तिरेर गत वर्ष भदौ ६ गते नै स्वदेश त फर्किइन्, तर तस्कर गिरोहले उनको बहिनीलाई प्रयोग गरेर उनलाई फेरि म्यानमा फर्किन धम्की दिन थाले।उनले आफ्नी बहिनीको उद्धार गरिदिनसमेत प्रहरीसमक्ष माग राखेकी छन्। दुई दिदीबहीनीलाई म्यानमा पुर्याउने चिनियाँ नागरिक अहिले पुर्पक्षका लागि थुनामा रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

घटना - २

मोरङका २१ वर्षका एक युवा (परिवर्तित नाम विनोद) भिजिट भिसामा विदेश उडे। र, आठ महिनापछि १२ लाख फिरौती तिरेर स्वदेश फर्किए। विनोदलाई मानव तस्करको गिरोहले गत वर्ष मंसिर ३ गते भिजिट भिसामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको कोलकाता र थाइल्याण्ड हुँदै म्यानमारको यंगोन पुर्याइएको थियो। तर, आफू मानव तस्करको पासोमा परेको बारे उनी अनभिज्ञ थिए। 

विदेश उड्नुभन्दा एक महिना अगाडि विनोदको  आफ्नी फुपूमार्फत काठमाडौं कागेश्वरी मनोहराका ४५ वर्षीय दिनेश कुमार पुडासैनीसँग चिनजान भएको थियो। स्वदेशमा बेरोजगार रहेका विनोद रोजगारीको खोजीमा थिए। पुडासैनीले थाइल्याण्डको एक कम्पनीमा कम्प्युटरमार्फत मार्केटिङ गर्नुपर्ने, दिनमा १० घण्टा काम गर्ने र मासिक तलब १ हजार डलर अर्थात् १ लाख ३० हजार रुपैयाँ हुने विश्वासमा पारे।

त्यति मात्रै होइन पुडासैनीले धेरै नेपालीहरूले समेत त्यहाँ काम गरिरहेको र भनेजस्तै पैसा कमाउन सफल भएको २१ वर्षका विनोदलाई विश्वस्त पारे। फुपूमार्फत चिनजानको पुडासैनीमाथि ती युवा र उनका काकाले भरोसा गरे। दुवै काका भतिजले पुडासैनीलाई विदेश जाने प्रक्रियाका लागि फोटो र राहदानी बुझाए। त्यसको चार दिनपछि नै पुडासैनीले विनोद र उनका काकालाई जनही २ लाख रूपैयाँका दरले रागभ पुडासैनी नाम गरेका व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाए।

पैसा जम्मा गरेका दुई दिनमै भिसाा आएको जानकारी पाएपछि विनोद र उनका काका सुनौलो भविष्यको सपना बोकेर पुडासैनीले भनेअनुसारको काम गर्दै गए।विदेश उड्ने दिन २०७९ मंसिर ३ गते पुडासैनी आफैं विनोद, उनका काका र अन्य पाँच जनालाई विमानस्थलसम्मै छाड्न पुगेका थिए। विमानस्थलबाटै उनले थाइल्याण्डमै काम गर्दै गरेका मान्छे हुन् भनेर दिवस रेग्मी र रञ्जिता मगरसँग ह्वाट्स एप मार्फत कुराकानी गराइदिएका थिए।

भिडियो कलमार्फत रेग्मी र मगरले समेत काम धेरै सजिलो, धेरै नेपाली रहेका र भने अनुसारकै काम छ भनेर विश्वास दिलाएका थिए। तर पुडासैनीले आवश्यक कागजात दिएर भारतको कोलकाता, थाइल्याण्ड हुँदै म्यानमाको एक होटलमा पुयाए। यंगोनस्थित होटलमा एक रात बन्धक जस्तै राखेर उनीहरूलाई भोलिपल्ट बिहानै एक चाइनिज नागरिकले रिसिभ गरे र १४ घण्टा लगाएर म्यानमाको यंगोनभन्दा ३ किलो मिटर टाढा एक कम्पनीमा पुर्‍याए।

यति हुँदा पनि उनीहरूले आफू ठगिएको महुस गरेका थिएनन्। उनीहरूलाई एक साताको कम्प्युटर तालिम दिँदा अनलाइन स्क्याम गर्न सिकाइयो। धनी मान्छे र व्यापारीहरूबाट कसरी पैसा ठगी गर्न सकिन्छ भन्ने तालिम कम्पनीले दिन थालेपछि भने बल्ल उनीहरू झसंग भए।

थप बुझ्ने क्रममा गैरकानुनी काम लगाइएको थाहा पाएपछि विनोदसहित कम्पनीमा पुगेका टोलीले ठगीको काम गर्न अस्वीकार गरे। तर, कम्पनीले उनीहरूलाई शारीरिक र मानसिक यातना दिन थाल्यो। 

कम्पनीले आफ्नो देश फिर्ता जाने हो भने १० लाख रूपैयाँ फिरौती तिरेर जान, नभए अनलाइन ठगीकै काम गर्न भन्दै दिनहुँ शारीरिक यातना दिन थालेपछि उनले कम्पनीलाई गुहार गरेर परिवारमा सम्पर्क गरे। 

पहिलो १० लाख रूपैयाँ फिरौती मागेको कम्पनीले यो पटक मागेको १२ लाख रूपैयाँ तिरे र २०८० असार २६ गते विनोद स्वदेश फर्कन सफल भए। स्वदेश फर्किएर न्यायका लागि उनी मानव बेचबिखन अनुसन्धान ब्यूरोसम्म पुगेपछि घटना बाहिरिएको हो।

उनले म्यानमास्थित कम्पनीमा आफूलाई अनलाइन स्क्यामिङको तालिम दिएर विशेष गरी अमेरिकाका धनी तथा रिटायर्ड नागरिकलाई फसाउन लगाइएको प्रहरीलाई बताएका छन्। 

‘आफ्नो वास्तविक परिचय लुकाइ सुन्दर केटीको फोटो प्रोफाइलमा राखी चिनजान गफगाफ गर्न लगाउने, त्यसपछि ह्वाट्स एप नक्बर मागेर च्याट गर्दै क्रिप्टो करेन्सीमा लगानी गर्न उक्साउने काम गर्न लगायो।’ उनले आफ्नो पीडा बताएका छन्, ‘च्याट गर्दा उनीहरूले भने जस्तो नभए वा काममा सफल नभएर ३०० पुसअप गर्न, फ्रग जम्प गर्न लगाउँथे, त्यति गर्न नसके करेन्ट लगाउने, प्लाष्टिकको लाठीले पिट्थे।’

सकसपुर्ण ८ महिना कम्पनीमा बिताएका उनले आफूलाई विदेश पठाउने दिनेश पुडासैनीलाई सम्पर्क नगरेका होइनन्। तर, पुडासैनीले मेसेज हेरेर ब्लक गरिदिएका विनोदले बताएका छन्।

उनलाइ कम्पनीमा साइबर दासको रुपमा बन्धक बनाइ राखेर दिनको १८ देखि २० घण्टासम्म काममा लगाउने गरेका थिए। विनोदले आफू पुगेको कम्पनीमा अझै ६० भन्दा बढी नेपालीहरूलाई बन्धक बनाएर अनलाइन स्क्यामिमा लगाइराखेको प्रहरीलाई बताएका छन्।

उनले ब्यूरोमा दिएका उजुरीका आधारमा पुडासैनीलाई पक्राउ गरी प्रहरीले अदालती प्रक्रिया सुरु गरिसकेको छ। 

माथि उल्लिखित दुई घटना प्रतिनिधिमुलक मात्रै हुन्। हालै मात्र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा साइबर दास बनाईएका घटनाका १५ उजुरी दर्ता भएका छन्। जसमा २० भन्दाबढी व्यक्ति पीडित बनेका छन्। पछिल्ला समय ब्यूरोमा आएका धेरै उजुरीहरूमा आफूलाई थाइल्याण्ड, कम्बोडिया, लाओसमा रहेका कम्पनीमा भाषा अनुवादक, कम्प्युटर टाइपिस्ट, सेल्सम्यानको काममा एक हजार अमेरिकी डलर तलब हुने प्रलोभनमा पारेको उल्लेख छ।

भिजिट भिसा, विजनेश भिसा र श्रमिक भिसामार्फत् ती देशमा पुर्याइएका उनीहरूलाई विदेश पुर्याएर बन्धक बनाइ जबर्जस्ती अनलाइन स्क्याममा प्रयोग गर्ने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले स्ष्ट पारे।

नेपालमा बढ्दो बेरोजगारीले कानुनी वा गैरकानुनी तरिकाले विदेशीनेहरुको विमानस्थलमा लर्को लाग्ने गरेको छ। मानव तस्करको गिरोहले नेपाली बेरोजगार युवायुवतीको सपनालाई लिलाम गरिरहेका छन्। सुनौलो सपना सजाएर गैरकानुनी तरिकाले नै भए पनि विदेशीनेहरु ठगी तथा मानव तस्करीको जालोमा फस्ने क्रम बढिरहेका छन्।

पछिल्लो साढे ७ महिनामा वैदेशिक रोजगारीका क्रममा ठगीका ८ सय ६१ वटा उजुरी परेको तथ्याङ्क वैदेशिक रोजगार विभागसँग छ। गत जेठ ४ देखि मंसिर २४ गतेसम्मको अवधिमा २ सय ६९ संस्थागत र ५ सय ९२ व्यक्तिगत उजुरी परेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। ती उजुरीहरूमा पीडितले २५ करोड २८ लाख ८९ हजार रकम ठगिएको दाबी गरेका छन् भने उक्त रकम क्षतिपूर्तिसहित दिलाइदिन माग गरेका छन्।

व्यक्तिगत उजुरीमध्ये ६८ वटामा मिलापत्र गरिएको छ। मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार रूपैयाँ पाएका विभागले जनाएको छ। व्यक्तिगत रूपमा परेका उजुरीमध्ये ६० वटाको अदालतमा मुद्दा दायर गरिएको छ। संस्थागत रूपमा परेका २ सय ६९ उजुरीमध्ये १ सय ६२ मा मिलापत्र हुँदा पीडितले क्षतिपूर्ति बापत दुई करोड ९२ हजार ६१३ रूपैयाँ पाएका विभागले जनाएको छ। यो तथ्याङ्क विभागको मात्र हो। वैदेशिक रोजगारीमा ठगिएका, मानव तस्करका सिकार बनेका पीडितहरुले नेपाल प्रहरीमा पनि उजुरी दिन सक्नेछन्।

पछिल्लो ६ वर्षमा नेपाल प्रहरीमा मानव तस्कर तथा बेचबिखनका ८ सय ८३ मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ११ सय ५३ महिला र १३४ पुरुष गरी कुल १२ सय ८७ जना पीडित भएका छन्। उनीहरूलाई फन्दामा पार्ने अभियुक्त १९ सय जना छन्। तीमध्ये ११ सय ३ जना पक्राउ परेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म दर्ता भएका ५३ मुद्दाका ५३ महिला र १४ पुरुष पीडित छन्। अभियुक्तहरू २७ जना महिलामध्ये १३ जना समातिँदा ७८ पुरुष अभियुक्तमध्ये ३९ जना पक्राउ परेका मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरोमा मात्रै चालू आर्थिक वर्षका हालसम्म २४ वटा मुद्दा दर्ता छन्। जसमा १३ महिला र १५ पुरुषलाई तस्कर गर्ने अभियुक्त ५२ मध्ये १७ जना पक्राउ परेका ब्यूरोका प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए। 

उनका अनुसार ब्यूरोले चालू आर्थिक वर्षमा मानव तस्करको जालोमा फसेका, मानव बेचविखनमा परेका र सीमानाकाबाटै उद्धार गरिएका पीडितको संख्या ७६ छ। तीमध्ये ५२ महिला, २२ पुरुष र २ जना बालिका छन्। 

गत आर्थिक वर्ष २०७९/८० मा १५२, २०७८/७९ मा ४८, ०७७/७८ मा ४४, ०७६/७७ मा ६२ र ०७५/७६ मा २३८ जनाको उद्धार गरिएको तथ्याङ्क ब्यूरोसँग छ।

ब्यूरोबाहेकका प्रहरीले गत ६ वर्षमा ६ सय ७७ जनाको उद्धार गरेको छ। जसमा सबैभन्दा बढी महिला ३१८, बालिका १४८ र पुरुष १७५ जना छन्। अधिकांश महिला र बालबालिका बेचविखनमा र पुरुष तस्करीमा पर्ने गरेको प्रहरीले जनाएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले पछिल्लो समय खाडी राष्ट्रमा वैदेशिक रोजगारीका क्रममा र सुख सुविधाको सपना देखाएर युरोप अमेरिका लैजाने भनेर मानव तस्करी हुने गरेका घटनाक्रम देखिएको जानकारी दिए। 

‘श्रम स्वीकृति नलिई भिजिट भिसामा जाँदा आफूले भनेजस्तो काम पाइएको अवस्था छैन। विभिन्न खाले शोषणमा परेको अवस्था भेटिएको छ।’, एसएसपी श्रेष्ठले भने,‘युरोप र अमेरिका गैरकानुनी रुपमा जाँदा विभिन्न स्थानमा बन्धक बनाउने, बीच बाटोमा पुगेपछि उनीहरूको अभिभावकसँग बार्गेनिङ गरेर थप पैसा माग्ने र अन्य विभिन्न शोषणका गतिविधिहरू हुने गरेको पाइएको छ।’

उनका अनुसार आन्तरिक रुपमै पनि पछिल्लो समय मानव बेचबिखन तथा तस्करी हुने गरेको छ। आन्तरिक रुपमा महिला र बालबालिकाको तस्कर हुने गरेको उनको भनाई छ।​ विशेष गरी महिलाको हकमा रोजगारी दिने, राम्रो काममा पैसा राम्रो कमाई हुने प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने, यौन गतिविधि हुने केन्द्रमा पुर्याउने गरेको पाइएको छ।

उनले थप स्पष्ट पारे, ‘बालिकाहरूलाई भने घरमा बालबच्चा हेर्ने, साधारण सरसफाइ गर्ने लालच दिएर बेचबिखन हुने गरेको छ।’ भारतमा पुर्‍याउन मानव तस्करले नेपालमा भन्दा राम्रो कमाई हुने प्रलोभन देखाउने गरेका छन्। उनीहरूले श्रमिकलाई अन्यत्र मुलुक लैजान पनि भारतलाई ट्रान्जिट बनाउने गरेका छन्।

विदेश जानुअघि चिनजानकै आधारमा मात्रै विश्वासमा नपर्न ब्यूरोले अनुरोध गरेको छ। साथै सरकारले श्रम सम्झौता गरेका मुलुकहरूमा श्रम स्वीकृती लिएर मात्रै जान पनि प्रहरीले सुझाव दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.