|

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ। सो पालिकामा ४ महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन्।

१५ वटा वडा रहेको कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षको ४ महिनामा ती क्षयरोगका बिरामी फेला परेका हुन्। गत साउन, भदौ, असोज र कात्तिकमा यी बिरामी फेला परेका हुन्।

कोहलपुर नगरपालिकाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले गत आर्थिक वर्षमा कोहलपुरमा १८९ जना क्षयरोगका बिरामी फेला परेकोमा ३ जनाको मृत्यु भएको बताए। उनले चालु आर्थिक वर्षको ४ महिनामा ५२ जना बिरामी फेला परेकोमा १ जनाको मृत्यु भएको बताए। 

कोहलपुर नगरपालिकाले पालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि विशेष अभियानका साथ क्षयरोगविरुद्ध कार्यक्रम सञ्चालन गर्दैआएको जनाउँदै कार्यक्रम संयोजक केसीले तर यो काम सोचेजस्तो सहज नभएको बताए। 

गत आर्थिक वर्षमा ४ वटा ठाउँमा मात्र डट्स सेवा सञ्चालन भएकोमा चालू आर्थिक वर्षबाट भने सबै वडाका स्वास्थ्य संस्था र नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट पनि यो सेवा शुरु गरिएको उनले बताए।

क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानुपर्ने, घरबाहिर कतै जानु पर्दा औषधि लिएर जानुपर्ने, पोषिलो खानेकुरा खानुपर्नेजस्ता कुरामा राम्ररी परामर्श, स्वास्थ्य प्रवर्द्धन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रोगीहरुलाई औषधि सेवन गराउने गरिएको पनि जनाइएको छ। चिकित्सकका अनुसार नियमित रुपमा बीचमा नछुटाइ ६ देखि ८–९ महिनासम्म औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ।

यसैबीच नगरपालिकाले पालिकाभित्रका गरिब र विपन्न समुदायका २३ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरेको छ।

नगरपालिकाका अनुसार चामल २० किलो, दाल २ किलो, तेल १ लिटर, बदाम साढे १ किलो, अण्डा १ क्यारेट र सर्वोत्तम पिठो १ किलो गरी ३ हजार रुपैयाँ मूल्य बराबरको पोषण सामग्री वितरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.