|

चितवन : कृषि अनुदानलाई निरन्तरता दिन माग गर्दै नेपाल किसान महासंघले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँचबुँदे मागपत्र बुझाएको छ।

दूधमा दिँदै आएको अनुदान प्रदेश सरकारले कटौती गरेकोमामा विरोध जनाउँदै महासंघले मुख्यमन्त्रीलाई पाँचबुँदे मागपत्र बुझाएको​ हो। महासंघले राष्ट्र बैंकबाट कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई फिर्ता नगरिएकाले त्यसलाई निरन्तरता दिन पनि माग गरेको छ। 

महासंघका जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूलगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गर्नुपर्ने माग गरे। बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्यांक संकलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा  समयमै उपलब्ध गराउनुपर्ने माग मन्त्रीसमक्ष राखे।

मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताए। ‘कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने भएकाले सबै मिलेर यस क्षेत्रको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ’,उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.