|

गौर : भारतीय सीमानाकासँग जोडिएका रौतहटको  ईशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ।

भारतको अयोध्यामा राममन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुई दिन नबित्दै रौतहटको दक्षिणी भेग पर्ने ईशनाथ नगरपालिका-५ जयहारा गाउँमा रहेको सामुदायिक विद्यालयको १०० मिटर पछाडि रहेका ब्रह्मस्थानमा अज्ञात व्यक्तिले आगजनी गरेको हो।

आगजनीको घटना सार्वजनिक भएलगत्तै त्यस क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधिसभा सदस्य किरणकुमार साह, नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थल पुगेको छ।

 विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटक-पटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ।

जटहरा गाउँछेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सार्वजनिक भएको थियो।

आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर मंगलबार राति दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ। घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्।

सामाजिक सद्भाव बिगार्न यस्ता अराजक गतिविधि गर्ने दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्।

आगलागीबाट क्षतिग्रस्त हनुमानजीको उक्त मूर्ति २५  वर्षअघि स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन्।

ब्रहमस्थानमा बुधवार बिहान हजारौं मानिस जम्मा भएका थिए। उनीहरूले धार्मिक आस्थामाथि कुठाराघात गर्नेलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन्।

सांसद किरण साहले जम्मा भएका हजारौं मानिसलाई शान्त रहन आग्रह गर्दै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन त्यहाँ पुगेका एसपी श्रेष्ठलाई अनुरोध सहित निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.