|

काठमाडौं : पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोग सुषुप्त महामारीकै रुपमा फैलिइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार नेपालीलाई सताउने प्रमुख  नसर्ने रोगमा मुटु, मिर्गौलासम्बन्धी समसया र क्यान्सर हुन्। देशभरिबाट स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस)को रिपोर्ट अनुसार नेपालमा यी रोगमध्ये पनि सबैभन्दा धेरै नेपालीलाई सताउने रोगमा मुटुसम्बन्धी समस्या हो। तर नसर्ने रोगबाट मृत्यु हुनेमा धेरै क्यान्सरका बिरामी छन्।

नेपालमा हुने नसर्ने रोगबाट हुने कुल मृत्युको कारणमध्ये ११.११ प्रतिशत क्यान्सर छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार नसर्ने रोगको कारण हुने मृत्युदरमा  क्यान्सर पहिलो कारणमा पर्छ।

केही वर्षअघिसम्म नेपालमा मुटुसम्बन्धी समस्याबाट धेरै नेपालीको मृत्यु हुन्थ्यो। तर अहिले आएर मुटु रोगबाट भन्दा क्यान्सरबाट हुने मुत्यु धेरै देखिएको छ।

यसको प्रमुख कारण बिरामी क्यान्सरको तेस्रो र चौथो चरणमा अस्पताल पुग्नु हो। तर बिडम्बनाको कुरा के छ भने नेपालमा स्वास्थ्यको हिसाबले क्यान्सर जति चुनौतीको रूपमा बढ्दै गएको छ, त्यसअनुरूप यस क्षेत्रमा स्वास्थ्य उपचार गर्ने विज्ञ चिकित्सकदेखि यसको उपचारमा आवश्यक  रेडियोथेरापी टेक्नोलोजिष्ट जस्ता जनशक्ति अभाव छ। यसले गर्दा भविष्यमा क्यान्सरको उपचारमा नेपालमा स्वास्थ्यकर्मी नै अभाव हुनेमा यो क्षेत्रका विज्ञले चिन्ता व्यक्त गर्न थालेका छन्।

बढ्दो छ क्यान्सरको भार छैनन् विज्ञ चिकित्सक

क्यान्सरका बिरामी प्राय: तेस्रो र चौथो चरणमा मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्दा उपचारमा चुनौती त छँदैछ, अस्पताल पुगेका बिरामीले पनि उपचार पाउन महिनौँ कुर्नुपर्छ। क्यान्सरका बिरामीलाई प्राय: रोगको प्रकृति हेरेर शल्यक्रिया, रेडियोथेरापी र किमोथोथेरापी तीन तरिकाले उपचार गरिन्छ। समयमा प्रभावकारी उपचार गरेमा क्यान्सर पूर्ण निको हुने भए पनि नेपालमा यससम्बन्धी चिकित्सक र अन्य स्वास्थ्यकर्मी नहुँदा बिरामी लामो समय सम्म कुर्नु पर्ने बाध्यता छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ​करिब ४८ देख ५० को हाराहारीमा मात्रै रेडियसन अंकोलोजिष्ट छन्। त्यस्तै मेडिकल अंकोलोजिष्टको संख्या २०, सर्जिकल अंकोलोजिष्ट ७० देखि ८०, मेडिकल फिजिसिष्ट १८ जना तथा २०/२५ जना रेडियोथेरापी टेक्नोलोजिष्ट मात्रै छ। बढ्दो बिरामीको भारमा यसमा उपचार गर्ने स्वास्थ्यकर्मी नै कम हुँदा बिरामीले लामो समयसम्म कुर्नु पर्ने बाध्यता रहेको बताउँछन्, वीर अस्पतालका क्यान्सर उपचार विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोगविशेषज्ञ डा. विवेक आचार्य।

‘बिरामी थपिँदै गएका छन् तर क्यान्सरको उपचार गर्ने विभिन्न विधाका चिकित्सक मात्रै होइन,टेक्नोलोजिष्ट पनि अभाव भइरहेको छ। समयमै यस्ता स्वास्थ्यकर्मीको परिपूर्ति गर्न सकिएन भने भोलि अप्ठ्यारो हुन्छ,’ डा आचार्यले भने, ‘हामीले भर्खरै वीरमा क्यान्सरको उपचारमा अत्याधुनिक मानिएको टोमोथेरापी शुरु गरेका छौँ। तर विडम्बनाको कुरा के छ भने रेडियोथेरापी टेक्नोलोजिष्टको कम हुँदा क्षमताअनुसार सेवा दिन सकिएको छैन। तीन महिनासम्म बिरामीको पालो लागिसकेको छ।’

नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका हेड तथा नेक क्यान्सर सर्जन डा. अनिल कार्कीका अनुसार अहिलेकै अवस्थामा क्यान्सरको प्रभावकारी उपचार हुन चुनौती रहेका कारण थप जनशक्ति परिपूर्ति गर्न अत्यावश्यक रहेको बताउँछन्। त्यसका लागि अब सरकारले क्यान्सर रोकथाम तथा  प्रभावकारी उपचारका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत छुट्टै विभाग गठन गरेर लाग्नु पर्ने समेत उनको भनाइ छ।

 ‘क्यान्सरको उपचारको क्षेत्रमा २४ वर्षदेखि लागिरहेको छु। अहिले क्यान्सरको केस झन् बढ्दै गएका छन्’, उनले भने, ‘यही अवस्था रहे भोलिका दिनमा राज्यले धान्नै नसक्ने अवस्था पनि हुनसक्छ। त्यसैले अहिलेदेखि नै रोकथामको लागि छुट्टै विभाग गठन गर्नुपर्छ नत्र भोलिपछुताउनु बाहेक केही हुँदैन।’

यता स्वास्थ्य मन्त्रायका एक उच्च अधिकारीका अनुसार यही अवस्थामा गए अबको दुई चारवर्ष पछि नेपालमा क्यान्सर लगायतका चिकित्सकको अभाव नै हुने बताउँछन। ती अधिकारीका अनुसार यसको मुख्य कारण भनेको पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनमा झञ्झटिलो व्यवस्था हो।

हाल नेपालमा एमबीबीएसको कोर्स पूरा गर्न साढे पाँच वर्ष अध्ययन गर्नुपर्छ। त्यसपछि चिकित्सकले स्नातकोत्तर तहको एमडी वा जनरल सर्जरीमा एमएसको उपाधि पाउन थप तीन वर्ष पढ्नुपर्छ । त्यसपछि पनि पीएचडीसरह वा सुपर स्पेसलिस्ट चिकित्सक उपाधि पाउन डीएम वा एमसीएच कोर्स अध्ययन गर्न पुनः तीन वर्ष पढ्नुपर्ने व्यवस्था छ।

‘अहिलेको चिकित्सा शिक्षा अध्ययन प्रणाली सुधार नगर्ने हो भने भोलिका दिनमा अन्य ठूला रोगका डाक्टरको समेत अभाव हुन्छ’, मन्त्रालयका ती अधिकारी भन्छन्, ‘हाल हाम्रोमा विज्ञ चिकित्सकअभाव हुँदै जानुको प्रमुख कारण समय, लगानी र अवसरका बीचमा देखिएको असन्तुलन हो यसलाई सुधार गर्नुपर्छ।’

उपकरण पनि अभाव

सरकारी स्वास्थ्य संस्थामा भएको उपकरण प्रयोग गर्ने स्वास्थ्यकर्मी कम भइरहेको समयमा जनसंख्या र बिरामीको अनुपातमा क्यान्सर उपचारमा अत्यावश्यक पर्ने रेडियोथेरापी मेसिन समेत अभाव रहेको डा.आचार्यले बताए। ‘हाल देशभर जम्मा ११ वटा रेडियोथेरापी मेसिन रहेको छ। तर हाम्रोमा बिरामीको अनुपातमा ३५ वटा सम्म यस्ता मेसिन आवश्यक छ किन भने हाम्रोमा १० लाख जनसंख्या बराबर एक मेसिन आवश्यक हुन्छ’, डा आचार्यले भने।

सीमित मेसिन पनि काठमाडौं केन्द्रित हुँदा बाहिरका बिरामीले सहजै उपचार पाउने अवस्था छैन। क्यान्सरमा प्रयोग गरिने रेडियोथेरापी मेसिन  काठमाडौंमा सात स्वास्थ्य संस्थामा रहेका छन्। त्यस्तै भरतपुरमा २, विराटनगरमा २, झापामा १ वटा रहेको तथ्यांक छ।

त्रिवि शिक्षण अस्पतालको सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्रकी मेडिकल अंकोलोजिष्ट डा रक्षा श्रेष्ठ अब सबै सरकारी ठूला अस्पतालमा रेडियोथेरापी मेसिन अनिवार्य गर्नुपर्ने बताउँछन्। ‘सबै सरकारी रेडियोथेरापी मेसिन आवश्यक छ’, उनी भन्छिन्, ‘यसले गर्दा मात्रै क्यान्सरको उपचार प्रभावकारी हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.