|

पर्वत : नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ।

शनिवार हुने म्याराथनमा नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन्। प्रतियोगिताबारे जानकारी दिन बिहीबार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १०८ जनाको सहभागिता रहने जानकारी दिइएको छ। 

महिला हाफ म्याराथनमा १७, १० किलोमिटरतर्फ  पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किलोमिटरमा ५९० तथा छात्रातर्फ ४८० जनाको  सहभागिता रहने भएको छ। प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेका छन्।

म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा पाँच, १० किलोमिटर पुरुषतर्फ ११ जना र महिलातर्फ तीनविदेशीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा नेपालसहित बङ्गलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावकहरूको सहभागिता रहने छ। पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता छ।

म्याराथनको विजेताले नगद पाँच लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

१० किलोमिटर महिला तथा पुरुषतर्फको विजेताले ३०/३० हजार, दोस्रोले २०/२० हजार र तेस्रोले १५/१५  हजार रुपैयाँ प्राप्त गर्नेछन्। पाँच किलोमिटर छात्रछात्रा दौडको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन्। पाँच किलोमिटर भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ प्राप्त गर्नेछन्।

रुट परिवर्तन

पोखरा म्याराथनको यस संस्करणमा ‘रुट’ परिवर्तन गरिएको छ। 

नयाँ ‘रुट’ मुख्य पोखरा बजारमा १७ किलोमिटर र बाँकीको दौड फेवातालको सिरानतर्फ जाने छ। यो पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुने छ। 

प्रतियोगितालाई व्यवस्थित बनाउन ‘चिप्स’ को प्रयोग गरिँदै छ। यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको ‘चिप्स’ लाई १८ औँ संस्करणमा भने सबै विधामा प्रयोग गर्न लागिएको हो।  यसले धावकको समय निर्धारण गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.