|

काठमाडौं : रक्षामन्त्री पूर्णबहादुर खड्का र अमेरिकाको एसिया-प्रशान्त कमाण्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोबीच शिष्टाचार भेट भएको छ। 

आइतबार भएको भेटका क्रममा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहेको बताउँदै  नेपालको विकासमा अमेरिकाले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे। उनले भविष्यमा  अमेरिकी सहयोगको अझ वृद्धि हुने विश्वास व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ । 

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका माध्यमबाट नेपालले विश्वशान्ति स्थापनामा निरन्तर योगदान गर्दै आएको र भविष्यमा पनि नेपालले सुरक्षाकर्मी परिचालन गरेर त्यसलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे।  संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा धेरै सैनिक र महिला शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा रहेको उहाँले नौसेनाध्यक्षलाई जानकारी दिए। 

नौसेनाध्यक्ष एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर जारी रहने र भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिमा सघाउन अमेरिकी सरकार सकारात्मक रहेको बताए। उनले विश्वशान्ति स्थापनामा नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। 

नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप राष्ट्रसंघीय ‘मिसन’का नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थोम्सनले अमेरिका र नेपाल लामो समयदेखि असल मित्रका रूपमा सहकार्य र साझेदारी गर्दै आएका तथा भविष्यमा पनि  मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने बताए।

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका उपरथी रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियोे ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.