काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयभित्र रहेका विकृति सफा गर्न अझै २ वर्ष लाग्ने बताएका छन्।
स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै २ वर्ष लाग्ने बताएका हुन्।
मन्त्री र मन्त्रालयका कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासन तन्त्रले गरेका सबै विकृति र विसंगतिबारे आफू जानकार रहेको समेत बताए।
उनले विकट क्षेत्रका नेपालीलाई स्वास्थ्य सेवा सुविधा दिन चिकित्सकहरुलाई पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए। कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाएमात्रै पक्षपात नहुने हो भन्दै उनले प्रतिप्रश्न गरे।
उनले भने, ‘यहाँ पक्षपातका कुरा उठे। कसले के पक्षपात गरेको छ? आफूले पाए पक्ष हुने नभए पक्षपात हुने त हो नि। त्यो ८ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन् तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि डाक्टरको अनुहार हेर्न पाएका छन्‚’ उनले भने‚ ‘मन्त्रीले जबरजस्ती गर्यो भन्ने कुरा पनि थियो। जबरजस्ती मैले गरेको होइन, जबरजस्ती गर्नेहरुलाई ठेगान लगाएको हो। म भोलि पनि यस्तो काम गर्छु यदि मैले वा मन्त्रालयले गरेको कुनै निर्णयले धेरै जनताले चाहेको हित हुन्छ भने।’
सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घर घरमा पुगेर रोक्न लगाउने गरेको समेत देखिएको उनले बताए।
‘आस्थाका बारेमा केही कुरा उठ्यो, मैले निर्णय गर्ने बित्तिकै सम्बन्धित पार्टीको प्रमुखमा बस्नेहरुलाई महाशाखा प्रमुखमा अझै नै राखिछोडेको छु। २ वर्ष पुगेकाहरुलाई निर्णय गर्न पाएको छैन पुगिसक्छ पार्टी प्रमुखकहाँ‚’ उनले भने‚ ‘क्याबिनेटमा पुगेको छैन, यहाँ न्युज आइसकेको हुन्छ। कामु लेख्नुस् भन्यो, निमित्त लेख्छन्। यहाँ अराजकता छ‚ यो मन्त्रालय सफा गर्न २ वर्ष लाग्छ।’
उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए। उनले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेकोमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।