|

काठमाडौँ : प्रमुख राजनीतिक शत्रुका रूपमा एकअर्काविरुद्ध उत्रिँदै आएका दुई वामपन्थी दल नेकपा एमाले र एकीकृत समाजवादीबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ।

नयाँ गठबन्धन निर्माणसँगै पानी बाराबारको स्थितिमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध सुधारोन्मुख बनेको हो।

साढे दुई वर्षअघि एमालेबाटै विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी बनाएपछि ओली-माधवले तिखो प्रहार मात्रै होइन, कथंकदाचित् एउटै मञ्चमा भेटिँदासमेत एकअर्कालाई उपेक्षा गर्थे। 

केही दिनअघि मात्र चितवनको भरतपुरमा आयोजित कार्यक्रममा यस्तै देखिएको थियो। कार्यक्रममा केही ढिलो गरी पुगेका ओलीलाई मञ्चमा नेपालले नदेखेको जस्तो गरेका थिए। प्रचण्डले उठेर ओलीको स्वागत गर्दा नेपालले ओलीको नमस्कार पनि फर्काएका थिएनन्। 

सोमबार नयाँ गठबन्धन निर्माण भएसँगै भने यी दुई नेताहरूबीच संवादको शुरु भएको छ। यसको शुरुवात एमाले अध्यक्ष ओलीले गरेका हुन्। उनले पार्टी विभाजनयता सोमबार पहिलोपटक नेपाललाई टेलिफोन गरेर संवाद गरेका हुन्। 

गठबन्धनको सहमतिलाई मूर्तरूप दिन बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीलाई पनि समेट्ने सहमति भएको थियो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाल निवास हिँडे भने ओलीले त्यहीँबाट फोन गरे।

क्रमशः पार्टी खिइँदै गएपछि अब नयाँ गठबन्धनमार्फत सहकार्य हुँदै एकीकृत समाजवादी फेरि एमालेमा विलय हुन पनि सक्ने विश्लेषण कतिपयको छ। राजनीतिक विश्लेषक देवेश झा भोलि गएर एकीकृत समाजवादी एमालेमा समाहित भए त्यसलाई अनौठो मान्नु नपर्ने बताउँछन्। 

ओलीले शुरुमा नेपालको स्वास्थ्यलाभको कामना गरेका थिए। नेपालले धन्यवाद फर्काइसकेपछि ओलीले भने, ‘म आउन पाइनँ। प्रचण्डजी आउँदै हुनुहुन्छ। उहाँले राख्ने कुरा मेरो पनि हो है।’ नेपालको जवाफ थियो, ‘ठीक छ, छलफल गर्न सकिन्छ।’

अध्यक्षद्वयबीच संवाद शुरु भएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरू पनि खुसी देखिएका छन्। वामपन्थी सहकार्य र एकताको पक्षमा वकालत गर्दै आएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अझ उत्साहित देखिन्छन्।

अध्यक्षद्वयबीचको संवादसँगै पानी बाराबारको स्थिति भत्किएको नेता खनालको भनाइ छ। ‘दुई अध्यक्षबीच पानी बाराबारको स्थिति सकियो’, थाहाखबरसँग उनले भने, ‘अब त्यसले नयाँ ढंगले कुराकानी गर्ने ढोका खुलेको छ।’

नेतृत्व तहमा भएको संवादलाई लिएर एमालेजन पनि खुसी देखिन्छन्। अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई टेलिफोन गरेर उच्च राजनीतिक संस्कार देखाएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन्।   

‘हिजो अध्यक्षले जे गर्नुभयो, एकदमै राम्रो गर्नुभयो। यतिको संस्कार त नेतृत्वमा हुनैपर्छ’, उनी भन्छिन्, ‘निषेधको राजनीतिले कोही कसैलाई कहीँ पुर्‍याउँदैन। नेतृत्वले एकअर्काबीच यस्तै संस्कृति विकास गर्नुपर्छ।’  

नयाँ गठबन्धनमा जाला त नेकपा समाजवादी ?

सोमबार एमाले अध्यक्ष ओलीको फोनपछि नेपालनिवास कोटेश्वर पुगेका प्रचण्डले नयाँ गठबन्धनमा आउन आग्रह गरेका थिए तर अघिल्लो गठबन्धनमा रहँदै प्रचण्ड एकलौटी हिँडेको भन्दै असन्तुष्ट रहँदै आएका अध्यक्ष नेपालले शुरुमा आक्रोश पोखे।

प्रचण्डले विगतको कुरा बिर्सेर नयाँ ढंगले अघि बढ्ने बताएपछि संवाद सकारात्मक रूपमा टुंगिएको थियो। ओली र प्रचण्डसँगको वार्तापछि एकीकृत समाजवादी नयाँ गठबन्धन सामेल हुन सकारात्मक देखिएको छ। 

पार्टी उपाध्यक्ष जयन्ती राई देशको परिस्थितिले आफूहरूको आवश्यकता महसुस गरेको खण्डमा नयाँ गठबन्धनमार्फत सकारमा जान सकिने बताउँछिन्। ‘यो मुलुकको परिस्थिति र सबैले आवश्यकता महसुस गरे भने ठिक छ तर हामी सरकारमा जान लालायित छैनौं’‚ उनी भन्छिन्। 

एकीकृत समाजवादी नयाँ गठबन्धनमा आउनेमा माओवादी विश्वस्त छ। यसपटक स्वयं एमालेले नै प्रस्ताव गरेकाले एकीकृत समाजवादी गठबन्धनमा आउने माओवादी सचिव लीलामणि पोखरेल बताउँछन्।

‘हिजो एमालेतर्फबाट प्रस्ताव भएकै थिएन तर अहिले एमाले आफैँले पनि प्रस्ताव गरिराख्या छ’, उनले भने, ‘सरसल्लाह र संवाद भइरहेकै छन्। उहाँहरू आउनुहुन्छ भन्ने विश्वास छ।’

एमाले पनि एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा ल्याउन पूर्ण सकारात्मक छ। अध्यक्ष ओलीले नै संवादको ढोका खोलेर त्यसबारे स्पष्ट पारिसकेका छन्। 

बल्ल अध्यक्षद्वयबीच राम्रोसँग ‘हेलो–हाइ’ भएको भन्दै जारी संवादपछि एकीकृत समाजवादी गठबन्धनमा आउने विश्वास उपाध्यक्ष शाक्यको छ। ‘हिजो उहाँहरूबीच पानी बाराबारको स्थिति थियो। बल्ल राम्रोसँग हेलो-हाइ भएको छ’, उनी भन्छिन्, ‘कुराकानी भइरहेको छ। राम्रै होला।’

सहकार्य हुँदै फेरि एमालेसँग हुन सक्ला एकीकरण ? 

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीको राजनीतिक भविष्य संकटोन्मुख छ। पार्टी गठनको साढे दुई वर्षमा सयौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी ‘पुरानै घर’ एमालेमा फर्किएपछि पार्टीको भविष्य अन्योल देखिएको हो।

एमालेबाट विद्रोह गर्दा महत्त्वपूर्ण भूमिका खेलेका शीर्ष तहका नेताहरूले पार्टी छाडेपछि एकीकृत समाजवादी क्रमशः खिइँदै गएको छ। केन्द्रीय उपाध्यक्ष, सचिव, पोलिटब्यूरो तथा केन्द्रीय सदस्य, प्रदेश, जिल्ला तथा पालिका कमिटीका गरी सयौँले पार्टी परित्याग गरिसकेका छन्। 

यसरी क्रमशः पार्टी खिइँदै गएपछि अब नयाँ गठबन्धनमार्फत सहकार्य हुँदै एकीकृत समाजवादी फेरि एमालेमा विलय हुन पनि सक्ने विश्लेषण कतिपयको छ। राजनीतिक विश्लेषक देवेश झा भोलि गएर एकीकृत समाजवादी एमालेमा समाहित भए त्यसलाई अनौठो मान्नु नपर्ने बताउँछन्। 

‘राजनीति सम्भावनाको खेल हो, जहाँ स्थायी मित्र वा शत्रु हुँदैन भन्ने कुरा हामीले भर्खरै देख्यौं’, उनी भन्छन्, ‘त्यसकारण त्यो सम्भावना नकार्न सकिँदैन। किनभने माधवजीको पार्टी वास्तवमा हिजोको एमाले नै हो। त्यसमा भएका जति पनि नेता कार्यकर्ता छन्, उनीहरू कुनै कालखण्डमा एमाले नै थिए। कुनै निश्चित घटनाक्रमका कारणले विभाजित भएको न हो। त्यसैले भोलि गएर एमालेमा मिसिए त्यो अनौठो हुँदैन।’ 

विश्लेषक झा वामपन्थी राजनीतिमा वैचारिक विषयभन्दा व्यक्तिगत इगोले बढी काम गर्ने गरेको बताउँछन्। त्यो साम्य हुनसाथ सबै सम्भव हुँदै आएको देखिएको उनको भनाइ छ तर एकीकृत समाजवादीका नेताहरू भने यसलाई अस्वीकार गर्छन्। एकीकृत समाजवादी उपाध्यक्ष जयन्ती राई हिजो एमाले बनाउन लागिपरेजस्तै आफूहरू एकीकृत समाजवादी बनाउन लागिपरेकाले त्यो सम्भावना नरहेको बताउँछिन्। 

उनी भन्छिन्, ‘हिजो एमाले बनाउने हामी नै हौँ। अब एकीकृत समाजवादी पनि त्यसैगरी बनाउँछौँ। त्यो इच्छाशक्ति र दृढता भएका हामी पार्टीमै छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.