आन्दोलनका सबै कार्यक्रम स्थगित

|

काठमाडौँ : सहकारी बचतकर्ता र सरकारी वार्ता टोलीबीच बिहीवार ८ बुँदे सहमति भएको छ। सहमति भएसँगै सहकारी बचतकर्ताले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका सहमति भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको समझदारीमा समस्याग्रस्त सहकारी संस्थाहरूको हिसाब जाँच गर्ने पनि उल्लेख गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए।

त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति, स्रोत साधन लगायतका संस्थागत क्षमताको सुदृढीकरण गरी यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारबाही शीघ्र सम्पन्न गर्ने, कसुर गर्ने सहकारी सञ्चालक, व्यवस्थापक र संलग्न कर्मचारीलाई कानून बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने र सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८० ले दिएका सुझाव तत्काल कार्यान्वयनमा लैजानका लागि बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना गर्ने पनि सम्झौतामा भनिएको छ।

सहकारी विभागका रजिष्ट्रार घिमिरेले भने, ‘संघर्षरत पीडित पक्षले माग गरेका एवं हाल समस्या देखिएका सहकारी संस्थाको निरीक्षण, अनुगमन एवं हिसाबजाँच गर्ने। समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता लिने प्रक्रिया अविलम्ब थालनी गर्ने। सहकारी कार्यान्वयनको अवस्था दुवै पक्षबीच निरन्तर आदानप्रदान गर्ने। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको तर्फबाट हालसम्म सञ्चालित आन्दोलनका कार्यक्रम स्थगित गर्ने।’

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सम्झौतामा उल्लिखित समझदारी कार्यान्वयनका लागि सरकारले तत्काल काम अघि बढाउने बताए। उनले कतिपय काम गर्न कानून बनाउनुपर्ने भए त्यसमा पनि ढिलाइ नहुने आश्वासन सहकारी बचत पीडित पक्षलाई दिए।

मन्त्री अधिकारीले भने, ‘अहिले सहकारीप्रति विभिन्न खाले भ्रम पैदा गर्ने र यसलाई बदनाम गराउने, यसको जरुरतै पर्दैन भन्ने कोणबाट पनि बाहिर कुरा आएको सुनिन्छ। केही सहकारीले नराम्रो गर्दा सबै सहकारी बदनाम भएको छ। यो सम्झौता गर्ने निर्णयप्रति धन्यवाद दिन चाहन्छु। र यो सहमति कार्यान्वयनको पाटोमा आइसकेपछि मिल्ने तत्काल काम हुन्छ। नमिल्ने कुरामा कानून निर्माण गर्ने कुरामा तत्काल गइहाल्छौं।’

त्यस अवसरमा मन्त्री अधिकारीले सहकारीमाथि भ्रम पैदा गर्ने काम नगर्न पनि सबैलाई आह्वान गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.