|

पर्वत : स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग संक्रमितहरूको संख्या बढ्दै गएको छ।

श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग संक्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले खुल्न कठिन हुने गरेको छ। व्यक्तिमा लुप्त रहेकै अवस्थामा अर्को व्यक्तिमा संक्रमण सर्ने र समुदायका अन्य व्यक्तिहरू समेत जोखिममा पर्ने भएपछि स्वास्थ्य कार्यालय, पर्वत अस्पताल, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरू र स्थानीय तहहरूले पनि यसमा निगरानी बढाएका छन्।

क्षयरोग संक्रमितहरूलाई घरघरमै पुगेर भए पनि लक्षण सोधेर पत्ता लगाउने गरी स्वास्थ्यकर्मीहरू खटेपछि विगतका वर्षको तुलनामा पछिल्ला वर्षहरूमा क्षयरोग संक्रमितहरूको संख्या बढेको स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन उज्ज्वल तिवारीले बताए। यही चैत ११ गते मनाउन लागिएको विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालयले पत्रकारहरूसँग राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको चैत ८ गतेसम्म ४३ जना संक्रमितहरू फेला परेको बताए। जबकी गत आर्थिक वर्षको यही समयमा २८ जना संक्रमितहरू फेला परेका थिए।

चालु आर्थिक वर्षमा मोदी गाउँपालिकामा तीन जना, जलजला गाउँपालिकामा एक जना, कुश्मा नगरपालिकामा १२ जना, फलेवास नगरपालिकामा तीन जना, महाशिला गाउँपालिकामा चार जना, बिहादी गाउँपालिकामा तीन जना र पैयुँ गाउँपालिकामा १७ जना संक्रमितहरू भेटिएका छन्। गत आर्थिक वर्ष २०७९÷८० मा यी स्थानीय तहहरूमा क्रमशः चार जना, दुई जना, ३३ जना, १० जना, एक जना, १३ जना र १४ जना संक्रमितहरू भेटिएका थिए। यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा मोदीमा सात जना, जलजलामा दुई जना, कुश्मामा १५ जना, फलेवासमा १० जना, बिहादीमा ११ जना र पैयुँमा २२ जना संक्रमितहरू रहेका फोकल पर्सन तिवारीले जानकारी दिए।

सम्पर्क परीक्षणको बारेमा जानकारी दिँदै तिवारीले सबै पिबिसी बिरामीको घर परिवारको सदस्यहरूमा सम्पर्क परीक्षण गर्नुपर्ने र त्यसरी परीक्षण गर्दा बिरामीको सम्पर्कमा रहेका सदस्यहरूमा संक्रमण भए नभएको यकिन गरिने बताए। परीक्षण गर्दा उक्त घरमा पाँच वर्ष मुनिको बालबालिकाहरूमा संक्रमण नरहेको भएमा उनीहरूमा क्षयरोग सर्न नदिनको लागि रोकथाम उपचार गरिने उनको भनाइ छ। टिबी प्रिभेन्टीभ थेरापीमा रहेका बालबालिकाहरूलाई तीन महिनाको लागि चाइल्ड एचआर औषधि दिइने पनि तिवारीले बताए।

क्षयरोगको नियन्त्रण तथा रोकथामको लागि बच्चा जन्मिने बित्तिकै बिसीजी खोप दिनुपर्ने, घर परिवारको वातावरणीय सरसफाइ गरी बस्ने र पोषणयुक्त खानेकुरा दिनुपर्ने, धूम्रपान तथा मद्यपान गर्न नहुने, सुरुका केही हप्ता मात्र औषधि खाइरहेका क्षयरोगीको संसर्गबाट बच्ने, क्षयरोगीले उत्सर्जन गरेका विकार बस्तुहरूलाई राम्रोसँग विसर्जन गर्ने तथा संक्रमितले हाच्छ्युँ गर्दा वा खोक्दा रुमालको प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ। यस्तै भिडभाड हुने स्थानमा जाँदा अनिवार्य रूपमा मास्क लगाउने, गाई भैँसीको दूधलाई राम्रोसँग उमालेर खाने गर्नुपर्ने पनि उनीहरूको भनाइ छ।  

व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा क्षयरोगका कीटाणुबाट प्रभावित भएका सबै व्यक्तिहरूलाई क्षयरोग लाग्दैन। तर रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा क्षयरोग संक्रमण हुन्छ। कुपोषित तथा  एचआइभी संक्रमित व्यक्तिहरूमा यो रोगको सम्भावना बढी हुने र एक जना रोगीले एक वर्षमा १० देखि १५ जनासम्म स्वस्थ व्यक्तिमा रोग सार्न सक्ने अध्ययनले देखाएको छ।

बहु औषधि प्रतिरोधको बिरामीको संख्यामा वृद्धि हुनु, क्षयरोग र एचआइभी, क्षयरोग र मधुमेहको संक्रमण, डट्स लागू गर्न कठिन भएका निजी स्वास्थ्य संस्था, हिमाली र पहाडी क्षेत्रका दुर्गम स्थान, लैङ्गिक असमानता, बसाइँसराई, खुल्ला सिमाना, बच्चामा क्षयरोग बिरामीको संख्यामा पत्ता लगाउने दरमा कमी आउनु लगायतका चुनौतीहरू क्षयरोग कार्यक्रममा देखा परिरहेका छन्।

यस वर्षको विश्व क्षयरोग दिवस ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ मनाइँदै छ। क्षयरोग अन्त्यको विश्वव्यापी रणनीति (सन् २०१६–२०३५) ले क्षयरोगमुक्त विश्वको परिकल्पना गरेको छ। जसमा क्षयरोग लाग्ने दर कम गर्दै यसबाट हुने मृत्यु तथा पीडालाई शून्य बनाउने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.