|

किमाथाङ्का : राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे ६ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ। भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोलेको छ।

उत्तरी क्षेत्रमा रहेको नाका किमाथाङ्का निकै विकट र दुर्गम मानिन्छ। भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब साढे १० किलोमिटर ट्रयाक सेनाले खोलिरहेको छ। 

कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो।

खाँदबारी–किमाथाङ्का १६२ किलोमिटरमध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा सेनाले पाएको थियो। हालसम्म सेनाले साढे ६ किलोमिटरसम्म मात्र ट्रयाक खोलेको हो। अरु साढे ३ किलोमिटर सडकको स्तरोन्नतिसमेत गरिसकेको छ। 

त्यसैगरी यस वर्ष साढे ३ किलोमिटर सडक स्तरोन्नति गरिने आयोजनाले जनाएको छ। भौगोलिक हिसाबले किमाथाङ्का– खाँदबारी सडकको ट्रयाक खोल्नै सकस देखिएको हो। खाँदबारी–किमाथाङ्का १६२ किलोमिटरमा ०६५/६६ सालमा ट्रयाक खोल्न शुरु गरिएको थियो।

यस वर्ष साढे २ किलोमिटर ट्रयाक खोलिने खाँदबारी–किमाथाङ्का सडक आयोजनाले जनाएको छ। ६२ करोड ९० लाख रुपैयाँमध्ये हालसम्म ४२ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ। 

भौगोलिक विकटता भए पनि सेनाले हेलिकप्टरमार्फत निर्माण सामाग्री लगेर किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोलिरहेको छ। हिउँदमा हिमपात र बर्खामा वर्षाका कारण सडक निर्माण तीव्र गतिमा हुनसकेको छैन।

उत्तर–दक्षिण (कोशी) सडक योजना कार्यालय सङ्खुवासभाले विभिन्न प्याकेजमा काम शुरु गरेको थियो। ३ खण्डमध्ये हटिया क्षेत्रमा हेलिकप्टरबाट ट्रयाक्टर, स्काभेटर, इन्धन ढुवानी गरेर काम अघि बढाइएको थियो। 

सडक निर्माणका लागि दैनिक १५० जनशक्ति परिचालन गरिएको छ। सो सडकले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्।

किमाथाङ्का–जोगबनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो। च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ। 

यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढे पनि किमाथाङ्का नाका भने अझै सञ्चालनमा आउन सकेको छैन। सडकसँगै सीमामा भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.