|

कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका साविक कुशहवा गाबिस वडा नं. ६ र ७ मा झाडापखालाको प्रकोप फैलिएको छ। तीन दिनअघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिएको छ। नगरपालिकाको सतभरा र गघौंडी गाउँमा फैलिएको प्रकोपका कारण हालसम्म ५० जना भन्दा बढी झाडापखालाबाट प्रभावित भएका छन्। जसमा अधिकांश बालबालिका, महिला र बृद्धवृद्धा छन्।

झाडापखालाको प्रकोपबाट महाराजगञ्ज नगरपालिका वडा नं. ७ सत्भरा गाउँका चैतराम रैदासका ८ वर्षका छोरा तारेस रैदास, सञ्जु यादवकी ६ वर्षीय छोरी रिन्का यादव र गघौंडी गाउँका जमुना चमारकी श्रीमती वर्ष ३५ की शान्तिदेवी चमारको झाडापखालाका कारण मृत्यु भएको कुशहवा स्वास्थ्य चौकी इन्चार्ज वसन्तकुमार मण्डलंले जनाए। ‘अन्य थप बिरामीलाई शिवराज अस्पतालमा भर्ना गरेर उपचार व्यवस्था मिलाइएको छ,’ उनले भने। 

मृतक रिन्का यादवको परिवारबाट ६ दिनअघि सुरु भएको संक्रमण अन्यमा समेत देखिन थालेपछि ५ दिनपछि मात्र स्वास्थ्यकर्मीको टोलीले निगरानी र उपचार बढाएको थियो। घटनामा बालिकाको मृत्यु भएपछि कुशहवा हेल्थपोस्ट, महाराजगञ्ज अस्पताल र शिवराज अस्पताल बहादुरगञ्जको स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको थियो।

वर्षाका कारण आएको बाढीले पानीको स्रोत दूषित बनाउँदा महामारी फैलिएको वडा अध्यक्ष अब्दुल समत मुसलमानले बताए। ‘गाउँमा सोही दूषित पानीको माछा खाएको, दूषित पानी पिएको र अन्य सरसफाइको कमी भएका कारण झाडापखालाको प्रकोप देखिएको हो।’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.